ग्राण्ड महफिल, सिजन – २ को ‘शृङ्खला – १६’ माघ ३ गते शनिबार हुने भएको छ । गजलका शेरका पारखीहरू लाइभ गजल सुन्नका लागि ठीक २ बजे कालिकास्थानस्थित सर्वनाम थिएटर पुग्नु पर्नेछ जहाँ गजलकार त्रय दीक्षा भण्डारी, सुनिता सापकोटा र निष्प्रभ सजीले आफ्ना शेरहरू स्रोतालाई सुम्पिने छन् ।
गजलकार तथा गजल अभियन्ता बाबु त्रिपाठीको प्रस्तुति रहने महफिलको प्रत्यक्ष स्रोता हुनका लागि १५० रूपियाँको टिकट लिनुपर्नेछ । यस ‘ग्राण्ड महफिल’को मिडिया पार्टनरका रूपमा साहित्यपोस्ट दैनिक (इ) पत्रिका रहेकाे छ ।
गजल त हामी सर्वनामै पुगेर सुनिहाल्छौँ । साहित्यपोस्टले महफिलमा शेरहरू बोकेर आउने तीन जना गजलकारसँग छोटो संवाद गरेको छ । प्रस्तुत छ, दीक्षा भण्डारी, सुनिता सापकोटा र निष्प्रभ सजीसँग गरिएको संवादको सम्पादित अंशः
…
१. नेपाली साहित्यमा गजल लेखनले लामो सफर गरिसकेको छ । यो गजलको सफरमा आफ्नो सफरलाई कस्तो पाउनु हुन्छ ?
दीक्षा भण्डारी: निश्चय पनि नेपाली गजलकाे सफर लामाे भइसकेकाे छ । जीवन रहेसम्म सिक्ने प्रक्रिया जारी रहन्छ । म आफूलाई पनि त्यही पाउँछु ।
निष्प्रभ सजीः गजल लेखन मैले २०५९ सालदेखि शुरु गरेको हुँ । कविता लेखनमा गजल जोडिएपछि र अहिले आख्यान जोडिएपछि पनि गजल मेरा लागि उत्तिकै प्रिय छ । त्यो गजलको शक्ति हो जसले मलाई गजल लेखन छोड्न दिइरहेको छैन । मलाई गजलले मेरो अन्य विधाको लेखनमा कम्लिमेन्ट गरिरहेको छ । मेरा लागि गजलले मेरो साहित्यक यात्रामा कोमलता, ध्वनि र लय मिसाइरहेको छ ।
सुनिता सापकोटा: नेपाली साहित्यको क्षेत्रमा गजल लेखनले धेरै फड्को मारेको छ । गजलको सफरमा आफूले पनि गजल लेखेर थोरै भए पनि नेपाली गजलको क्षेत्रलाई अगाडि बढाउन मदत मिलेको छ जस्तो लाग्छ । मेरो गजलको सफर मनका भावना बिसाउने चौतारी र अन्याय विरुद्धको आवाज बनोस् भन्ने लाग्छ ।
…
२. नेपाली साहित्यको गजल–सफरमा ‘गजल महफिल’ (ग्राण्ड महफिल) को भूमिका र योगदान चाहिँ के कस्तो पाउनु भएको छ ?
दीक्षा भण्डारी: हिजाेकाे दिनमा गजलकाे अवस्था कस्ताे थियाे, त्यसका बारेमा गजलकारहरू जानकार हुनुहुन्छ नै । आज गजलकाे अवस्था कस्ताे छ र त्यसकाे सफरकाे बारेमा महफिलकाे याेगदान पहिलाे स्थानमा आउँछ । आज जे जति गजलमा प्रगति भएकाे छ त्यसकाे श्रेय महफिललाई जान्छ नै ।
निष्प्रभ सजीः महफिल एउटा यस्तो पुल भएको छ जसले आफ्ना आवश्यकताहरूको खोजीमा कहाँ कहाँ छरिएका गजलकारहरुलाई जोडेर गजलको उत्सव मनाइरहेको छ । गजलको इतिहासमा यो योगदान बाँचिरहनेछ ।
सुनिता सापकोटा: नेपाली साहित्यको गजल सफरमा गजल महफिल (ग्राण्ड महफिल) को भूमिका र योगदान अतुलनीय छ । यसले नेपाली गजलको विकास र विस्तारमा ठूलो योगदान पुर्याएको छ ।
…
३. नेपालको परिप्रेक्ष्यमा, गजल के हो ? व्यक्तिगत रूपमा, तपाईं किन गजल नै लेख्नुहुन्छ ?
