खाँदबारी । नेपाली सेनाको खाँदबारीस्थित इन्द्र दल गुल्म आज बन्दुक र कविताको अनौठो संगमको साक्षी बन्यो। ३०४ औँ पृथ्वीनारायण शाह जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कविता प्रतियोगितामा ब्यारेकभित्र राष्ट्रिय एकता, पृथ्वीनारायण शाह र दिव्योपदेशका स्वरहरू गुञ्जिए। बन्दुकहरू कुनामा चुपचाप उभिएर कलिला कवि स्वर सुन्दै बसे, वारुदको गन्धलाई कविताको सुगन्धले जित्यो।
कार्यक्रमको सुरुवात साहित्यकार ताराबहादुर बुढाथोकीद्वारा सिर्जित गजलको सेर
“वीर गोर्खाली सेना हाम्रो गौरव गाथा हो,
साहस, धैर्य, एकताको सगरमाथा हो।”
बाट भएको थियो, जसले सभाहललाई साहित्यिक महफिलमा रूपान्तरण गर्यो।
इन्द्र दल गुल्मको आयोजनामा सम्पन्न जिल्ला–व्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय कवि गोष्ठीमा विभिन्न विद्यालयका १७ जना विद्यार्थीले कविता वाचन गर्नुभयाे । सबै कविताहरू राष्ट्रिय एकताको भावनाले ओतप्रोत थिए। प्रतियोगितामा श्री कुनिना बोर्डिङ स्कुलकी ज्योति गुरुङ प्रथम, हिमालय माध्यमिक विद्यालय खाँदबारीका भीमार्जुन निरौला द्वितीय र कालिका माध्यमिक विद्यालय सेकाहाकी निसा शेर्पा तृतीय हुनुभएकाे थियाे । खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरी उहाँहरूलाई सम्मान गर्नुभयो।
कार्यक्रममा नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, प्रहरी कार्यालय प्रमुख कुमारप्रसाद मैनाली, सशस्त्र बेस मानेभञ्ज्याङका प्रमुख, वरुण क्याम्पस प्रमुख चित्ररेखा अधिकारी, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालमान भण्डारी, हिमालय माविका प्रधानाध्यापक, उद्योग वाणिज्य सङ्घका अध्यक्ष डेगराज बस्नेतलगायतको उल्लेख्य उपस्थिति थियो।
इन्द्र दल गुल्मका गुल्मपति मेजर नवराज बस्नेतले नेपाली साहित्यमा राष्ट्र र राष्ट्रियताको भाव बोकेर लामो समयदेखि कलम चलाउँदै आएकाे तथा प्रतियोगिताको मूल्याङ्कन समितिका संयोजकसमेत रहेका साहित्यकार ताराबहादुर बुढाथोकीलाई, साथै मूल्याङ्कनमा सहभागी कवि राजेन्द्र सर्वहारा र कवि कृष्ण चापागाईंलाई सम्मानपत्र प्रदान गर्नुभयो। नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया र शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालमान भण्डारीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको प्रारम्भमा साहित्यकार बुढाथोकीले “सङ्खुवासभामा गढी र किल्लाहरू : एक अध्ययन” शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमाथि नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीले टिप्पणी गर्दै शुभकामना मन्तव्य राख्नुभयो।
स्वागत मन्तव्यका क्रममा गुल्मपति बस्नेतले बन्दुक र कलमको संयोजनमार्फत राष्ट्रिय एकता प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। समापन मन्तव्यमा उहाँले नयाँ पुस्तामा आफूले अपेक्षा गरेभन्दा अझ उच्च स्तरको राष्ट्रिय एकताको चेतना देखिएको टिप्पणी गर्नुभयो।
तीन दिनसम्म विभिन्न कार्यक्रमसहित सञ्चालन हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाह जयन्ती कार्यक्रम पुस २७ गते गुल्ममै समापन हुने जानकारी दिइएको छ।

