पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न चार वटा पुस्तक प्राप्त भएका छन् ।
====================
१ . नबनाएको घर – दिलीप श्रेष्ठ
कवि दिलीप श्रेष्ठको लघुकविता सङ्ग्रह हो ‘नबनाएको घर’ । दिलीप श्रेष्ठको कवितामा कोमलता, यर्थाथता, समसामयिकता भरपुर पाइन्छन ।
”कवि दिलीप श्रेष्ठको ‘नबनाएको घर’ लघुकविता सङ्ग्रहभित्रको कविता पढेर म आश्चर्यचकित भएको छु ।” पुस्तकमा प्रमोद प्रधान लेख्नुहुन्छ, ”उनको कविताको पठनले एउटा छुट्टै आनन्द दिएको छ, पृथक् अनुभूति भएको छ । अत्यन्त कोमल शब्द, वाक्य र पदावलीहरूको प्रयोगबाट जीवनका शाश्वत सत्यहरू र समसामयिक यथार्थलाई हृदयको अन्तरसम्म पुग्ने गरी भन्नसक्ने क्षमता साँच्चै नै मनमोहक छ । कविहरूको भिडमा उनी बेग्लै देखिन्छन् । त्यो बेग्लैपना नै उनको पहिचान हो भन्ने मलाई लाग्छ । उनका कविता शब्दको जोडजाड मात्र होइन भन्ने तथ्य बुझ्न उनका कविता नै पढ्नुपर्छ । विचार र अनुभूति एकाकार भएर प्रस्तुत भएका उनका कवितामा मानवीय भावना र संवेदनाको सुरिलो स्वर सुन्न सकिन्छ । भिडमा नदेखिने दिलीप श्रेष्ठका कविता पढेपछि यति भन्न सक्छु म, उनी जैविक (अर्गानिक) कवि’ हुन् ।”
त्यसैगरी पुस्तकमा महेश पौड्याल लेख्नुहुन्छ, ”नेपाली कविता र गीतको फाँटमा दिलीप श्रेष्ठको नाम नयाँ होइन । उनी २०५३ सालमा ‘जिन्दगीको यात्रा कहाँ रोकूँ, (केही कविता केही गीत), २०७४ मा रेल चढेपछि (केही कविता केही गीत) तथा २०७७ सालमा ‘खेलापारिकी आमा'(कवितासङ्ग्रह) प्रकाशित गरिसकेका स्रष्टा हुन् । उल्लिखित सङ्ग्रहहरूमा समाज, संस्कृति तथा पर्यावरणका यावत् कुरा समेटिएका छन्, र तिनको अन्तर्यमा देशप्रतिको माया छ । कवि ईश्वरबल्लभले त उनलाई “माटोको कवि’ भनेरै सम्बोधन गर्नु उचित हुने ठहर गरेका छन् । विषयका दृष्टिले आफूलाई मान्छे, माटो र बृहत्तर प्रकृतिको निकट राख्ने कवि श्रेष्ठले शैलीका दृष्टिले आफ्ना कवितालाई सूक्ष्म र गेयात्मक बनाएका छन् । आफैं गीतकार पनि भएका नाताले हुनुपर्छ, उनका कवितामा शब्दलालित्यको बाहुल्य छ, र छोटा, श्रुतिमधुर र लयात्मक पदावलीको आधिक्य छ । कतिपय पदावली वा हरफको पुनरावृत्तिले, र हरफहरूमा पाइने स्वाभाविक तुकबन्दीले पनि उनका सिर्जनको साङ्गीतिक सौन्दर्य बढाएको छ ।”
पुस्तकलाई साहित्यिक पत्रकार सङघले प्रकाशन गरेको छ । ७९ ओटा लघुकविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।
=======================
२ . सभा देखि सागर… – दाजु गुरुङ
लेखक दाजु गुरुङको निबन्ध सङ्ग्रह हो ‘सभा देखि सागर…’ । पुस्तकमा दाजु गुरुङले हङकङलाई कर्मथलो बनाएर बस्ने नेपालीहरुको जीवन सङर्घषको उतार चढाव लेख्नुभएको छ ।
”कति भेटिए, कति छुटिए जिन्दगीका उकाली ओरालीहरूमा ।” पुस्तकमा दाजु गुरुङ लेख्नुहुन्छ, ”कति खर्चिए, कति साँचिए, जिन्दगीका हिसाब-किताबहरूमा । र, कति लेखिए, कति मेटिए सम्झनाका तरेलीहरूमा । तर सबै कहाँ साँच्न सकिँदोरहेछ र । अनि सोचेजस्तै सबै कहाँ हुँदोरहेछ र । जति भयो, जति गरियो सन्तोष पनि गर्नु पर्दोरहेछ । तर, कतै पर्दोरहेछ भनेर सन्तोष मानेर बस्नु बाँचिरहेको समयसँग पो सम्झौता गरिएजस्तो पनि हुँदोरहेछ । तथापि यी सबै समय-समयका प्रयासहरू हुन्, अलिकति बचेको समय सदुपयोग पनि । र, कतै सदुपयोग वा अतिपयोग अति पो