साहित्यपोस्ट डट कम

हामीलाई प्राप्त साताका पुस्तक

हामीलाई प्राप्त साताका पुस्तक

पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न पाँच वटा पुस्तक प्राप्त भएका छन् ।

==========================

१.नेपालमा जेन जी राजनीति उदय, चुनौती र सतर्कता – कटक मल्ल

लेखक कटक मल्लले भदौ २३ मा नेपालमा भएको जेन–जी आन्दोलनमाथी लेख्नुभएको पुस्तक हो ‘नेपालमा जेन जी राजनीति उदय, चुनौती र सतर्कता’ । पुस्तकमा लेखकले जेन जी आन्दोलनको परिवर्तन, आन्दोलनको कारण जस्ता विषयको जवाफ सहित विश्लेषण गर्नुभएको छ ।

पुस्तककाे प्रस्तावनाकाे केहि अंश ”नेपाली समाजमा पश्चिमी पुस्ताका लेभल ‘मिलेनियल’, ‘जेन-जी’र ‘जेनेरेसन एक्सु शब्द प्रयोग गरिँदैनन् । सामान्यतया युवा, किशोर, विद्यार्थी वा नयाँ पुस्ता जस्ता सरल नेपाली शब्द प्रयोग गरेर उमेर समूहहरूलाई पहिचान गरिन्छ । पछिल्लो समयमा ‘जेन-जीु’शब्द नेपाली राजनीतिक शब्दावलीमा प्रवेश गरेको छ । नेपालमा भ्रष्टाचार, शक्तिको दुरुपयोग र सरकारमा जवाफदेहिताको अभावप्रति बढ्‌दो निराशाका कारण नेपाली जेन-जी विरोध प्रदर्शन गर्न उत्प्रेरित भएका थिए । यसको तत्काल कारण सरकारले अचानक सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु थियो, विशेषगरी टिकटकमा, जसलाई जेन-जीले अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारमाथिको आक्रमणका रूपमा हेरे । उनीहरू कहालीलाग्दो भ्रष्टाचार, नातावाद, बढ्‌दो बेरोजगारी, कमजोर शासन, प्रहरी क्रूरता र सार्वजनिक परामर्शबिना लिइएका निर्णय जस्ता मुद्दाबाट पनि आक्रोशित थिए । जेन-जीले राजनीतिक नेताहरूबाट बेवास्ता गरेको महसुस गरे र सरकारले उनीहरूका वास्तविक समस्यालाई सम्बोधन गर्न असफल भएको विश्वास गरे । फलस्वरूप, यी निराशा पारदर्शिता, भ्रष्टाचारको अन्त्य, न्याय, सुशासन र लोकतान्त्रिक स्वतन्त्रताको सम्मानको माग गर्दै राष्ट्रव्यापी युवा आन्दोलनमा परिणत भए । ‘जेन-जी युग’ विश्वव्यापी रूपमा परिभाषित शब्द होइन । तर प्रविधि र संस्कृतिका क्षेत्रमा यो शब्द प्रयोग हुन थालेको छ । यसले सबै पुस्ता र व्यक्तिलाई समेट्छ । विशेषगरी साइबर क्रान्ति र एआई प्रविधिको आविष्कारपछि मानिसले कसरी सोच्छन्, सिर्जना गर्छन्, सञ्चार गर्छन् र समस्या समाधान गर्छन् भनेर आकार दिन्छ । मानिसहरूले शिक्षा, मनोरञ्जन, इन्टरफेस र सेवाहरू प्रविधिसँग कसरी अन्तर्क्रिया गर्छन्, समाजलाई पुनर्विचार गर्न प्रेरित गर्छ । जेन-जी युगले अन्ततः मानव व्यवहार र संस्कृतिमा परिवर्तनको प्रतिनिधित्व गर्छ, जहाँ एआई एक आवश्यक सीप बन्छ र बुद्धिमान प्रणालीहरूसँग सहकार्य गर्ने क्षमता आधुनिक जीवनको एक परिभाषित विशेषता बन्छ । यसले डिजिटल युगबाट एआई-पुस्तामा परिवर्तनको सङ्केत गर्छ । अर्थतन्त्र, शिक्षा र पहिचानलाई पुनः आकार दिन्छ ।”

पुस्तकलाई इम्प्रिन्ट पब्लिशर्स प्रा.लि.ले बजारमा ल्याएको हो । दुई सय २१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय ९९ रुपियाँ रहेको छ ।