दीक्षा भण्डारी: मेरा लागि गजल समाजसँग नजिक हुने माध्यम हो । पुल हो । म त्यही समाज नियाल्न गजल लेख्छु ।
निष्प्रभ सजीः मैले माथि भनेजस्तै म गजल मात्र लेख्दिनँ । मैले गजल पनि लेख्नुको एक मात्र कारण गजलको सुन्दरता हो । जसले मलाई आफूतिर खिचिरहन्छ ।
सुनिता सापकोटा: गजल भनेको नेपाली साहित्यको एउटा चोटिलो विधा हो । पछिल्लो समय धेरैले गजललाई मन पराउनु भएको छ । गजलमार्फत् मानिसका भावना, प्रेम प्रकट भएका छन् । अन्याय, बेथितिका विरुद्धमा आवाज उठेका छन् । मैले व्यक्तिगत रुचि र गजलका क्षेत्रलाई अगाडि बढाउन टेवा पुगोस् भन्ने उदेश्यले नेपाली गजल लेखनलाई अगाडि बढाएको छु ।
…
४. नेपाली साहित्यमा गजल विधामा सर्वाधिक विवादमा देखिन्छ, जुन तपाईँलाई थाहा छँदै छ । तपाईंको विचारमा यो किन भइरहेको छ ? सामधान के हुन सक्ला ?
दीक्षा भण्डारी: नेपाली गजलमा विवाद कतै छैन । विवाद गर्नकै लागि निकालिएका विवादको अर्थ छैन ।
निष्प्रभ सजीः गजलमा विवाद आवश्यक छैन । यसको समाधान सुन्दर गजल लेखन मात्र हो । विवाद नगर्नुस् । यसका साटो त्यो उर्जा सुन्दर गजल लेखनमा लगाउनुस् र लेखिरहनुहोस् । मेरो अनुरोध । गजलले आफ्नो बाटो आफैँ खोज्छ । नदीलाई कहाँ बाटो देखाउनु पर्छ र ?
सुनिता सापकोटा: विवाद गजलको क्षेत्रमा मात्रै नभएर जहाँ पनि हुन्छ । विवाद नभएको कुनै क्षेत्र नै हुँदैन । मानिसका मतका कारण नै विवाद सिर्जना भएका हुन्छन् । विवाद नगरेर गजलको विकास र विस्तारमा सबैजना लाग्नु राम्रो कुरा हो । विवादलाई अगाडि नबढाउन म गजल लेख्ने व्यक्तित्वहरूलाई आग्रह गर्न चाहन्छु । साहित्य भनेको समाजको ऐना हो, त्यसैले हामीले विवाद गर्नु समाधान होइन बरू विवाद समस्या हुनसक्छ । त्यसैले विवादको कारण पहिचान गरेर सबैको मतलाई समेटेर अगाडि बढ्न सकियो भने केही हदसम्म विवाद कम हुनसक्छ ।
…
५. पछिल्लो समयमा प्रविधिका माध्यमबाट गजल, कविता तथा समग्र साहित्यले नै आफ्नो क्षेत्र फराकिलो बनाउँदै गइरहेको देखिन्छ । तपाईँले चाहिँ गजलमार्फत के कसरी यसको (समाजिक सञ्जाल, युट्युब, टिकटक) को प्रयोग गरिरहनुभएको छ ?
दीक्षा भण्डारी: साहित्यका अन्य विधाको दाँजोमा कविता र गजलले सामाजिक सञ्जालमा आफ्नो स्थान जमाएको छ । म पनि गजलमार्फत आफ्ना कुराहरू राख्न सञ्जाल प्रयोग गरिरहेको छु ।
निष्प्रभ सजीः मैले कहिलेकाहीँ गजल वाचन गरेर टिकटिक र अन्य प्लाटफर्म राख्न थालेको छु । यसले कहिल्यै नजोडिएको श्रोतासँग जोड्दो रहेछ । बहसको माध्यम पनि बन्दो रहेछ । मैले यो अनुभवलाई सकारात्मक र उर्जाशील मानिरहेको छु ।
सुनिता सापकोटा: हो, पछिल्लो समय प्रविधिले नेपाली साहित्यको क्षेत्रलाई फराकिलो बनाउने काम गरेको छ । यो राम्रो पक्ष हो । मैले पनि आफ्ना केही गजलहरू सामाजिक सन्जालमा राख्दै आएकी छु । यसबाट पाठकले सजिलोसँग पढ्न र सुन्न सक्नुहुन्छ । सामाजिक सञ्जाल लेखक र पाठकको दैनिक भेटघाटको माध्यम पनि बनेको छ ।

