इँट काठको बटुली राश
यो घर ठाडो गरने खास ।
सकल बिलाये कर्मी ज्यामी
ओत बसेका छौं सब हामी ।।
श्रद्धेय कविशिरोमणि लेखनाथ बाबाले रच्नुभएको यो पज्झटिका–पद्य गौथलीको चिरिबिरी कविताको एकांश हो । हुन त संकटका वेला मानव–जातिका घरमा शरण लिन आइपुगेको एक पखेरु गौंथलीले घरधनीलाई सम्बोधन गर्दै भनेको हो यो कुरो सर्सर्ती पढ्दा । गढेर विचार्दा भने गौथलीको यो चिरिबिरीमा कविका अन्तरात्माको आवाज गुँजिरहको प्रतीत हुन्छ ।
मान्छेले मेरो मेरो भनेर मोहको गाँठो कसेर राखेको वस्तु घर, सम्झेर ल्याउँदा कसको वस्तु हो ? यो मौलिक प्रश्न हो । जसलाई हामी मेरो मेरो भन्छौं त्यहाँ म-तत्त्व कहाँनेर छ त ? इँटमा कि काठमा कि अथवा सिमेन्ट बालुवामा ? ती सबै वस्तु त यस धरतीमा म आउनुभन्दा पहिलेदेखि नै मौजूद थिए, म गएपछि पनि यहीं कायम रहिरहन्छन्, हामी लिएर जाँदैनौ, जान सक्दैनौं । यी हामीले रचेका होइनौं, हाम्रा होइनन् । न तिनबाट निर्मित घर हामीले बनाएका नै हौं । घनघोर परिश्रमका साथ तिनबाट घर बनाउने काम गर्ने पनि अरु नै छन्– कर्मी र ज्यामी । तिनले पनि आफूले बनाएको घरलाई मेरो ! मेरो !! भन्दै अधिकार जताएका छैनन् । ती त घर बनाइदिएर कतै बिलाइ पनि सके । तिनले श्रमशीलताका साथ स्नेहपूर्वक बनाइदिएका घरमा हामी ओत लागेर बसेका छौं, यो तिनको उपकार हो, जसप्रति हामी कृतज्ञ छांै कि छैनौं हामी आफैँभित्रको मलाई सोधौं । भित्री दिललाई सोधौं ।
वस्तुतः ममत्वको घनघोर घटाले आच्छन्न मानव–मनका बारे लेखनाथ बाबाको सादा–बयानी यद्वा सरल वक्तव्य हो – गौंथलीको चिरिबिरी ।
कविता भन्दछ : ओत बस्नु नै घरको सोद्देश्यता हो । घर शब्दबाट ध्वनित हुने सुरक्षा, अपनत्व, ममत्व, प्रेम एवञ्च सुविधा अनि निष्कर्षतः शाश्वत विश्रान्ति नै घरको यथार्थ घरत्व हो ।
भनियो : घर सुरक्षाऽनुभूति हो । एक जना सुविख्यात शायर भन्दछन् :
सोचो तो ये भी एक कफस ही तो है जिसे
तहजीब की जुबान मे कमरा कहा गया । (जफर गोरखपुरी)
सोचेर हेर त, यो पनि एउटा जेल नै त हो जसलाई सभ्यताको भाषामा कोठा भनियो । सम्झेर ल्याउँदा घर र जेल यी दुईका बीच एउटै सानो फरक मात्र त छ नि – एउटामा हामी स्वेच्छया आफैँलाई बन्दी बनाउँछौं, अर्कोमा अरु कसैले हामीलाई बन्दी बनाइदिन्छ । मूलतः मानवलाई बन्दी बनाउनु यी दुवैको स्वभाव हो ।
फेरि सुरक्षा त घरमा भन्दा अझ बढी जेलमा नै हुन्छ । नपत्याए मशहूर शायर मुनव्वर राणालाई सोध्नुहोस् त ! –
कफस में हम बहुत महफूज होंगे
कि पहरे पर खडा सैयाद होगा ।
पिंजडामा म ज्यादै सुरक्षित हुनेछु किनभने त्यहाँ स्वयं शिकारी पहरा दिन हरदम खडा रहेको हुनेछ ।
शायरको यस व्यंग्योक्तिमा मर्मस्पर्शी तथ्य ध्वनित भइरहेको महसूस हुन्छ– बन्दीको सुरक्षाका लागि जहाँ शस्त्रसज्जित शिकारी स्वयं पहरामा बसेको होस् त्यहाँ त्यस निरीह बन्दीलाई कति कहालीलाग्दो सुरक्षाऽनुभूति हुँदो हो !