हुने हो कि ? आशङ्काहरू पनि खेल्न आउँछन् घरीघरी । तर, जे ऑटियो, गरियो यस्तै भयो यसपटकका लागि । सम्झना ! कति मीठो लाग्ने । बेलाबखत खेल्न आउँछन् फुसर्दका क्षणहरूमा । तर, कति सम्झिए, कति बिर्सिए ! सबै सम्झिएर साध्य नहुने र केही बिर्सिन खोजे पनि बिर्सन नसकिने। अनि घोचिरहने बिगतको पानाभित्र रहेर । तर, कति-कति त पीडादायक भएर पनि सम्झनामा मीठो लाग्ने ती भोगाइहरू । अनि जसरी तसरी काटिए । धेरै जम्मा भएका रहेछन् ती पलहरू जिन्दगीले देश खोज्दै जाँदा । सायद तिनै यादहरू पो सँगालिन गएका हुन कि यो सभादेखि सागर (यात्रा र सम्झनामा) ! आभारी छु – मेरो लेखन र प्रकाशनमा सधैं सहयोग पुन्याइरहने सलबहादुर कोरङ्गी, प्रेमकुमार कोरङ्गी, देवेन्द्र कोरङ्गी, प्रकाश (जेपी) गुरुङ, टि.बि. याक्खा, सुनिता गिरी, भाइ सुरेन्द्र गुरुङ, लोकबहादुर घले, एलबी गुरुङ, अमिर गुरुङ, अनित गुरुङ, संखुवासभा समाज हङकङलगायत सबै सहयोगी मनहरूमा । कृतज्ञ छु- समग्र संयोजनका लागि कवि तथा प्राज्ञ शशी लुमुम्बू, प्रकाशनका लागि रत्न पुस्तक भण्डार, शुद्धाशुद्धिका लागि माधव नेपाल र अनिता पन्थी, आवरणकलाका लागि सुन्दर बस्नेत र लेआउटका लागि द प्रिन्ट डिजाइन र ध्रुव बस्नेतप्रति ।”
पुस्तकलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । दुई सय ४९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय ९९ रुपियाँ रहेको छ ।
=================
३. सैँप्रोल – गौरी तमू
कवि गौरी तमूको कविता सङ्ग्रह हो ‘सैँप्रोल’ । गौरी तमूको कवितामा सत्तासंग पितृसतात्मक समाज संगको विद्रोह, प्रतिरोध भेटिन्छ ।
”कविता मेरो जीवनको दोस्रो प्रेम हो ।”गाैरी पुस्तकमा लेख्नुहुन्छ, मैले आमापछि यदि कसैलाई प्रेम गरें भने त्यो कवितालाई नै गरें । कवितासँगको प्रेम किशोरावस्थामै सुरु भयो । सात कक्षा पढ्दादेखि नै विद्यालयमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पुरस्कृत हुँदा प्राप्त कविता कृतिहरूबाटै सायद कवितासँगको प्रेम आरम्भ भयो। दश कक्षा पढ्दै गर्दा नवलपरासी जिल्लाका विभिन्न विद्यालयमा आयोजित वक्तृत्व कला प्रतियोगितामा लगातार पाँच पटकसम्म प्रथम भएपछि भने मैले त्यस प्रतियोगितामा भाग लिन छाडेको थिएँ। यसकारण पनि त्यति बेला घरैभरि मेडल र पुस्तकहरू हुन्थे । मलाई पढ्नका लागि पुस्तकको अभाव भएन । दश कक्षामा पुग्दासम्म मैले नेल्सन मण्डेलाको ‘लङ वाक टु फ्रिडम’, विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’, ‘महात्मा गान्धीको आत्मकथा’ आदि पढिसकेकी थिएँ। पछि क्रमशः कोर्सभित्रैका मदर टेरेसा, तुलसी मेहर श्रेष्ठ, फ्लोरेन्स नाइटिङ्गेलका जीवनीहरूले यसरी तान्दै लगे कि मलाई भजनजस्ता कविताभन्दा क्रान्ति र मानवताको पक्षमा काम गरिरहेका व्यक्तिहरूका जीवनीले तान्न थाले । किशोरावस्थाको कविता प्रेम बिस्तारै ओझेल पर्दै जान थाल्यो क्रिस्टोफर कडवेलले कवितालाई आदिम मानवको भाषा भनेका छन् । त्यसो त उनी कला, साहित्य सर्वहारा वर्गको हितमा हुनुपर्ने कुरामा जोड दिन्छन् । मलाई ती किशोर दिनहरूमा पढेका कविताहरू खासै अर्थपूर्ण लाग्थेनन् । विचारविहीन र प्रश्नविहीन लाग्थे । गोपालप्रसाद रिमालको
