पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न पाँच वटा पुस्तक प्राप्त भएका छन् ।
……………………………….
१. पुर्पुरो – पार्वती तिवारी आचार्य
लेखक पार्वती तिवारी आचार्यको आख्यान हो ‘पुर्पुरो’ । लेखकले आफ्नो जीवनको आरोह अवरोहलाई आख्यानको माध्यमबाट प्रस्तुत गर्नुभएको छ ।
”मानवतावादको वकालत गरेर नथाक्ने हाम्रो समाज यति निरीह छ कि उपदेश केबल अरुका लागि मात्रै उपयोग गर्न खोज्छ ।” पुस्तकमा दीनदयाल रेग्मी लेख्नुहुन्छ, ”नारीको प्रशंसामा खर्चिएका लाखौँलाख कृति र रचनाहरूमा ओइरिएका विचार सबै भुत्ते खुकुरी जस्ता छन् । धर्म, संस्कार, रीतिरिवाज र कुलपरम्परामा धनी छौं भनेर फुर्किनेहरूले ‘वास्तविकतामा कहिल्यै मानवतावादी हुन सकेनन्, असल विचार बोक्न सकेनन् र सक्दै सकेनन् धर्मको मर्म बुझ्न । गाउँका सामन्तले त दुःख दिए शहरिया बुजुकहरू समेत आफ्ना विचारलाई स्वार्थमा मात्रै उपयोग गर्दछन् । प्रेम मुखले होइन हृदयले गरिन्छ तर बजारिया प्रेम पैसामा बिक्छ । घरपरिवार, इष्टमित्र, सँगीसाथी त हुनेखानेका लागि मात्र हो गरिब र निमुखाका लागि त दुःखले मात्रै साथ दिन्छ। अनि आफ्ना भन्नेहरू पनि कसरी उसलाई निचोर्न सकिन्छ भन्नेमै रातदिन लागिरहन्छन् । यहाँ अरुको हितका कुरा गर्न खोजियो भने कमजोर ठहरिनु पर्छ । भोकाएकालाई एक गाँस खुवाएर होइन उसलाई रुवाएर आनन्दित हुन्छ यो पापी दुनियाँ। संसार उसैको हो जसले कहिल्यै हार्न जान्दैन, हरेश खाँदैन र सधैं आफ्नो लक्षमा दत्तचित्त भएर लाग्छ उसैलाई दैवको साथ हुन्छ । तर, परीक्षा त उसैको हुन्छ जसले परीक्षा दिन खोज्छ, परीक्षा छोडेर भाग्नेले न जित्छ, न हार्छ ऊ त यो संसारमा बेकारमा आएको हो । यी र यस्तै विचारले भरिएको खंदिलो कृति हो पार्वतीको ‘पुर्पुरो’ ।
त्यसैगरी पुस्तकमा डा.हेम भण्डारी लेख्नुहुन्छ, ”पार्वती तिवारी आचार्यलाई ‘पुर्पुरो’ शीर्षकको आख्यानमा यस पटक पढ्न पाइयो । दुःखमा हुर्किई सङ्घर्षका मैदानमा विवशताका अनेक परिस्थिति झेलेर जीवनका अनेक पाटा छाम्न सफल देखिएकी छिन् लेखिका पार्वती । निम्नवर्गीय पारिवारिक पृष्ठभूमि, आमाको सङ्घर्ष, निम्नवर्गीय बालबालिकाको अवस्था, बुढ्यौली जीवन, सहरमा सुखको खोजी, दाताको आश्रय, मनकारीहरूको छत्रछाया, लक्ष्य छुने हुटहुटी, निरन्तर परिश्रम, धैर्यधारण, असल साथ र सफलता प्राप्ति उनको जीवनका पृष्ठहरू हुन् । यी विषय सबैका निम्ति अभिप्रेरणाका स्रोत हुन् । लक्ष्य प्राप्तिको बाटो कसरी निर्माण गर्न सकिन्छ भन्ने प्रश्नको उत्तरका रूपमा प्रस्तुत भएको छ पार्वतीको ‘पुर्पुरो’ ।
