साहित्यपोस्ट डट कम

गोकुल जोशीको ९७औँ जयन्तीमा मोहनविक्रम सिंह सम्मानित

गोकुल जोशीको ९७औँ जयन्तीमा मोहनविक्रम सिंह सम्मानित

पोखरा । २०४९ सालमा स्थापित गण्डकी साहित्य सङ्गम, पोखराले क्रान्तिद्रष्टा कवि गोकुल जोशीको ९७औँ जयन्ती विविध कार्यक्रमका साथ मनाउँदै २०८२ सालको ‘गोकुल वाङ्मय पुरस्कार’द्वारा साहित्यकार तथा समालोचक मोहनविक्रम सिंहलाई सम्मान गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व ‘मोहनविक्रम सिंह’ले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै गोकुल जोशीलाई नेपालको प्रगतिशील साहित्यका महान् विभूति भएको उल्लेख गर्नुभयो । उहाँले जोशीका रचनामा जीवनदर्शन र क्रान्तिको उद्घोष पाइने बताउँदै साहित्यमार्फत समाज परिवर्तनको सन्देश दिने उहाँको योगदान स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रतिभा छनौट समितिका सदस्य प्रा.डा. यदुनन्दन उपाध्यायले मोहनविक्रम सिंहको साहित्यिक योगदानमाथि प्रकाश पार्नुभएको थियो । साथै ‘गोकुल जोशी’को जीवन, व्यक्तित्व र कृतित्वबारे डा. कृष्णराज अधिकारी, रामराज रेग्मी, रघुनाथ अधिकारी, चन्द्रप्रकाश बानियाँ, शङ्कर बराल, झलकपाणि तिवारी, डा. बुद्धिबहादुर थापा, नुमराज बराल लगायतले विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा गण्डकी साहित्य सङ्गमको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’ पूर्णाङ्क–२२ को लोकार्पणसमेत गरिएको थियो । प्रकाशित कृतिमाथि समीक्षक राजेन्द्र पौडेलले टिप्पणी गर्नुभएको थियो ।

विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, साहित्यकार र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष पद्मराज ढकालको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको अध्यक्षता भीम रानाभाटले गर्नुभएको थियो भने सञ्चालन सचिव नारायण मरासिनीले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.