===============================

२. नेपाली कर्खाको अध्ययन – डा. मुकुन्दराज पथिक वाग्ले

लेखक डा. मुकुन्दराज पथिक वाग्लेको पुस्तक हो नेपाली ‘कर्खाको अध्ययन’ । वाग्लेले पुस्तकमा गन्धर्वहरुले घटनाहरुलाई कर्खा भाकाबाट कसरी सबै सामु पस्किन्छन ? यसको सुरुवात कसरी भयो आदी बारे अध्ययन गरी यो पुस्तक तयार पार्नुभएको छ ।

”नेपाली कर्खाको अध्ययनु मैले त्रिभुवन विश्वविद्यालयको प्रयोजनका लागि तयार गरेको हुँ।” पुस्तकमा लेखक डा. मुकुन्दराज पथिक लेख्नुहुन्छ, ”यस एक वर्षको अवधिमा मैले विभिन्न ठाउँहरूमा स्थलगत अध्ययनभ्रमण गरी भेटिएसम्मका ऐतिहासिक नेपाली कर्खाहरूलाई सङ्कलन गर्ने कार्य गरेको छु। अध्ययनका क्रममा मेरा श्रद्धेय गुरु लोकसाहित्यविद् तथा भाषाशास्त्री प्रा. डा. चूडामणि बन्धुको मार्गनिर्देशनले मलाई हौसला प्रदान गरेको छ। उहाँको उच्च प्राज्ञिक, व्यावहारिक र प्राविधिक सुझावले यस अध्ययन कार्यलाई पूर्णता दिन सकिएको हो । उहाँले मप्रति देखाउनुभएको सहृदयता र आत्मीय भावले मलाई ठूलो सहयोग पुऱ्याएको छ। म उहाँप्रति अनुगृहीत छु । मेरा अर्का गुरु प्रा. डा. माधवप्रसाद पोख्रेलले मलाई आवश्यक सुझाव र सामग्रीहरू जुटाइदिनुभएकाले म उहाँप्रति पनि कृतज्ञ छु । नेपाली कर्खाको अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले यस लेखकलाई एक वर्षको अध्ययन बिदा उपलब्ध गराएकोमा हृदयदेखि नै धन्यवाद अर्पण गर्दछु। यस कार्यका लागि उचित वातावरण मिलाइदिएकोमा म त्रि.वि. विश्वभाषा क्याम्पसलाई विशेष धन्यवाद दिन्छु । अध्ययन अनुसन्धान शुरु गर्दादेखि अहिलेसम्म नेपालका धेरै जिल्लाका सम्बन्धित व्यक्तिहरू र कर्खाका गायकहरूले आ-आफ्नो ठाउँबाट मलाई सहयोग नगरेको भए मेरो अध्ययन यस रूपमा सफल हुन सक्ने थिएन । म उहाँहरू सबैलाई एकमुष्ट रूपमा हृदयदेखि धन्यवाद अर्पण गर्दछु । अनुसन्धानका क्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुर, मदन पुरस्कार पुस्तकालय, पाटन ढोकाबाट पनि सहयोग प्राप्त भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, साझा प्रकाशन, पुलचोक, विश्वभाषा क्याम्पसको पुस्तकालय र केशर पुस्तकालय, केशर महलबाट प्राप्त सहयोगका लागि कृतज्ञता प्रकट गर्दछु। यसको साथै म्युजिक नेपाल, अनामनगर, काठमाडौँबाट पनि सहयोग प्राप्त भएको छ। स्वयम्भू काशी सदन निवासी डा. हंसपुरे सुवेदीले पनि आवश्यक सामग्री जुटाइदिएर मलाई सहयोग प्रदान गर्नुभएको छ । विभिन्न ठाउँहरूमा पुग्दा मैले धेरै व्यक्तिहरूबाट आवश्यक सहयोग पाएको छु। उहाँहरूको सहयोग अविस्मरणीय रहेकाले म साधुवाद व्यक्त गर्दछु ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि. साहित्यपोस्टले प्रकाशन गरेको छ । चार सय ७१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय ५० रुपियाँ रहेको छ ।

=====================================

३. बेचैन अभिलाषा – अम्बिका अर्याल

कवि अम्बिका अर्यालको कविता सङ्ग्रह हो ‘बेचैन अभिलाषा’ । कविले पुस्तकमा प्रकृति, समाज, संस्कृति, राजनीति, पे्रमप्रणय जस्ता क्षेत्रबाट प्रशस्त विम्ब र प्रतिक प्रयोग गरेर कविता लेख्नुभएको छ ।