पुस्तकलाई लेखक स्वंयमले प्रकाशन गर्नुभएको छ । एक सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।
==========================
२. बीपी आत्मवृतान्तका कथा/ अकथा – भुवन ढुङ्गाना
लेखक भुवन ढुङ्गानाको कथा सङ्ग्रह हो ‘बीपी आत्मवृतान्तका कथा/ अकथा’ साहित्यकार भुवन ढुङ्गानाद्वारा लिखित यो पुस्तक बीपी कोइरालाको जीवन र विचारलाई साहित्यिक कथामा रूपान्तरण गर्ने कृति हो। यस पुस्तकमा २१ शीर्षकअन्तर्गत कथाहरू समेटिएका छन्, जसका पात्र र घटनाहरू बीपीका आत्मवृत्तान्तीय अनुभवबाट प्रेरित छन्। आत्मकथालाई कथात्मक संरचनामा पुनःनिर्माण गर्नु नेपाली साहित्यमा कम देखिएको प्रयोग हो, र यही कारण कृतिले अलग पहिचान निर्माण गर्छ। पुस्तकका कथाहरूमा बीपी कोइरालाको न्यायबोध, मानवीय संवेदना र मूल्यप्रतिको प्रतिबद्धता विभिन्न सन्दर्भ र घटनामार्फत उजागर हुन्छ। अवसर, शक्ति र सम्बन्धबीचको द्वन्द्वमा पनि मानवीय मूल्यलाई प्राथमिकतामा राख्ने दृष्टिकोण कथाहरूको मूल भावका रूपमा देखापर्छ। बीपीलाई केवल राजनीतिक व्यक्तित्वका रूपमा होइन, जीवन र समाजलाई हेर्ने नैतिक दृष्टिका रूपमा प्रस्तुत गर्नु पुस्तकको केन्द्रीय विशेषता हो। संरचनागत रूपमा पुस्तक सानो भए पनि विषयवस्तु बहुआयामिक छ। प्रत्येक कथाले बीपीको जीवनका फरक–फरक पक्षलाई संकेतात्मक ढङ्गले उजागर गर्दै पाठकलाई इतिहास र वर्तमानबीचको सम्बन्धबारे सोच्न बाध्य बनाउँछ। राजनीतिक उतारचढाव, व्यक्तिगत संघर्ष र वैचारिक दृढताले कथाहरूलाई जीवन्त बनाएका छन्। इतिहास, राजनीति र साहित्यको संगम बनेको यो कृति बीपी कोइरालाको जीवन र चिन्तनलाई साहित्यिक माध्यमबाट बुझ्न चाहने पाठकका लागि उपयोगी छ। आत्मवृत्तान्तीय आधारमा निर्मित कथाहरूले नेपाली राजनीतिक इतिहासलाई मानवीय र संवेदनशील दृष्टिबाट पुनःपाठ गर्ने अवसर प्रदान गर्छन्।
पुस्तकलाइ न्युरोड बुक स्टोरले बजारमा ल्याएको छ । एक सय ११ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय ४९ रुपियाँ रहेको छ ।
==========================
३. महान अभियान – ध्रुव मधिकर्मी
लेखक ध्रुव मधिकर्मीको व्यङ्ग्य सङ्ग्रह हो ‘महान अभियान’ । पुस्तकमा लेखकले सामाजिक, राजनीतिक विषयहरुलाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्नुभएको छ ।
