पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न पाँच वटा पुस्तक प्राप्त भएका छन् ।
………………………………………..
१. धमिराको देवल : बोधराज पौडेल
निबन्धकार बोधराज पौडेलको निबन्ध संग्रह हो ‘धमिराको देवल’ । पौडेलले सामाजिक यर्थाथलाई शब्दहरुको कला भरेर सुन्दर निबन्ध पस्किीनुभएको छ ।
”कविता विधा यिनको लेखन यात्राको प्रस्थानविन्दु रह्यो । पुस्तकमा आर एम् डङ्गोल लेख्नुहुन्छ, अनुभूतिको पौढता र तीक्ष्णतासँगै विचार निर्मितिक्रममा सायद कविताको साँध सीमा यिनलाई अपर्याप्त लाग्यो अनि यिनी निबन्धतिर लहसिए । यसैमा एकोहोरिएको साक्ष्यको रूपमा दोस्रो निबन्ध कृति ‘धमिराको दैबल’ सार्वजनिक भएको छ। तीन दशक लामो साहित्यिक यात्रामा आर्जन गरेको विपुल अनुभवराशि र जीवन भोगाइको प्रतिक्रिया पहिलो निबन्ध कृति ‘साेकेसको ऐना’मा बोधराज पौडेलले आफैलाई निफने, छामे, जोखे र तौले। यस क्रममा यिनले अमर्मण्यता, अव्यवस्था र अराजकताप्रति आलोचकीय मत जाहेर गरेका छन् । पछिल्लो कृतिका निबन्धहरूमा यिनी सरल जीवन, सुन्दर जगत्, सरस व्यहारको पक्षमा देखिएका छन् । निबन्धको वस्तु चयन र प्रस्तुति शिल्पमा निजत्वको गाढा महक महसुस हुन्छ ।”
त्यसैगरी पुस्तकमा प्राज्ञ डा. भागवत आचार्य लेख्नुहुन्छ, कवि तथा निबन्धकार बोधराज पौडेलको दोस्रो निबन्ध कृति ‘धमिराको देवल’ सष्टा पौडेलको अन्तश्चेतना, व्यावहारिक परिपक्व, गहिरो जीवनबोध तथा गहन आत्मानुभूतिको अभिव्यक्तिका रूपमा आएको छ । उनका निबन्धको विषयको क्षितिज समाजका भौतिक सन्दर्भबाट विस्तार हुँदै अध्यात्मतर्फ ढल्केको देखिन्छ । ‘अध्यात्मको पाटोलाई सम्झेर भुलौं सारा द्वेष र विकारहरू’ (आदर्श), ‘यही जीवनको बोध नभएको होइन मात्र तत्वबोधको कमीले भौतारिएको हो’ (अतृप्त जलको तृष्णा) जस्ता अभिव्यक्ति अब उनको दृष्टि क्रमशः सुक्ष्म हुँदै गएको प्रमाण हो । निबन्धले वर्णनको भारभन्दा अन्तस्करणको चेतको गहिराइ छाम्छ (पाखनवेदको गुणमा निबन्धको सङ्घर्ष) भनी निबन्धलाई परिभाषित गर्छ। यो कृति उनको निबन्धलेखनको परिपक्व अभिव्यक्ति र शिल्पगत उत्तरोत्तर प्रगतिको निशानी हो ।”
पुस्तकलाई परिबोध मिडिया प्रा.लिले प्रकाशन गरेको छ । २२ ओटा निबन्ध सङ्ग्रहित पुस्तकको मूल्य चार सय ५० रुपियाँ रहेको छ ।
==========================
२. पारु – मन खत्री ‘सागर’
लेखक मन खत्री ‘सागर’को उपन्यास हो ‘पारु’ । लेखकले उपन्यासमा ग्रामिण परिवेशको एउटा महिला पात्रको जीवनको माया, प्रेम जिम्मेवारीबिचको द्धन्द्धलाई चित्रण गर्नुभएको छ ।
”पूर्ण रूपमा आफ्नै स्थानीय भाषा र संस्कृति झल्कने गरी तयार पारिएको डा. मन खत्री ‘सागर’ को पारूभित्र मैले मेरो समाजका आमाहरू पाएँ ।” पुस्तकमा देबेन्द्र खत्री लेख्नुहुन्छ, ”विदेशिएका छोराबुहारी, सहरबजारमा हुर्किएका र हुर्कदै गरेका नातिनातिनाहरू र आफ्ना छोराछोरीहरू विदेश गएका छन् भनेर गर्व गर्ने आमाबुबाहरूको वास्तविकता पाएँ । अन्तिम सत्य, जीवनको आनन्द र शान्ति कसरी प्राप्त गर्ने भन्ने कुराको बोध पनि भेटै । त्यसैले पारू एक उपन्यास मात्रै नभएर पूर्ण जीवन हो भन्ने मलाई लागेको छ ।”
