पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न पाँच वटा पुस्तक प्राप्त भएका छन् ।
………………………….
१. अ–विधवा – गोविन्द गिरी प्रेरणा
लेखक गोविन्द गिरी प्रेरणाको कथा सङ्ग्रह हो ‘अ–विधवा’ । गोविन्द गिरी प्रेरणाको अ–विधवा भित्र समाजको कठोर मान्यता माथी प्रश्न छ, महिलाको आत्मसम्मान र स्वतन्त्रताको खोज छ ।
”प्रस्तुत कथासङ्ग्रहको सुरुको शीर्षकथा ‘अ-विधवा’कथामा ‘म’ अर्थात् मृदुलाको जीवनका तीनओटा घटनाक्रमसँग सम्बद्ध कथानक छ ।” पुस्तकमा प्रा.डा लक्ष्मणप्रसाद गौतम लेख्नुहुन्छ, ”मृदुलाको सुरुमा जनकसँग विवाह हुनु र जनकको मृत्यु हुनु, त्यसपछि रुद्र सरसँग प्रेम र विवाह हुनु र उनको पनि मृत्यु हुनु तथा पछि मनीषसँग प्रेम हुनु र विवाह गरेर सँगै बस्ने कुरा गर्दैगर्दा मनीषको पनि दुर्घटनामा मृत्यु हुनुजस्ता तीनओटा घटना सन्दर्भलाई संश्लेषित गर्ने काम मृदुलाको चरित्रले गरेकाले यो कथा लामोकथाको संरचनाका दृष्टिले सबल छ । दोस्रो कथा ‘जुनू भाउजू’ मा गोपालको अतीतसँग जोडिएको जुनू भाउजूसँग सन्दर्भित कथा र त्यसलाई वर्तमानसँग उभ्याइएको कथा गरी दुई घटनासन्दर्भ छन् । वर्तमान – अतीत वर्तमानको घटनाशृङ्खला, कथागत व्याप्ति, पात्रका चरित्रको गतिशीलता आदिका कारण यो कथा पनि लामोकथाको संरचनाविधानका दृष्टिले सबल देखिन्छ । गोपालको किशोरकालीन मनोविज्ञानको सशक्त चित्रणले यस कथालाई झन्डै लघुउपन्यासको समकक्षमा उभ्याएको देखिन्छ । ‘भिनाजुको काख’ मनोज, मीरा, समीर र सोफियाको चतुष्कोणात्मक सम्बन्धले व्याप्ति प्राप्त गरेको कथा हो । धेरै दृश्यान्तरहरू भएको यस कथामा नेपाल र अमेरिकाको परिवेशको व्याप्ति छ र अझ विशेषतः अमेरिकाकै व्याप्ति बढी देखिन्छ । पात्रका चरित्रको विविधता र व्याप्ति, ऊहापोहपूर्ण घटना र चरित्र आदिका कारण लामो कथामा हुने सम्पूर्ण अभिलक्षण यस कथामा प्राप्त हुन्छ । यस दृष्टिले प्रस्तुत कथा पनि लामोकथाको शृङ्खलामा प्रभावपूर्ण देखिन्छ । ‘पूर्व प्रेमिकासँग एक साँझ’ यस सङ्ग्रहको चौथो कथा हो । कथाको शीर्षकमा ‘एक साँझ’ पदावली भए पनि कथाले ओगटेको परिवेशगत व्याप्ति भने विस्तृत देखिन्छ । गोपालका जीवनको अतीतसन्दर्भ, छोरोसमेत ठूलै भएकी रूपासँग गोपालको आकर्षण, सम्बन्ध र एउटै पुरुषपात्र गोपालको रूपासँग दुईतीन पटकको पृथक्पृथक् सम्बन्ध आदिका कारण कथानक क्रमिक र व्यतिक्रमिक भएर यस कथाले लामोकथाको स्वरूप प्राप्त गरेको देखिन्छ ।”
पुस्तकलाई इम्प्रिन्ट पब्लिशर्स प्रा.लि.ले बजारमा ल्याएको हो । सात ओटा कथा सङ्ग्रहित पुस्तकको मूल्य पाँच सय ९९ रुपियाँ रहेको छ ।
====================
२. कथास्था – इन्द्रबहादुर राई
लेखक इन्द्रबहादुर राईको कथा सङ्ग्रह हो ‘कथास्था’ । पुस्तकमा कथा खण्डमा इन्द्रबहादुरको नौँ ओटा कथा समाबेश छन भने आस्था खण्डमा तेस्रो आयाम बारे लेखिएको छ ।