‘आमाको सपना’ कविता र भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ त अलिक पछि मात्रै पढ्न पाइयो । त्यति बेलाका कविताका पङ्क्तिहरूमा सायद म आफैलाई खोजिरहन्थें । आफ्नै भाषाका केही शब्द, आफ्नै संस्कृतिका केही विम्ब या मैले बाँचेको जीवन खोजिरहन्थें। किनकि, हरेक व्यक्ति आफ्नो परिचयसहित बाँच्न चाहन्छ । जाति, भाषा, भूगोल, समाज र संस्कृतिले नै व्यक्तिको पहिचान निर्माण गर्छ । हरेक व्यक्ति ‘म को हुँ’ को जवाफ खोजिरहन्छ । सायद म पनि यसकै खोजीमा थिएँ ।”
पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । एक सय छ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य दुई सय ७५ रुपियाँ रहेको छ ।
====================
४. सुनिताका अनुभूतिहरु – सुनिता अधिकारी
कवि सुनिता अधिकारीको कविता सङ्ग्रह हो ‘सुनिताका अनुभूतिहरु’ । सुनिताको कविताहरुमा व्यक्तिगत अनुभव, भावना र जीवनका विविध आयामहरु भेटिन्छन ।
”नेपाली साहित्यमा रूचि राख्ने युवा पुस्ता कमै भेटिन्छन् ।” पुस्तकमा देवेन्द्र नेपाल लेख्नुहुन्छ, ”त्यसमा पनि नेपाली विषय मुख्य विषयका रूपमा नभई अन्य विषय पढेर नेपाली साहित्यमा समर्पित हुने मानिस एकदम कम हुन्छन् । सि ए पढ्दै गरेर नेपाली साहित्यमा समर्पित हुने युवा प्रतिभा हुन् सुनिता अधिकारी। ३५ ओटा कविता लेखेर सङ्ग्रहका रूपमा प्रकाशित गर्न लागेकी युवा साहित्यकार सुनिता अधिकारीलाई सर्वप्रथम त म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । सङ्ख्यात्मक हिसाबले मात्र होइन उनका कविता गुणात्मक हिसाबले पनि दमदार छन्। मुक्त लयमा कविता लेख्ने अधिकारीका कविताले अतीतका विभिन्न अनुभूति, वर्तमानका समसामयिक कुरा र भविष्यका सम्भावित घटनाहरूको समेत आँकलन गरेका छन् । जेनजीबहादुर जस्ता कविता लेखेर वर्तमान समसामयिक परिवेशको चित्रण गरिएको पाइन्छ। उनका कवितामा वर्तमान राजनीतिक अवस्थाको व्यङ्ग्य प्रहार गरिएको छ। देशप्रेम, प्रकृतिप्रेम, समसामयिक गतिविधि तथा आफ्ना भोगाइ र अनुभूति समेत कविताको विषय बनेको देखिन्छ। फरक फरक विषयवस्तु प्रयोग गरेर साहित्यानुरागीहरूलाई छुट्टै स्वाद चखाउन सफल युवा प्रतिभा अधिकारीको अबको बाँकी साहित्यिक यात्रा सफल र सुखद बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”
त्यसैगरी पुस्तकमा डा.बेन्जु शर्मा लेख्नुहुन्छ, ”सुनिता अधिकारीको कविता संग्रह ‘सुनिताका अनुभूतिहरू’ पढ्दा अभिव्यक्तिको नविनताका साथै आजका मानिसले भोगेका अपठ्यारा परिस्थिति यत्रतत्र व्यक्त भएका छन् । भ्रमपूर्ण जिन्दगी, प्रेमको यात्रा भात्र चरैवेती, आफ्नो जीवनको अस्तित्वको खोजाइ भावनाको चुर्लुम्म डुबाइ भन्दा परको तटस्थता, वस्तुपरक निष्पक्षता यी कविताहरूका विशेषता हुन् । असत्य र स्वाभिमानमा दृढ संकल्पित, प्रेम र मोहको भ्रमबाट विमुक्त, धूलो धूवाँबाट मुक्त, जीवन र जगतप्रतिको उत्सुकता, प्रकृतिसंगको तादात्म्यता, जीवनसँगको मीठो मिलन, देशसँगको आत्मीयता, स्वप्नलोकको भविष्य, लोकतन्त्रप्रतिको आस्था र विश्वास, वर्तमानसंगको असन्तुष्टी उनका प्रायः लेखनमा निहित छन्। परिवर्तनको लागि गरेको योगदान, परिवर्तनपछिको नेतृत्वको असक्षमताले आज सबै पीडित छन् कवि सुनितालाई पनि यसले पिरोलेको छ।”
पुस्तकलाई ज्योति प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको छ । ३५ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।