त्यसैगरी पुस्तकमा विजय खत्री लेख्नुहुन्छ, ”साहित्यकार डा. मन खत्रीले समाजमा लुकेका, लुकाइएका वास्तविकतालाई स्थानीय लवजसहितका शब्दमार्फत् जीवनको उत्तरचढावका पोया लगाउँदै, बाट्दै पोया लगाउँदै, बाट्दै सिर्जना गर्नु भएको उत्कृट कृति ‘पारू’ हाम्रो समाजको पुरानो तर सफा ऐना हो । जुन आजका पुस्ताका लागि रोचक कहानी र इतिहास प्रेमीका लागि बलियो धरातल हो भने पारूका समकालीनका लागि सत्य रङ्गमञ्च हो ।”
त्यसैगरी पुस्तकमा डिल थापा लेख्नुहुन्छ, ”एउटी महिलाको जीवनमा आधारित भएर तयार पारिएको जीवन कथाभन्दा पनि माया, प्रेम र जिम्मेवारीबिचको द्वन्दात्मक विश्लेषण हो ‘पारू’ । एउटा पुस्ताको समग्र जीवन चक्रको चित्रण हो ‘पारू’ । समाजमा घट्ने परिघटनाहरुको ऐना हो ‘पारू’ । यस अर्थमा ‘पारू’ हाम्रो आफ्नै समाजको सामाजिक दर्पण हो ।”
पुस्तकलाई लेखक स्वंयमले प्रकाशन गर्नुभएको छ । दुई सय ९३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।
======================
३. समयका तरङ्ग – प्रिन्स प्रमोद कुमार ढकाल
कवि प्रिन्स प्रमोद कुमार ढकालको कविता सङ्ग्रह हो ‘समयका तरङ्ग’ । कविता मार्फत कविले सामाजिक विकृति, विसङ्गति विरुद्ध आलोचनात्मक खबरदारी गर्नुभएको छ ।
”कवि प्रिन्स प्रमोद कुमार ढकालद्वारा लिखित ‘समयका तरङ्ग’ कवितासङ्ग्रह विषयगत अनेकता एवम् भावगत व्यापकतायुक्त कविताहरूको समष्टिगत रूप हो ।” पुस्तकमा प्रा.डा देवी नेपाल लेख्नुहुन्छ, ‘आमा’ कविताबाट सुरु भएर ‘राष्ट्रियता’ कवितामा पुगेर टुङ्गिएको यस सङ्ग्रहमा कविचेतनाको विविधतापूर्ण उपस्थिति देखिन्छ । यस सङ्ग्रहमा उहाँ कतै आमा, बा र अग्रजहरूको सम्मानमा नतमस्तक हुनुहुन्छ, कतै नयाँ वर्षमा नयाँ उत्साहको अपेक्षा गर्नुहुन्छ, कतै समाज, देश र विश्वमानवतासम्बन्धी समुन्नत चेतनाको अपेक्षा गर्नुहुन्छ, कतै जीवन बदल्न सक्ने कविताको चाहना राख्नुहुन्छ, कतै मान्छेका आन्तरिक चरित्र र बाहय व्यवहारका बिचको तालमेल खोज्नुहुन्छ, कतै जीवनको वास्तविक परिभाषाको खोजी गर्नुहुन्छ, कतै विकास, प्रेम, याचना, सपना, बिपना, वास्तविक जनता, कोरोना कहर, जीवन र जगत्माथि उठेका प्रश्न, भूकम्प आदि विषयमाथि तार्किक विमर्श प्रस्तुत गर्नुहुन्छ, कतै अनुभूतिले स्पर्श गरेका साना साना विषयमाथि पनि दार्शनिक दृष्टि पुऱ्याउनुहुन्छ भने कतै चाहिँ घर, धुवाँ, छिमेकी, फूल, ईश्वर, बन्दुक, नियत, नियति, रात, आगो, उचाइ, साबुन, युवा, नारी आदिजस्ता कुनै दृश्य र कुनै अनुमेय विषयहरूमाथि पनि कविदृष्टि पुऱ्याउनुहुन्छ ।”