प्रिय भावक बन्धु !
म यहींनेर विश्वविख्यात शायर महामहिम मिर्जा गालिबलाई सम्झन्छु –
जुल्मतकदे मे मेरे शब–ए–गम का जोश है
इक शम्अ है दलील–ए–सहर सो खमोश है ।
मेरो यो यातनागृहमा पीडाऽऽच्छन्न निशाऽन्धतमस् को जोश अद्यापि मौजूद छ, यद्यपि बिहानीको प्रमाण पेश गर्ने एउटा शम्अ अर्थात् मैनबत्ती यहाँ हाजिर, तर ऊ स्वयं बद्धमौन छ ।
आफ्नो जुल्मतकदा यद्वा क्लेश–कक्षको उकुस–मुकुसलाई यसै गजलको अर्को शेरले यसरी मुखरित गर्दछ :
ने मुज्द–ए–विसाल, न नज्जार–ए–जमाल
मुद्दत हुई कि आसति–ए–चश्म–ओ–गोश है ।
न त प्रेमास्पदसँग मिलनको सन्देश–वार्ता, न त त्यो दिव्य सुषमाको एक झलक । आँखा र कानका बीच शान्ति–सम्झौता भएको पनि सुदीर्घकाल भइसक्यो ।
यहाँनेर यी महान् शायरका उदात्त कल्पनालोकको विस्मयकारी झझल्को पाइन्छ : पहिले यदा कानले प्रियमिलनको समाचार सुन्न पाउँथे अनि नयनद्वय ईष्र्याग्रस्त बन्दथे अनि कदा आँखाले प्रियदर्शनको अवसर पाउँथे अनि कर्णद्वय द्वेषी बन्दथे, अब यी दुवै घटनाको संयोग जुर्न छोडेकाले यी सदाकालीन प्रतिस्पर्धीका बीच पनि दोस्ताना कायम भएको छ । आपाततः विधायक जस्तो देखिने यस दोस्तीको छायामा लुकेको कहालीलाग्दो कहानी वर्णनातीत छ ।
प्रिय भावक बन्धु !
यसरी जुल्मतकदा यद्वा यातना–गृहको सकसबाट आजित भएका ती महान् शायर मिर्जा असदुल्लाह खान गालिबको ख्वाहिशले अन्ततः यसरी उत्कर्ष हासिल गर्दछ –
रहिये अब ऐसी जगह चलकर, जहाँ कोई न हो
हमसुखन कोई न हो और हमजबाँ कोई न हो ।
अब एउटा यस्तो ठाउँमा गएर बसियोस्, जहाँ कोही नहोस्, बात मार्ने मान्छे पनि नहोस्, आफ्नो भाषा बोल्ने पनि कोही नहोस् ।
बे–दर–ओ–दीवार सा इक घर बनाया चाहिये
कोई हमसायः न हो और पासबाँ कोई न हो ।
ढोका र भित्ताविहीन एउटा यस्तो घर बनाइयोस् जहाँ कुनै छिमेकी नहोस् अनि पहरेदार पनि नरहोस् ।
पडिये गर बीमार, तो कोई न हो तीमारदार
और जब मर जाइये, तो नौहःख्वाँ कोई न हो ।
जब विरामी परियोस् तब सेवा–सुश्रूषा गर्ने कोही नहोस् अनि जब निधन होस् उसबेला रुने कराउनेवाला पनि कोही नहोस् ।
प्रिय भावक बन्धु !