”कविले आफ्ना कवितामा समाजको प्रतिविम्ब खिच्नुभएको छ ।” पुस्तकमा डिल्लीराम शर्मा सङ्ग्रौला लेख्नुहुन्छ, ”देखेको र भोगेको कुरालाई प्रत्यक्षीकरण गर्नुभएको छ। समाजको अस्त-व्यस्त परिस्थिति, पुरुषवादी सोच, अन्याय, अत्याचार, शोषण, बलात्कार, भ्रष्टाचार, असमानता, अनैतिक क्रियाकलाप, विद्रोह, अन्धविश्वास, आडम्बर, देखावटीपन आदिविरुद्ध आवाज उठाउनुभएको छ। त्यसरी नै प्रकृतिप्रति तादाम्यता, प्रेम (प्रणय), प्रिय-प्रेयसीप्रति विश्वास र समर्पण, कोरोना महामारीले दिएको दुःखकष्ट, आमाबुबाप्रति माया-ममता, बालमनोविज्ञान र विभिन्न चिन्तनयुक्त कविताहरूको सँगालो हो बेचैन अभिलाषा। यसभित्र रहेका कविताहरू तपाईं हामी सबैका भोगाइ र आवाज हुन् तर बुलन्द गर्नुभयो डा। अर्यालले। उहाँले पाठकको व्यस्ततालाई नजरन्दाज गर्दै समाजको हितार्थ कलम चलाउनुभएको छ । त्यही भएर कविताका आकारमा विविधता छ। लामा कविता भन्नाले त्यस्तो तीन चार पृष्ठका होइनन् । ती त्यस्तै तिस-चालिस प‌क्तिका छन् । समाजका विकृति, बेथिति र विसङ्गतिका डङ्‌गुरप्रतिको आक्रोश व्यक्त गर्नुपर्दा कविता लामा बनेका छन् तर ती स्वाभाविक देखिन्छन् । आयामले लामा देखिए पनि उहाँका कविता सुरु गरेपछि नसकी छाड्‌नै मन लाग्दैन। जति पढ्यो त्यति पढौँपढौँ लागिरहन्छ। उहाँले विषयक्रममा कवितालाई वर्गीकरण गरेर राखिदिनुभएको छ। अस्मिताको अग्नि, संस्कृतिको सङ्घार, प्राञ्जल प्रणय ।।।। यसले गर्दा पाठकलाई पढ्न र बुभन सजिलो भएको छ। यी उपशीर्षकहरूमा आल‌ङ्कारिकता छ। विशेषगरी पहिलो वर्णको समान आवृत्ति (अस्मिताको अग्निमा अ वर्णको आवृत्ति, संस्कृतिको स‌ङ्घारमा स वर्णको आवृत्ति आदि) ले अनुप्रासयुक्त बनाएको छ। कविताभित्र पनि यस्ता विम्ब, प्रतीक र अल‌ङ्कारको भरपुर प्रयोग गरिएको छ।

त्यसैगरी पुस्तकमा मित्रमणि लेख्नुहुन्छ, अम्बिका अर्यालद्वारा लिखित कवितास‌ङ्ग्रह बेचैन अभिलाषा नेपाली साहित्यमा नारीचेतना, सामाजिक विडम्बना, आत्म-सङ्घर्ष र समयको प्रतिबिम्बको सशक्त दस्तावेज हो। यस स‌ङ्ग्रहका कवितामा भावनात्मक गहिराइ र विषयगत विविधता पाइन्छ । अर्यालले कवितामार्फत नारीलाई केवल सहनशील पात्र नभएर सङ्घर्षशील, विद्रोही र आत्मनिर्भर अस्तित्वका रूपमा उजागर गरेकी छन् । यस स‌ङ्ग्रहमा जम्मा १२ वटा खण्ड छन् । नारी अस्मिता, संस्कृति, प्रेम, राजनीति, प्रकृति, महामारी, चिन्तन र आत्म-संवादजस्ता विविध पक्षलाई यसमा समेटिएको छ।”

पुस्तकलाई सङ्गम बुक्स पब्लिकेसन प्रा.लि.ले बजारमा ल्याएको छ । ११ खण्डमा रहेको कविता सङ्ग्रहको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