”विपना कतिपयदेखि कथास्थासम्म कथाकार श्री इन्द्रबहादुर राईमा एउटा विशिष्ट विकासक्रम विलक्षित छ ।” पुस्तकमा राजनारायण प्रधान लेख्नुहुन्छ, ”अघि उनी टर्नर, कन्स्टबल जस्ता नेचरलिस्ट पेन्टर थिए, अहिले उनी आधुनिक चित्रकलाका समयोगी छन् । रातभरि हुरी चल्यो मलाई लागेको सर्वोत्तम कथा थियो, त्यो कथा अझ पढ्दा गस्ताफ कुर्बेको वा एन्ड्रय बाइथको पेन्टिङ हेरेको जस्तो छातीभरि बल र हर्ष उक्सेर आउँछ, विस्तृत विपना र बेहोराहरूले त्यसरी लट्ठ पारेको हुन्छ हामीलाई । उनको कहानी-कला विकास-पथमा एकोहोरो लम्केको देख्छौं, विकासपथ स्वतन्त्र र प्रशस्त छ । यहाँ सङ्कलित कथाहरू अर्कै कित्ताका हुन्, विषयवस्तु र शिल्पका दृष्टिले उच्चतर सोपानमा अवस्थित छन् । अघिल्ला कथाहरू आयामिक लेखनका प्राथमिक अवस्थाका हुन्, जहाँ जीवनको विशुद्धतामा विशेष आग्रह छ । जीवनको निक्खर अनुभूति असाधारणतामा होइन, साधारणतामा छ । एउटा दिनको सामान्यतामा जीवनानुभूतिको खोज छ । एउटा घटना साधारणतापूर्वक बितेको छ, एउटा सामान्य दिनको आन्तरिकता छ । सानोभन्दा सानो अनुभूतिस साधारणभन्दा साधारण स्थिति, जीवनको लघुतम क्षणलाई यस कथाले रचनात्मक सन्दर्भमा प्रस्तुत गरेर सार्थकता प्रदान गरेको छ । यो कथा जीवन जस्तै सहज र अकृत्रिम र यसैले सपाट र घटनाहीन छ । आयामिकहरू जीवनवादी हुन्छन्, जीवनको अनुभूतिवादी भनौ । आदर्शहरूले ओढेको जीवन निक्खर होइन । प्रकृति जीवन प्रकृत टिस्टा जस्तै हुन्छ, हामीलाई लाग्छ (कथाको पृष्ठभूमि पनि टिस्टा छ यहाँ खीर-मा) । यसलाई तुच्छ देखाउने आदर्शहरू हुन् जुन जीवनलाई (जीवनको अनुभूतिलाई) नकरण गर्ने हुन् । उनीहरूले पकाएको ‘चिनी हालेको गुलियो दूधभात मात्र’ भएको खीर हाम्रो जीवन जस्तो रहेछ । जीवनलाई यसरी पो बाँच्नुपर्ने, जीवनलाई उसरी पो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल, अपुग र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीर जस्तो भइरहन्छ जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको व्यङ्ग्य जस्तो मात्र थियो। सबै आदर्शहरू नष्ट भएपछि पनि मानिसको मानिसता सिङ्गो नै रहनेछ। आदर्शहरू एक एक गर्दै सबै ढल्दै जान्छन्, राष्ट्रियतास सङ्घरित्रता, साहित्यिकता सबै ढल्दै जान्छन् तरै पनि जीवन फाटेको टालो हुँदैन ।”
पुस्तकलाई इम्प्रिन्ट पब्लिशर्स प्रा.लि.ले बजारमा ल्याएको हो । एक सय आठ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ९९ रुपियाँ रहेको छ ।
====================
३. तीन महादेशका केही तरङ्ग – पशुपति घिमिरे
लेखक पशुपति घिमिरेको नियात्रा सङ्ग्रह हो ‘तीन महादेशका केही तरङ्ग’ । घिमिरेको तीन महादेशका केही तरङ्गले यात्रा माफर्त विश्वलाई बुझ्दै मानव जीवनका समानता र भिन्नतालाई गहिराइबाट उजागर गर्छ ।