हजुर–हाम्रा दिल–अजीज शायर असदुल्लाह साहबको यो नितान्त एकान्त अस्तित्वको आन्तरिक गाथा यहाँ यति अन्तरंग हुन पुगेको छ जहाँ हामी यसरी गजलाऽऽधीन हुन पुग्दछौं, लाग्दछ – समाधिस्थ भइसकेका छौं । नहोस् पनि कसरी ? दुर्दमनीय दुनियाँको दुर्दान्त पीडा, मानवात्माको असहनीय हाहाकार र परमसत्ताप्रति एकमेव लवलीनताको ललक पनि यहाँ युगपत् मुखरित बन्न पुगेको छ ।
...
अर्कातिर उही इँट काठको राश बटुलेर घर बनाउने जद्द–ओ–जहद को गाथा मशहूर शायर डा बशीर बद्र यसरी शेरबद्ध गर्दछन् –
लोग टूट जाते हैं एक घर बनाने में
तुम तरस नहीं खाते बस्तियाँ जलाने में !
प्रिय भावक बन्धु !
हालसालै मुलुकको राजधानीमा अवैध संरचना हटाउने अभियान चलिरहँदा गजलको यो मतला अनायास स्मरणीय बन्न पुग्यो– मिसरा–ए–सानी स्थित काफियामा अलिकति छेडखानी गरेर यसरी पढियो –
बस्तियाँ गिराने में !
त्यसै बेला थाहा भयो – त्यहाँ आलीशान मन्दिर मस्जिद गिर्जाघर पनि बनेका रहेछन् । ती पनि गिराइए । मशहूर शायर स्वर्गवासी निदा फाजलीले भनेथे –
बच्चा बोला देखकर मस्जिद आलीशान
अल्लाह तेरे एक को इतना बडा मकान !
एउटा बच्चाले आलीशान मस्जिद देखेपछि भन्यो : ए अल्लाह, तिमी एक्लैलाई यत्रो मकान !
लाग्दछ – निदाले त्यतैतिरका गृहवञ्चित कुनै बालकको बोली टपक्कै टिपेका पो हुन् कि ?
उता हाम्रा मिर्जा गालिब उनैको द्वारदेशमा सुटुक्क घर बनाएपछि भन्दछन् –
घर जब बना लिया तेरे दर पर कहे बिगैर
जानेगा अब भी तू न मिरा घर कहे बिगैर ।
जब मैले तिमीलाई भन्दै नभनीकन तिम्रो ढोकैअगिल्तिर घर बनाएँ, अब त मेरो घरको नाम नलिई तिमीलाई धरै छैन ।
कस्तो अद्भुत रसिलो अभिव्यञ्जना गर्छन् असद साहब !
तिनै फेरि यसो पनि भन्दछन् –
अपनी गली मे दफ्न न कर मुझ को बाद–ए–कत्ल
मेरे पते से खल्क को क्यों तेरा घर मिले ।
मेरो कत्तल भइसकेपछि आफ्नो गल्लीमा मलाई न दफनाउनू, मेरो ठेगानाबाट दुनियाँले किन तिम्रो घर फेला पारोस् !
तर यस कथनबाट हाम्रा आशिकमिजाज असद साहब आफ्नो राज–ए–दिल खुलिजाला कि भनेर यद्वा आफूले आजीवन लुकाएर राखेका अनमोल हीरा–मोतीहरूको सुराग कसैले थाहा पाइ पो हाल्ला कि भनेर सशंकित बनेको झल्को आउँछ । यद्यपि जीवनान्तमा आफ्नो घरतलाशी भएपछि त थाहा पाइहाल्लान् नि ! भनेर उनले फेरि पहिले नै वक्तव्य निकालेर ती अनमोल रत्नहरूको संकेत पनि आफैंले दिएका छन् –
चन्द तसवीर–ए–बुताँ, चन्द हसीनों के खतूत
बाद मरने के मिरे घर से ये सामाँ निकला !
रमणीहरूका केही तस्वीर र सुन्दरीहरूका केही प्रेमपत्र, मेरो मृत्युपछि मेरा घरमा फेला परेका कुल मालसामान यिनै थिए !