”व्यंग्य गर्नु, कसैसित परिहास गर्नु, कसैलाई उडाउनु, आपसमा हँसीमजाक, ठट्टा गर्नु रमाइलो विषय हो ।” पुस्तकमा लेखक मधिकर्मी लेख्नुहुन्छ, ”थोरैले मात्र आफूमाथि गरिएको ठट्टा या परिहासलाई सहज रुपमा लेला नत्र हाँसोको पात्र बनाएको कसैलाई पनि रुच्ने विषय होइन । तर साहित्यमा किटेर या तोकेर व्यंग्य नगरिने हुनाले यसको विशेष महत्व हुन्छ । व्यंग्यात्मक रुपमा लेखिएको रचनालाई विशेष रुचिका साथ पढिन्छ । वर्षमा एकचोटि आउने गाईजात्रामा निक्लने हास्यव्यंग्य पत्रिका र प्रहसनका कार्यक्रमले मलाई वेलावेलामा लेख्न घच्घच्याउँथ्यो । पछि पुनर्जागरण साप्ताहिकमा नियमित साहित्यिक स्तम्भलेखनसँगै फाट्टफुट्ट रुपमा व्यंग्यात्मक रचनाहरु लेख्ने काम आइपर्यो । पुनर्जागरणमा एउटा स्तम्भ छ जिली न गाँठी । त्यसमा कहिलेकाहीं ससाना रचनाहरु अरुले पनि लेख्थ्यो म पनि लेख्थें नेताहरुको चरित्र र तिनका अराजनीतिक क्रियाकलापलाई लिएर । पाठकहरुले रमाइलो मानेर पढ्थे । एक पटक राजकुमारी श्रुतिसित भारतीय कलाकार सलमान खानको फोटो सम्बन्धी एउटा समाचारलाई लिएर पुनर्जागरणका सम्पादक शरदचन्द्र वस्तीलाई प्रशासनले केही दिन थुन्यो। जिली न गाँठीमा उनले लेख्दै आएको व्यंग्यात्मक टिप्पणी रोकिने भएपछि मैले पाना भर्नुपर्ने अवस्था आयो । त्यहाँदेखि मैले जिली न गाँठीमा एकप्रकारले नियमित रुपमा लेख्नुपर्यो । अघिपछि फाट्टफुट्ट रुपमा लेख्थें नै। कहिलेकाहीँ एकदुईटा लेखे पुग्थ्यो । कहिलेकाहीँ माथवर सिंहजीले लेख्थे । अलि बढी लेख्नेमा शरदच्चन्द्र वस्तीजी थिए । त्यसमा नेताहरुलाई उडाएर घोचपेच गरेर लेख्नमा मजा आउन थाल्यो । गिरिजाप्रसाद, मनमोहन, शेरबहादुर, प्रचण्ड, माधव नेपाल एकप्रकारले त्यसबेला जो जो सत्तामा र नेतृत्वमा आउँथे तिनीहरुका गतिविधि र अराजनीतिक सोचलाई लिएर व्यंग्य गर्ने उडाउने काम गरिन्थ्यो त्यो स्तम्भमा ।”
पुस्तकलाई सिर्जना अभियान समाजले प्रकाशन गरेको छ । २५ ओटा व्यंग्य रहेको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।
=======================
४. प्रकृत्या सह जीवनम् – प्रा.डा गोपी उप्रेती
कवि प्रा.डा गोपी उप्रेतीको कविता सङ्ग्रह हो ‘प्रकृत्या सह जीवनम्’ । कविले पर्यावरणलाई केन्द्रमा राखेर प्रकृति र जीवनप्रणाली कविता मार्फत प्रस्तुत गर्नुभएको छ ।