त्यसैगरी पुस्तकमा प्रा.डा हेमनाथ पौडेल लेख्नुहुन्छ, ”प्रमोद ढकाल सकारात्मक विचार र सोच भएका कवि हुन् । उनमा सामाजिक परिवर्तनको आकाङ्क्षा र देशभक्तिको भावनाका साथै सिङ्गो समाज र राष्ट्रले भोग्नुपरेका पीडा र मानवीय जीवनका समस्याका बारेमा गहिरो चिन्ता र चासो रहेको देखिन्छ । यसै कारण उनले कतै सूक्ष्म र कतै स्थूल रूपमा समाजका त्यस्ता नमिल्दा पक्षको उद्घाटन गरी त्यसको आलोचना गरेका छन् । कविता-सङ्ग्रहको शीर्षकले सङ्केत गरेअनुसार वास्तवमा ‘समयका तरङ्ग’ नै हुन् यस सङ्ग्रहका कविता । यिनमा भावनाका उच्छालहरू छन् र ती उच्छाललाई कविले विचारमा ढालेर प्रस्तुत गरेका छन् अनि कविताको अन्तर्यमा भने समाजरूपान्तरणको चाहना लुकेको छ। यस कुरालाई पुष्टि गर्ने क्रममा ‘गत एवं नयाँ वर्ष’ शीर्षकको कवितालाई उदाहरणका रूपमा लिन सकिन्छ ।”
पुस्तकलाई विराट साहित्य सङ्गमले प्रकाशन गरेको छ । ७२ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।
==============================
४. मलाई पनि निद्रा लागेन – मातृका पोखरेल
कथाकार मातृका पोखरेलको कथा सङ्ग्रह हो ‘मलाई पनि निद्रा लागेन’ । कथाकारले कथा माफर्त समाजमा भैरहने सामाजिक घटना, परिवर्तनलाई यर्थाथ चित्रण गर्ने कोसिस गर्नुभएको छ ।
”कथाकार मातृका पोखरेल समाजको असन्तुलित आर्थिक संरचनाका कारणले उत्पन्न वर्गद्वन्द्व चित्रण गर्ने प्रगतिवादी प्रतिभा हुन् ।” पुस्तकमा डा. दयाराम श्रेष्ठ लेख्नुहुन्छ, उनले आफ्नो राजनीतिक आस्था र सोचलाई समसामयिक परिवेशअनुकूल आख्यानीकरण गरेका छन् । उनले सामाजिक यथार्थलाई आधार बनाएर आजको राष्ट्रिय सरोकारका समस्याहरूलाई गम्भीरताका साथ हेरेका छन् । उनका द्वन्द्वकथाहरूका आफ्नै निजी दृष्टिकोण र स्वरूपहरू छन् । मूलतः उनी वर्तमान यथार्थको परिप्रेक्ष्यमा सामाजिक रूपान्तरणको अपेक्षा गर्ने एक चेतनशील कथास्रष्टा हुन् ।”
त्यसैगरी पुस्तकमा मातृका पोखरेल लेख्नुहुन्छ, बाल्यकालमा फुपूले सुनाउनु भएको लोककथा, दन्त्यकथाबाट खुबै प्रभावित हुन्थे म । म बाल्यकालमा छंदा ‘शिशिर वसन्तको कथा’, ‘लाटो बुङ्गोको कथा’ जस्ता कथाहरू अत्यन्तै प्रख्यात थिए । हाम्रो उमेरका सबैको मुखमा झुण्डिएका हुन्थे ती कथाहरू । ती कथाहरू दूरदराजका हाम्रा गाउँहरूमा पुगे र त्यस बेलाको हाम्रो पुस्ताको मनमस्तिष्कलाई पूरै प्रभाव पारे । कथाहरू जति सुने पनि कहिल्यै अघाएको महसुस नहुने । केही सम्झना छन्, फुपूले सुनाउने ती कथाहरूमा सधै असल र खराबको लडाइँ हुन्थ्यो र अन्त्यमा सधै असलको विजय हुन्थ्यो । त्यहींबाट सुरु भएको मेरो कथाको रुचि अहिलेसम्मै कायम छ । सायद, त्यस्तै प्रभावहरू होलान्, कथा मेरो आत्मीय विधा बन्यो । ‘छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ’ भनेर महाकवि देवकोटाको कथाको यो परिभाषा अत्यन्तै सटिक लाग्छ । संसारलाई घरबाहिर आंगनमा निस्किएर हेर्न पनि सकिन्छ । संसारलाई ढोका खोलेर हेर्न पनि सकिन्छ । झ्यालबाट केही निश्चित क्षेत्र पनि हेर्न सकिन्छ । तर, निश्चित क्षेत्र हेर्दा विशेष ठाउँ हेरिन्छ । विशेष घटनालाई मात्र हेरिन्छ र चियाइन्छ । आँगनमा निस्किएर हेर्दा त्यस्तो विशेष कुरा हेरिदैन । समग्रमा हेरिन्छ । झ्याल भनेको केवल हेर्ने माध्यम मात्र होइन, यो चयनको माध्यम पनि हो । जब हामी झ्यालबाट हेर्छौं, हामी सबै कुरा हेर्दैनौ हामी केही विशेष चीजमा केन्द्रित हुन्छौं । कथाबाट भनिने कुरा अलिक विशेष हुन्छ र हुनुपर्छ भन्ने लाग्छ ।”