तिनैले कतै यसरी घर सम्झिएका छन् –
कोई वीरानी सी वीरानी है
दश्त को देख के घर याद आया ।
कुनै सूनसानै जस्तो सूनसान छ, जंगल देखेपछि घर याद आयो ।
जंगलको शून्यताले कप्लक्कै निल्न लागेपछि निस्सासिएर घर याद आएको छ उनलाई, लाग्दछ उनले अनन्वय अलंकारको पृष्ठभूमिमा घरको तीव्राऽनुभूतिमय पेन्टिङ बनाएका छन् ।
तर, भावक बन्धु !
दुःखान्तचाहिं के छ भने घरमै रहे पनि एकाकिताको समाधान कहाँ छ र ?
नपत्याए मशहूर शायर गुलजारलाई सोध्न जानुहोस् –
आइना देखकर तसल्ली हुई
मुझ को इस घर में जानता है कोई ।
ऐना हेरेपछि बल्ल ढुक्क भएँ – ए, यस घरमा मलाई चिन्ने पनि कोही रहेछ !
कति तीव्र व्यंग्योक्ति पेश गरेका छन् गुलजार साहबले । जुन घरमा आफूलाई चिन्ने भनेको फगत् एउटा ऐना छ त्यो घर कति गुलजार होला ?
वस्तुतः घरमा जब आत्मीयजनको समुपस्थिति रहन्छ, तब घर घर बन्दछ, गुलजार बन्दछ । अनि घरमा आउने आफन्त, प्रिय बन्धु–बान्धवले घरको रौनक अवश्य बढ्दो हो । तर फेरि सम्बन्धको मधुरता कायम रहन गृहाऽऽगमन नै आवश्यकै पर्ने पनि होइन ।
हर दिल अजीज शायर जनाब वसीम बरेलवी भन्दछन् –
वो मेरे घर नहीं आता, मैं उसके घर नहीं जाता
मगर इन एहतियातों से तअल्लुक मर नहीं जाता ।
ऊ मेरो घरमा आउँदैन, म पनि उसको घर जान्नँ । तर, यस्ता सावधानी वा होशियारीहरूले आत्मीयताको साइनो कदापि मरिहाल्दैन ।
यहाँ एहतियात उर्दू लबजले दिएको कटाक्ष अद्भुत छ । आत्मीय सम्बन्धको मिठासलाई कसै गरी पनि मिटाउन नसकिने तथ्य उनले यसरी छर्लंग्याएका छन् ।
रोचक कुरा के भने– यस्ता आत्मीयजन कदाचित् घरमा आइपुग्दाको अनौठो स्थिति चाहिं उनै शायरे आजम मिर्जा गालिबलाई थाह छ –
वो आये घर में हमारे खुदा की कुदरत है
कभी हम उनको, कभी अपने घर को देखते हैं ।
उहाँ मेरा घरमा आउनुभयो, धन्य परमात्माको कृपा ! अब घरि म उहाँलाई अनि घरि आफ्नो घरलाई हेरिरहेछु !
वाह ! क्या गजबको अभिव्यञ्जना छ मिर्जाको यस काव्योक्तिमा । प्रिय आगन्तुकलाई स्वागत गर्न लायक आफ्नो घर छ कि छैन भन्ने कश्मकश वा मनोसंशयलाई बयान गर्ने यो जादूगरीप्रति कुन सहृदय कायल नहोला ।
प्रिय भावक बन्धु !
घरैमा बस । घरबाहिर निस्कनु कदाचित् त्यति उत्तम कृत्य होइन कि भन्ने सन्देह मात्र होइन, पक्कापक्कीका साथ हिदायत पनि दिन्छन् डा. बशीर बद्र –
यूँ ही बे–सबब न फिरा करो, कभी शाम घर भी रहा करो
वो गजल की सच्ची किताब है, उसे चुपके चुपके पढा करो ।
अकार्थमा वरपर ननिस्क, कहिलेकाहीं साँझ घरैमा पनि बस्ने गर । त्यो चोखो गजलको किताब हो क्या ! सुटुक्क पढ्ने गर न !