‘ज्ञान सर्वछ हाँसेर रोई विज्ञान मर्दछ’ ”बालकृष्ण समले ‘प्रह्लाद’ नाटकमा यस्तो दर्शन प्रस्तुत गरेका थिए।” पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”दशकौंसम्म यही सत्यलाई स्वीकार गर्दै हामीले नेपाली मनलाई विज्ञानविरोधी बन्ने तालिम दिइरह्यौँ। आज प्रा. गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् शीर्षक कवितासङ्ग्रह अध्ययन गरेपछि मलाई लाग्यो- त्यो उक्ति ता ”बडाले जो गर्यो काम हुन्छ त्याे सर्वसम्मत” भनेजस्ताे मात्रै रहेछ। आज धेरै वर्षपछि म बुझ्दैछु- ज्ञानको विपरीतार्थक अस्तित्व विज्ञान होइन, त्यसो ठान्नु अज्ञान मात्र रहेछ किनभने विज्ञान पनि ज्ञान नै होइन र ? गोपीजीका दर्शन र विज्ञानले निर्मित साहित्य ‘कविता’ पढेपछि मेरो पनि अज्ञान खुल्यो। उनले एक कवितामा भनेका छन्- न्युटनले प्रमाणित गरेको गुरुत्वाकर्षणको सिद्धान्तविपरीत प्राचीन ग्रीसेली मिथकीय पात्र सिसिफसले दण्डस्वरूप एउटा भयङ्कर पहाडमाथि ढुन्नो उचाल्दै ठेल्दै माथि पुऱ्याउने फेरि तलै झर्ने कर्मको साक्षी हुनु छ त्यो। विज्ञानको धर्म अर्थात् पृथ्वीको गुरुत्वाकर्षणकोविज्ञान नबुझेर सिसिफसले कत्रो भुक्तमान झेल्नुपर्यो । किनभने अज्ञानतावश ऊ विज्ञानको विरुद्ध निरर्थक परिश्रम गरिरहेको थियो ।”
त्यसैगरी पुस्तकमा डा. ऋषि बस्ताकोटी लेख्नुहुन्छ, कविताको बीउ प्रायः सबै मानिसको हृदयमा हुन्छ तर त्यसको बिजाङ्कुरण कहाँ, कहिले र कसरी हुन्छ त्योचाहिँ मानिसपिच्छे फरक हुने रहेछ, परिस्थितिअनुसार भिन्न रूपमा देखा पर्ने रहेछ। गोपी उप्रेती मूलतः कृषि र प्राकृतिक स्रोतका प्राध्यापक हुन् । दोगो विकासका प्राज्ञिक व्यक्तित्व हुन् । वातावरणीय न्याय र सामाजिक न्यायका अभियन्ता हुन् । वातावरणीय नीतिका विज्ञ हुन् । लोकले उनलाई यसै रूपमा चिन्छ। लेख्न त जीवनमा उनले पहिले पहिले पनि केही कविता लेखे होलान् यद्यपि परिदृश्यमा उनको चिनारी हृदयको कोमलताबाट सिर्जना गर्ने कवि र साहित्यकार भन्दा पनि मूलतः दिमाग लगाएर काम गर्ने प्राज्ञिक र विकासविद्कै रूपमा स्थापित भयो । यति बेला भने मेरो हातमा उनै प्राध्यापक डा. गोपी उप्रेतीको प्रकाशोन्मुख कविताकृति प्रकृत्या सह जीवनम्को पाण्डुलिपि आइपुगेको छ। यो कृति पाठकका हातमा पुगेपछि उनको कवि परिचय स्थापित हुने कुरामा म विस्वस्त छु ।”
पुस्तकलाई समीत उप्रेतीले प्रकाशन गर्नुभएको छ । एक सय ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।
=================
५. बम्बैसन् – डा. दुर्गाप्रसाद भँडारी
लेखक डा. दुर्गाप्रसाद भँडारीको यात्रा वृतान्त हो बम्बैसन् । पुस्तकमा लेखकले आफू चिकित्सकको रुपमा विभिन्न देश पुग्दाको अनुभव, युद्धको प्रभाव बारेमा लेख्नुभएको छ ।