=================================

४. धमिलिएको परिवेश – किरण ढुंगाना

लेखक किरण ढुंगानाको उपन्यास हो ‘धमिलिएको परिवेश’ । ढुंगानाले चेलीबेटी बेचबिखन जस्तो संवेदनशील पक्षलाई सूक्ष्म ढंगबाट पहिचान गरी निराकरण गर्न उपन्यासको उपसंहारमा राज्य, कानुन, लक्षित वर्ग सबैमा सचेत हुन आग्रह गर्नुभएको छ ।

”ढुङ्गानाको साहित्यिक यात्रा आफ्नो विद्यार्थीकालदेखि नै शुरू भएको थियो ।” पुस्तकमा डा. गोबिन्दसिंह रावत लेख्नुहुन्छ, ”क्यानाडा प्रवेशपछि पनि उहाँको लेख्ने बानीले निरन्तरता पाउँदै गएको थियो । कथा, कविता, निबन्ध आदि विधामा निरन्तर कलम चलाउनुभएका ढुङ्गानाको आजको मितिसम्ममा तीनवटा पुस्तकहरू प्रकाशित भएको देखिन्छ । उहाँको पहिलो कृति आत्मसंस्मरणका रूपमा ‘मोन्ट्रियल क्याफे’ सन् २०१५ मा प्रकाशित भएको थियो । यसलाई अनेसासले सन् २०१७ मा उत्कृष्ठ पुस्तकका रुपमा पुरस्कृत गरेको थियो । त्यसपछि उहाँको दोस्रो कृति ‘कमली’ उपन्यास सन् २०१६ प्रकाशित भएको पाइन्छ भने सन् २०१९ मा उहाँको तेस्रो कृति ‘झरेको पात’ उपन्यास प्रकाशित भएको देखिन्छ । क्यानडामा दियालो बोकेर नेपाली साहित्यको उज्यालो पार्न सधैं अग्रपंक्तिमा रहनुभएका किरण ढुंगानाको चौथो साहित्य सन्तान र तेस्रो उपन्यास ‘धमिलिएको परिवेश’ हातमा परेको छ । क्यानडाबाट प्रकाशित हुने पहिलो कृति पनि उपन्यास रहेको देखिन्छ । शोभा भट्टराईको ( ‘अन्त्यहीन अन्त्य’ उपन्यास, २००१ मा प्रकाशित भएको थियो । २००१ देखि शुरु भएको क्यानडामा नेपाली कृतिको प्रकाशनको यात्रामा किरणको उपन्यासले २५ वर्ष पूरा गरेको छ । क्यानडाबाट प्रकाशित हुने यो सातौं उपन्यास हो । सामाजिक परिवेशमा लेखिएको धमिलिएको परिवेशु उपन्यासले व्यक्ति र समाजबीचको द्वन्द्व, स्वार्थका कारण बिग्रँदै गएको सामाजिक सम्बन्ध, र स्पष्ट दिशा नभएको जीवन-परिवेश माथि प्रकाश परेको छ । शीर्षकले नै हाम्रो समाजको अवस्था स्पष्ट नभएको र सामाजिक मूल्य र आदर्शहरू धमिलो बनेको अवस्था उजगार गरेको छ ।”

त्यसैगरी पुस्तकमा भुवन ढुंगाना कोइराला लेख्नुहुन्छ, ”क्यानाडाबाट प्रकाशित पहिलो नेपाली पत्रिका दियालो मार्फत विदेशमा समेत नेपाली भाषा र साहित्यको ज्योति फैलाउने लेखक किरण ढुंगाना आफ्ना गहकिला कृतिहरू ‘मन्ट्रियल क्याफे’, ‘कमली’ र ‘झरेको पात’बाट नेपाली पाठकबीच परिचित भइसकेका छन् । उनको चौथो कृति ‘धमिलिएको परिवेश’ (उपन्यास) मा लेखकले गहिरिएर पश्चिमी नेपाली गाउँघरको कथा व्यथालाई चित्रण गरेका छन् । नेपाली गाउँ घर, समाजमा अझै पनि व्याप्त रहेको चेलीबेटी बेचबिखन जस्तो संवेदनशील पक्षलाई लेखकले सूक्ष्म ढंगबाट पहिचान गरी त्यसको निराकरण गर्न उपन्यासको अन्तिम शीर्षक उपसंहारले दिएको सुझावप्रति राज्य, कानून, लक्षित वर्ग सबै चनाखो र सचेत हुन आग्रह समेत गरेका छन् ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि साहित्यपोस्टले प्रकाशन गरेको छ । दुई सय तीन पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय रुपियाँ रहेको छ ।