डा. बशीर बद्रले संकेत गरेको गजलको किताब उनकै कृति–संकलन हो यद्वा कुनै गोप्य संकेत हो गृहवासी कुनै गजलाऽनुकृति प्रति– यो तपाईं हाम्रो समझको मामला हो ।
फेरि उनै शायर यसो पनि भन्छन् –
वेवक्त अगर जाउँगा, सब चौंक पडेगे
मुद्दत हुई दिन में कभी घर नही देखा ।
सधैं झमक्क साँझ परेपछि मात्र घर फर्किने मान्छे अचानक दिउँसै घर पुग्यो भने के हुन्छ ?
यदि कुटाइममा घर गएँ भने सबै छक्क पर्नेछन्, धेरै भइसक्यो मैले दिउँसोमास कहिल्यै घर देखेको छैन ।
जीवनको आपाधापी र उकुसमुकुसिने व्यस्ततालाई यस शेरले छर्लंग पारिदिएको प्रतीत हुन्छ ।
प्रिय भावक बन्धु !
शेर–ओ–शायरीको सयरलाई अब यहीं सम्पन्न गरेर अब फेरि घरतिरै फर्किऔं ।
घर हजारौं वर्ष पुरानो संस्कृत मूल गृहम् बाटै निर्मित शब्द हो । ग्रहणार्थक ग्रह धातुबाट बन्दछ : गृह्णातीति गृहम् । अर्थात् जसले ग्रहण गर्दछ त्यो हो घर । के ग्रहण गर्दछ ? गृह्णाति धान्यादिकं जीवनार्थे अर्थात् जिउनका लागि धान्यादि वस्तु जसले ग्रहण गर्दछ त्यही हो घर । यसको मूल स्वभाव हो ग्रहण गर्ने अर्थात् पकडमा राख्ने । यसै वृत्तिले गर्दा घरले यसमा बस्ने प्राणीलाई पनि पकडमा राख्दछ, बाँध्दछ । तर, मानिसको मूल स्वभाव स्वतन्त्रतामा सुरक्षित छ बन्धनमा होइन, त्यो घरमा होइन खुला पञ्चतत्त्वमा रमाउँछ, विराट् प्रकृतिमा लवलीन हुन मन पराउँछ, अनन्तमा समाहित हुनुमा स्वाद लिन्छ । यहाँनेर म विश्वविख्यात दार्शनिक महाकवि खलील जिब्रानलाई सम्झन्छु । उनी भन्दछन् :
नगरको सीमानामा
घर बनाउनुभन्दा पहिले
तिमी वन प्रान्तरमा
कल्पनाको एक कुञ्ज बनाऊ
किनभने –
यद्यपि गोधूलि वेलामा
तिमी त आफ्नो घर फर्कन्छौ
तर तिम्रो अन्तर्मनको पर्यटक
हमेशा दूरस्थ एवं एकाकी नै रहन्छ
के तिम्रो घरले सपना देख्दैन ?
अनि सपनामा नगरलाई छोडेर
कुनै निकुञ्जमा
अथवा पहाडका टाकुरामा जाँदैन र ?
तिम्रा अन्तरमा
जुन उन्मुक्त आत्मा रहन्छ
त्यो उच्च गगन–मण्डलको
राज–भवनमा निवास गर्दछ,
बिहानीको हुस्सू
जुन राजभवनको द्वार हो
अनि रात्रिको गीत र सन्नाटा
जसको आँखीझ्याल ।
कविताले स्पष्ट गर्दछ : मानवशरीर घरभित्र रहे पनि मानवात्माको स्वतन्त्र सत्ता कुनै वनप्रान्तरको एकान्तमा नै कृतार्थ हुन सक्नेछ ।
प्रिय भावक बन्धु !
पूर्वीय संस्कृतिमा गृहसँग जोडिएर गृहस्थ र यसैबाट गृहस्थाश्रम शब्दले गौरव प्राप्त गरेको छ । गृहस्थाश्रमलाई हाम्रो परम्परामा सर्वोत्तम आश्रम मानिएको छ । यथा –
गृहस्थं हि सदा देवाः पितरोऽतिथयस्तथा
भृत्याश्चैवोपजीवन्ति तान् भरस्व महीपते ! ४
वयांसि पशवश्चैव भूतानि च जनाधिप !