”यात्रा एउटा बिन्दुबाट अर्को बिन्दुसम्मको भौतिक विस्थापन मात्र होइन, यो त एउटा मान्छेले आफ्नै अस्तित्वको आयतन नाप्ने प्रक्रिया हो ।” पुस्तकमा कृष्ण धरावासी लेख्नुहुन्छ, ”जब म पशुपति घिमिरेको पाण्डुलिपि ‘तीन महादेशका केही तरङ्गु पढ्न थाल्छु, मलाई महसुस हुन्छ-लेखकले यहाँ केवल देशहरू घुमेका छैनन्, बरु ती देशका माटोमा आफ्ना स्मृतिका बीजहरू छरेका छन् । भनिन्छ, संसार एउटा खुला किताब हो र जसले यात्रा गर्दैन, उसले त्यसको एउटा पाना मात्र पढ्छ । पशुपतिजीले यो किताबका धेरै अध्यायहरू पल्टाउनुभएको छ । एसियाको अध्यात्म, अमेरिकाको भौतिक सम्पन्नता र युरोपको कलात्मक विरासतलाई एउटै सूत्रमा उनेर उहाँले पाठकलाई यस्तो ऐना देखाउनुभएको छ, जहाँ हामी आफ्नोपन र विश्व-नागरिकताको दोसाँधमा उभिएका पाउँछौं । यस कृतिको सबैभन्दा सबल पक्ष भनेको यसको ‘अनौपचारिक भाषाशैली’ हो । लेखकले कतै पनि विद्वता छाँट्ने प्रयत्न गर्नुभएको छैन । उहाँको भाषामा पहाडको छहराको जस्तो कञ्चन प्रवाह छ । जब उहाँ पोर्टो रिकोको जङ्गलको कुरा गर्नुहुन्छ वा अमेरिकाको अत्याधुनिक नासा केन्द्रको वर्णन गर्नुहुन्छ, पाठकलाई लाग्छ, ऊ लेखकको काँधमा चढेर ती ठाउँहरू आफैं नियालिरहेको छ । लेखकले ‘म’ पात्रलाई केन्द्रमा राखेर संस्मरण लेखे पनि, त्यो ‘म’ व्यक्तिवादी छैन । त्यो ‘म’ भित्र त नेपाली मध्यमवर्गीय समाजको कौतूहल, सङ्कोच, गौरव र मानवीय संवेदना लुकेको छ । एउटा सामान्य नेपाली जब विदेशी भूमिमा पुग्छ र त्यहाँको विकास देख्छ, उसको मनमा उब्जने पहिलो प्रश्न हुन्छ- ‘हाम्रो देशमा चाहिँ यस्तो कहिले होला ?’ पशुपतिजीका शब्दहरूमा यो पीडा र प्रश्न निकै मिहिन ढङ्गले व्यक्त भएको छ ।”
पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । दुई सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय २५ रुपियाँ रहेको छ ।
======================
४ भोल्गादेखि गङ्गा – राहुल सांकृत्यायन
अनुवादक डा. कुमारप्रसाद कोइरालाले अनुवाद गर्नुभएको पुस्तक हो ‘भोल्गादेखि गङ्गा’ । भोल्गादेखि गङ्गा पुस्तकिभत्र मानव सभ्याता भोल्गा नदीबाट सुरु भएर हजारौँ वर्षको संघर्ष, श्रम र परिवर्तन हुँदै गंगा सभ्यतासम्म कसरी विकास भयो भन्ने कथा छ ।
”मैले ‘भोल्गादेखि गङ्गा’का केही कथा हिन्दीका पत्रिकामा पढिसकेको थिएँ।” पुस्तकमा भदन्त आनन्द कौसल्यायन लेख्नुहुन्छ, ”जति वेला पुस्तक प्रकाशित भयो सम्भवतः त्यसको पहिलो प्रति मलाई नै प्राप्त भएको हो । एकपल्ट फेरि मैलै सम्पूर्ण पुस्तक र कतिपय कथाहरू एकभन्दा धेरै पल्ट पढेको छु । सबै प्रकार र अवस्थाका मानिसलाई पढेर सुनाएको पनि छु। कतिपय कथा कथा कम