काठमाडौं । ICT Foundation Nepal ले Google LLC र Merojob Limited सँगको सहकार्यमा ‘गुगल करियर प्रमाणपत्र छात्रवृत्ति कार्यक्रम २०२६’ का लागि आवेदन खुला गरेको छ ।
सूचना प्रविधि तथा प्रविधिसम्बद्ध क्षेत्रमा सीप अभिवृद्धि गर्न इच्छुक नेपालीहरूलाई लक्षित गर्दै सुरु गरिएको यस कार्यक्रमअन्तर्गत देशभरिका योग्य उम्मेदवारका लागि ५ सय वटा पूर्ण छात्रवृत्ति सिट उपलब्ध गराइनेछन् । कार्यक्रममा सहभागी हुन पूर्वअनुभव अनिवार्य नरहेको आयोजकले जनाएको छ ।
यो पहल Coursera मार्फत उपलब्ध गराइने गुगलद्वारा डिजाइन गरिएका व्यावसायिक तालिमहरूमा आधारित हुनेछ । स्थानीय समन्वय तथा सहजीकरण ICT Foundation Nepal र Merojob Limited ले गर्नेछन् ।
कार्यक्रमले सहभागीहरूलाई लचिलो, मार्गनिर्देशित तथा करियरमुखी सिकाइ अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । विशेषगरी विद्यार्थी, हालै स्नातक पूरा गरेका युवा, कार्यरत पेशेवर, महिला, पिछडिएका तथा जोखिममा रहेका समुदायका व्यक्ति र करियर परिवर्तन गर्न चाहनेहरूलाई यसबाट लाभ पुग्ने अपेक्षा गरिएको छ ।
उपलब्ध पाठ्यक्रमहरूमा साइबर सुरक्षा, डाटा एनालिटिक्स, डिजिटल मार्केटिङ तथा ई–कमर्स, आईटी सपोर्ट, परियोजना व्यवस्थापन, यूएक्स डिजाइन, आईटी अटोमेसन विथ पाइथन, एडभान्स्ड डाटा एनालिटिक्स, बिजनेस इन्टेलिजेन्स तथा एआईसम्बन्धी विभिन्न कोर्सहरू समावेश छन् । प्रत्येक पाठ्यक्रम पूरा गर्न ३ देखि ६ महिनासम्म लाग्नेछ र अनबोर्डिङ भएको ६ महिनाभित्र पूरा गर्नुपर्नेछ ।
सहभागीहरूले एक वा एकभन्दा बढी पाठ्यक्रममा भर्ना हुन सक्नेछन् । तर, आवश्यक समय, प्रतिबद्धता र निरन्तरता कायम गर्नुपर्नेछ । ६० दिनभन्दा बढी निष्क्रिय रहने सहभागीको छात्रवृत्ति रद्द गरी अन्य उम्मेदवारलाई प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न मासिक प्रगति अनुगमन गरिनेछ भने कम्तीमा ७० प्रतिशत कार्यक्रम पूरा गर्ने अपेक्षा राखिएको छ ।
आवेदन २२ अप्रिल २०२६ देखि खुला भएको छ र अन्तिम मिति ३१ मे २०२६ तोकिएको छ । इच्छुक उम्मेदवारहरूलाई समयमै आवेदन दिन आयोजकले आग्रह गरेको छ ।