गृहस्थैरेव धार्यन्ते तस्माच्छ्रेष्ठो गृहाऽऽश्रमी । ५
सोऽयं चतुर्णामेतेषामाश्रमाणां दुराचरः
तं चराऽद्य विधिं पार्थ दुश्चरं दुर्बलेन्द्रियैः । ६
महाभारत, शान्तिपर्व, २३ अध्याय ।
यहाँ स्वयं वेदव्यास धर्मराज युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुहुन्छ –
हे राजन्, देवता, पितृगण, अतिथिगण, सेवकगण, पशुपक्षीगण, समस्त प्राणीवर्ग पनि गृहस्थहरूले नै धारण गरिएका हुन्छन्, तिनको पालनपोषण गृहस्थबाट नै हुने गर्दछ त्यसैले गृहाश्रमी श्रेष्ठ मानिन्छ । चारैवटा आश्रममध्ये आचरण गर्न सबैभन्दा गाहारो पनि यही आश्रम हो । हे जनाधिप, तिमी त्यही आश्रमलाई यत्नपूर्वक आचरण गर ।
पूर्वीय सांस्कृतिक परम्परामा गृह हमेशा गृहिणीसँग तादात्म्य बनेर आउने गर्छ । अनौठो कुरो के छ भने– संस्कृतमा स्त्रीलिंगी गृहिणी शब्द मात्र यत्र तत्र सर्वत्र पाइन्छ । यसको पुंवाचक शब्दको प्रयोग शून्यप्रायः छ । महाकवि कालिदासले अभिज्ञानशाकुन्तलमा एक ठाउँमा मात्र पुंवाचक गृही शब्दको प्रयोग गर्नुभएको छ –
पीड्यन्ते गृहिणः कथं नु तनयाविश्लेषदुःखैर्नवैः ।
आश्रममा रहेकी पालितपुत्री शकुन्तलालाई पतिगृह पठाउने वेला महर्षि कण्व भन्नुहुन्छ –
मजस्तो आश्रमवासी जन त यस क्षणमा यति दुःखी बन्छ भने गृहस्थाश्रमका गृहीहरू छोरी अन्माउन लाग्दा हुने नूतन वियोग दुःखले कति पीडित हुँदा हुन् ।
वस्तुतः गृहकी अधिष्ठात्री गृहिणी नै हुन् ।
.. न गृहं गृहमित्याहुर्गृहिणी गृहमुच्यते ।
घरलाई घर भनिन्न । वस्तुतः गृहिणीलाई नै घर भनिन्छ ।
उनी जस्तो स्वभावकी हुन्छिन् घर पनि तदनुरूप बन्दछ । गृहको शान्त, सुन्दर, प्रेमिल यद्वा अशान्त, कुरूप, उजाड आवोहबा गृहिणीमाथि नै निर्भर गर्दछ । यसबारे अत्यन्त चोटिलो एउटा सुभाषित पाइन्छ :
माता यस्य गृहे नास्ति, भार्या चाप्रियवादिनी
अरण्यं तेन गन्तव्यं यथारण्यं तथा गृहम् ।
जसकी आमा घरमा छैनन्, अनि भार्याचाहिं अप्रिय–वादिनी छिन् भने उसले जंगलतिरै लाग्नु ठीक हो, किनभने उसका निम्ति जस्तो जंगल उस्तै घर ।
जर्मनीका विश्वविख्यात महाकवि गेटेको भनाइ छ :
राजा होस् या कृषक, सबैभन्दा सुखी उही हो जसले आफ्नो घरमा शान्ति पाउँछ ।
विज्ञेषु किमधिकम् ?
अन्त्यमा श्रद्धेय कविशिरोमणि लेखनाथ बाबाको यो अन्तिम कविता उद्धृत गर्दछु । जहाँ यो मानव–देहलाई नै घर भनिएको छ, जहाँ परमेश्वरको निवास छ, एकदिन यो घर भत्किएपछि ऊ यहाँबाट विदा हुन्छ, कसरी ?
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उस्को रहने घरै हो ।
यो भत्किँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।।
मेरा प्रिय भावक बन्धु !
झन्नै सोध्नै पो बिर्सिएँछु – हजुरको घर कता पर्यो ?