र इतिहास अधिक हुन् भनेर मैलै आलोचना पनि गरेको छु । साँच्चै केही कथा मलाई ज्ञानको भारीले थिचिएका जस्ता लागे । कथा त हल्काफुल्का हुनुपर्छ । मैले यस्तो सम्मति राहुलजीलाई लेखेर पठाएँ। उनको उत्तर थियो- यदि यी कथालाई रोचक ढङ्गले लेखिएको इतिहास मात्र मानियो भने पनि म सन्तुष्ट हुनेछु । मैले भोल्गादेखि गङ्गाको प्रशंसा गरेको छु र सुनेको पनि छु । तर विश्वसाहित्यसँग परिचित एक जना महाराष्ट्रका विद्वान्को ‘कुनै पनि भारतीय भाषामा यस हिन्दी पुस्तक समान कुनै ग्रन्थ छैनन्’ भन्ने राय सुनेर मेरो हिन्दी भक्त मन साँच्चै नाच्यो । तर दुःखको कुरा ! हिजो कुनै सज्जनले २० सेप्टेम्बरको ‘विश्वबन्धु’ को एउटा चिर्कटो पठाए । त्यसमा लेखिएको थियो । ‘नग्नवादी वेदनिन्दक राहुल’ । लेखकको नाम हो- ‘श्री स्वामीजी ।’ तर उनलाई गुप्त रहनुपर्ने के आवश्यकता थियो ?, अं, कसैले आफ्नो नाम स्वामीजी राखेको भए कुरै अर्को हुन्थ्यो । पुस्तक प्रिय वा अप्रिय लाग्नु आआफ्नो रुचिको कुरा मात्र नभएर योग्यताको कुरा पनि हो । कुनै पनि ग्रन्थ सबैले समान रूपमा कहिल्यै मन पराउँदैनन् । भोल्गादेखि गङ्गा यसको अपवाद हुन सक्दैन । श्री स्वामी जीले यस्तो घृणित पुस्तकमा प्रतिबन्ध लगाउने पूरा प्रयास गर्नुपर्छ भनेर जनताका अगाडि इच्छा व्यक्त गरेका छन्। त्यसबारे म केवल के जान्न चाहन्छु भने- त्यस इच्छालाई कार्य रूपमा परिणत गर्ने प्रयत्न गर्दा हामी सम्मानित हुन्छौं कि अपमानित ? मिथ्यामतलाई आफ्नो बुद्धिबलले परास्त गर्ने प्रयास गर्नु आर्य जातिको विशेषता हो भनेर हामीले अहिलेसम्म सुन्दै आएका छौं। ‘वादे वादे जायते तत्त्वबोध’ के आर्य पूर्वजहरूको घोषणा होइन ?”
पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । तीन सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय पाँच रुपियाँ रहेको छ ।
========================
५. कलिला पाइलाहरू – डा. मुकुन्द पथिक
लेखक डा. मुकुन्द पथिकको बाल गीतसङ्ग्रह हो ‘कलिला पाइलाहरू’ । कलिला पाइलाहरू भित्र कलिला नानीहरूलाई समेटेर पथिकले सुन्दर कविता लेख्नुभएको छ ।
एकतामा बल हुन्छ जानौँ साथीभाइ
समयको महत्त्व भनौँ सबैलाई
तीन र छ छत्तीस बन्छ हेर्छ अर्कोतिर
छ र तीन त्रिसट्ठी मिल्छ एकैतिर ।
साथीलाई दुःख पर्दा दिन्छौँ हामी साथ
कसैलाई सुख मिल्दा हाँस्छौं दिन रात
कमिलाको ताँती हेरौं मिल्छन् कतिकति
सबै मिली श्रम गर्छन् काम भए जति ।
एकतामा होस्टे हैंसे देश बनाउनुछ
भविष्यको नयाँ बाटो चाँडै सकाउनुछ
एकतामै सबैतिर मिल्दो रै’छ सुख
पछुताइ बस्नुहुन्न पाइन्छ नि दुःख ।
पुस्तकलाई शब्दमिडिया प्रा.लि साहित्यपोस्टले प्रकाशन गरेको छ । ३३ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य दुई सय २५ रुपियाँ रहेको छ ।