”मान्छेको मूल स्वभाव नै घुमन्ते हो झै लाग्छ ।” पुस्तकमा माधव चौलागाई लेख्नुहुन्छ, ”आफैं तय गरिएका यात्राहरू हुन् वा अरु कसैले सुनाउने यात्रा वर्णनहरू, मानिसले सबैभन्दा बढी रुचाउने विषय हुन् । उहिलेदेखि नै मुगलान, लाहुर, भोट, मलाया, कालापहाडजस्ता परदेश र देशकै अपरिचित भूगोलमा पुगेर फर्किएका मान्छेले सुनाउने यात्रा र कर्मका नालीबेलीहरू नेपाली समाजमा अत्यन्त रुचाइएका सुन्न र सुनाउन मनपर्ने कथाहरू हुन् । तिनै विषयवस्तुमा आधारित रहेर अझैपनि कयौं विधाका कला र साहित्यहरू सृजना हुने गरेका छन् । डा. दुर्गाप्रसाद भँडारीको कृति ‘बम्बैसन्’ ले पनि यस्तै देश परदेशका अनुभव र अनुभूतिजन्य कथा बोकेको भएता पनि यसले आम नेपाली समाजमा परिचित ठाउँभन्दा निकै पर र फरक ठाउँहरूमा समेत घुमाउन लैजान्छ । फरक फरक समय र उद्देश्यमा गरिएका हरेक घुमाइहरू आफैंमा विशिष्ट हुन्छ । देश, काल र परिस्थिति अनुसार यात्राका अनुभव र अनुभूतिहरू फरक हुन्छन् । आफू जन्मिएको माटो र बाल्यकाल हुर्किएको परिवेशसँग गाँसिने सम्बन्ध भने चीरस्थायी हुन्छ । स्मृतिपटलमा ती बाल्यकालका स्वर्णीम झझल्कोहरू नभेट्ने मानिस सायदै कोही होलान् । यस कृतिका लेखकलाई ‘बम्बैसन्’ को मीठासले तानेको छ । त्यसैले आफ्ना स्मृतिपटलका संस्मरणहरूलाई उतारेर पाठकका निम्ति लेखकले यौटा रसिलो मीठो पठन यात्रा सामग्री दिएका छन् ।”
त्यसैगरी पुस्तकमा डा. दुर्गाप्रसाद भँडारी लेख्नुहुन्छ, जिन्दगी त बदलिरहँदो रहेछ परिवेशसँगै । एउटा व्यक्ति जीवनका विभिन्न मोडहरूमा विभिन्न ठाउँहरूमा पुग्दो रहेछ । हरेक ठाउँको नयाँपनले र त्यस ठाउँको विशेषताले नयाँ अनुभूति दिलाउँदा रहेछन् । जिन्दगीले डोऱ्याएर मलाई पनि पश्चिमको लन्डनसम्म र पूर्व-दक्षिणको याङ्गोनसम्म पुऱ्यायो । यही क्रममा मैले धेरै कुराहरू देखें। यी सबैको यथार्थका कुरा र त्यहाँको इतिहासले मलाई रोमाञ्चित गरायो । अफगानिस्तान र पाकिस्तानमा देखिने बौद्धकालीन अवशेषहरू, म्यान्मारमा देखिने दसौँ शताब्दीका प्यागोडाहरू, पाकिस्तान र बङ्गलादेशका मुगलकालीन किल्लाहरूले मेरो ध्यान खिचे । म त्यसैमा रमाएँ। भाग्यले मलाई विश्वकै महान् राजनैतिक परिवर्तनहरूको दर्शक बनायो । सोभियत सङ्घको ७० वर्षभन्दा पुरानो कम्युनिस्ट साम्राज्य मेरै अगाडि ढल्यो । बर्लिन पर्खालमा छिनो ठोक्न म पनि पुगें। शीतयुद्धका प्रतिद्वन्दीहरूले मेरै समयमा हात मिलाएर युद्ध समाप्त पारे ।”
पुस्तकलाई लेखक स्वंयमले प्रकाशन गर्नुभएको छ । दुई सय ६४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय ५० रुपियाँ रहेको छ ।