========================

५. अर्थात् ऊ – भीम राना ‘जिज्ञासु’

लेखक भीम राना ‘जिज्ञासु’को लघुकथा सङ्ग्रह हो ‘अर्थात् ऊ’ । लेखकले समाजमा घटेका घटनाहरु र समाजमा व्याप्त असन्तुष्टि, अन्याय, अशान्ति, विभेद जस्ता विषयलाई व्यङ्ग्यात्मक शैलीमा लघुकथामा समेटनुभएको छ ।

”नेपाली साहित्यको क्षेत्रमा ४० को दशकदेखि नै साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएका कवि तथा लेखक भीम राना ‘जिज्ञासु’ अहिले साहित्य(लेखनमा भन्दा पनि बढी शिक्षणक्षेत्रमा लामो समयदेखि सक्रिय रही आउनुभएको छ । पुस्तकमा दिव्य गिरी लेख्नुहुन्छ, उहाँ हाल विभिन्न शैक्षिक संस्थाहरूमा प्रशिक्षकका साथै परामर्शदाताको रूपमा पनि कार्य गरी आइरहनुभएको छ । उहाँ विशेष गरी ‘सामान्यज्ञान’ विषयमा अब्बल विशेषज्ञ हुनुहुन्छ । वर्तमान नेपाली साहित्य-लेखनमा विशेष गरी आख्यानतर्फ अहिले लघुकथा-लेखनले तीव्रता लिइरहेको छ । लघुकथा-लेखन, स‌ङ्कलन, विमर्श, वाचन र प्रकाशनमा पनि लघुकथाको क्षेत्रले अग्रसरता लिइरहेको छ । वर्तमान अवस्थामा नेपाली साहित्यका अन्य विधाभन्दा लघुकथा सर्वप्रिय बन्दै गएको यथार्थतालाई नकार्न सकिन्न । यसै सन्दर्भमा ४० को दशकका कवि तथा लेखक भीम राना ु-‘जिज्ञासु’ले लामो समयपश्चात् लघुकथा सिर्जना गरेर ‘अर्थात् ऊ’ शीर्षकमा लघुकथासङ्ग्रहलाई पुस्तकाकारमा ल्याउनु लघुकथाका पारखीहरूका निम्ति अत्यन्त खुशीको कुरा हो । कथाख्यानका तीन मुख्य भेदमध्ये उपन्यास, कथा र लघुकथा नै प्रमुख हुन् । ती तीनमध्ये वर्तमान नेपाली साहित्यमा लघुकथा-लेखन र प्रकाशनलाई हेर्दा यसले विगतको तुलनामा निकै फट्को मारिसकेको छ ।”

त्यसैगरी पुस्तकमा भीम राना ‘जिज्ञासु’ लेख्नुहुन्छ, कलात्मक कथ्यद्वारा लघु आकारमा कथा बन्न सक्नु लघुकथाको खास चरित्र हो । सीमित पात्र, अल्प परिवेश, छोटो चारित्रिक वर्णन एवम् लघु कलेवरमा शब्द, स्पर्श, रूप, रस र गन्धको तीष्ण सम्मिश्रणले पाठकको हृदय एवम् मस्तिष्कमा चिरकालसम्म गहिरो छाप पार्न सक्नु नै यसको खास विशेषता हो । अझ भन्नुपर्दा आकारगत लघुता मात्र लघुकथाको स्पष्ट पहिचान होइन । लघु आकारगत शब्दशिल्पले क्षणभरमै विचार वा भावको विस्फोटन हुन सक्ने भित्री अणुसामर्थ्य नै लघुकथाको कौशल हो । यही मान्यतालाई आत्मसात् गर्न खोज्ने ५० वटा लघुकथाहरूको सङ्ग्रहको नाम नै ‘अर्थात् ऊ’ हो । अधिकांशत लघुकथाहरूका पात्र ‘ऊ’ भएकोले नामकरण पनि ‘अर्थात् ऊ’ राखिएको हो । सङ्ग्रहमा सङ्‌गृहीत रचनाहरूको लघुकथाको मूल मर्म र भावभङ्गी के-कति आत्मसात् गर्न सक्यो वा सकेन भन्ने सन्दर्भ यस विधाका सम्बन्धित विज्ञ, समालोचक र पाठक दीर्घामा छोड्न चाहन्छु ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशन ले बजारमा ल्याएको हो । ५० ओटा लघुकथा संग्रहित पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.