पुस्तकलाई बेला पब्लिकेशनले बजारमा ल्याएको हो । १५ ओटा कथा सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।
=================================
५. धरतीको क्रन्दन – बुद्धदेवप्रसाद घिमिरे
कवि बुद्धदेवप्रसाद घिमिरेको कविता सङ्ग्रह हो ‘धरतीको क्रन्दन’ । कवि कविता मार्फत मानव अस्तित्वको पक्षमा, इतिहासको पक्षमा ब्रह्माण्डको पक्षमा वकालत गर्नुहुन्छ ।
”विश्वको विषम व्यवस्था र मात्स्य न्यायले गर्दा चिन्तक, कलाकार भावुक कविहरूको हृदयलाई औधी कुत्कुकुत्याउँछ अनि उनीहरू बोल्छन्, काव्य आदिको माध्यमले आफ्नो हृदय खोल्छन् ।” पुस्तकमा डिल्लीराम तिमसिना लेख्नुहुन्छ, ”उदीयमान कवि श्री सारस्वत घिमिरेजीको प्राञ्जल भाषामा दिएको लयात्मक गद्यकविताको प्रवाह ‘धरतीको क्रन्दन’ पनि नेपाली काव्य साहित्यको बगैचामा फुलेको यस्तै एउटा थुँगो हो । यो आफ्नै पाराले फुलेको छ। यो फुटकर कविताहरूको सङ्कलन होइन र कुनै खण्डकाव्य आदि काव्यविधा भित्र पनि पर्दैन, यसैले यो अनौठो छ । धरतीको निवासीले चन्द्रलोकमा पाइला टेक्यो, वहाँको चिनू ल्याउन सक्यो तैपनि धरतीको क्रन्दन छ- ‘उ पुग्न सक्तैन आफ्नो सीमामा’। ‘मान्छेले बनाएको बम पट्कन्छ मान्छेको छातीमा ।’ यसैले त धर्तीको क्रन्दन अझ चर्को हुन्छ । प्रस्तुत पुस्तकको विश्लेषण-समीक्षा-चिकित्सा आदि गर्नुको अपेक्षा यस्ता आशालाग्दा कविलाई फकाएर पनि अझ उत्तमोत्तम काव्य ग्रन्थहरू प्रस्तुत गर्ने प्रेरणा सँगालियोस् भन्न उपयुक्त ठान्छु । यही मेरो शुभाभिनन्दन र हार्दिक कामना छ ।”
त्यसैगरी पुस्तकमा बुद्धदेवप्रसाद घिमिरे लेख्नुहुन्छ, ”धरतीको क्रन्दन’ नामक गद्यकविताको प्रवाह वि.सं. २०२४ मा रचिएर २०२८ साउनमा माधव मुद्रणालय, वाराणसीबाट प्रथम पटक प्रकाशित भएको थियो । यसको नामाकरण श्रद्धेय विद्वान् साथी नारायण बहादुर कार्कीले गर्नुभएको हो भने शुभाभिनन्दन श्रद्धेय विद्वान् प्राध्यापक डिल्लीराम तिमसेनाले लेखिदिनुभएको थियो । यी दुवै दोस्रो प्रकाशनमा पनि यथावत छन् । तर श्रद्धेय हृदयान्तरस्थित गुरु प्राचार्य कृष्णप्रसाद वस्तीले पुस्तकको विश्लेषण गरी लेखिदिनुभएको शुभकामना त्यसबेला प्रेसबाट छाप्न छुटेको थियो । प्रथम प्रकाशनमा छुटेको गुरुको शुभकामनाको अभाव पुरा गर्न उहाँकी विदुषी छोरी डा अञ्जना वस्ती भट्टराईले लेखिदिनु भएको शुभकामना समावेश गरी सन्तोष मानेको छु । गुरुपुत्री-वहिनी – सम्धिनी अञ्जना वस्ती भट्टराईलाई धेरै धेरै धन्यवाद ।”
पुस्तकलाई कनकाई प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको छ । ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।

