नेपाली साहित्यमा सानु लामाको नाम आदरका साथ लिइन्छ । उनको जन्म सन् १९३९ मा गान्तोकमा भएको हो । उनले अभियान्त्रिकी अध्ययन गरेर सिक्किमको विकास कार्यमा सक्रिय रूपमा रही काम गरेका थिए । उनी एक कुशल कथाकार, गीतकार र नियात्रा लेखक हुन् । हालसम्म उनका ‘कथा सम्पद्’, ‘गोजिका’, ‘मृगतृष्णा’, ‘सूर्यको तेस्रो किरण’, ‘आँगन परतिर’, ‘जोसमणि सन्त परम्परा अनि साहित्य’,‘जहाँ बग्छ टिस्टा रङ्गीत’, ‘भगवान् बुद्ध : जीवन अनि दर्शन’ (अनुवाद),‘गुरू पद्मसम्भव साधन’ (अनुवाद), ‘हिमालचुली मन्तिर’ प्रकाशित पाइन्छन् । उनको सबैभन्दा प्रखर व्यक्तित्व कथाकार नै हो । उनका कथाहरूमा विभिन्न विशेषता छन् ।
गीतको उद्गमस्थल नै हृदय हो । हृदयमा उब्जिएका रागभावहरूलाई शब्दमा अभिव्यक्त गर्नु नै गीतको निर्माण हो । यो हृदयमा नै सिर्जित हुन्छ भने यसलाई हृदयले नै ग्रहण गर्छ । आफ्ना हृदयका सुमधुर र सुकोमल भावनाहरू विभिन्न रागात्मक अनुभूतिले उद्दीपित भएर लयात्मक रूपमा प्रकट हुनु नै गीतको सिर्जना हुनु हो । यसमा व्यक्तिको तीव्र अनुभूतिको अभिव्यक्ति हुन्छ । यसमा एउटै भाव वा विचारको विशेष प्रस्तुति हुन्छ । यसैगरी गीतमा एकोन्मुखताको निर्वाह हुनाले संक्षिप्तता हुन्छ । लयको सिर्जनाको लागि शब्द र ध्वनिको संयोजनमा निर्भर रहन्छ । यसमा एकजना सम्बोधक अर्को सम्बोधित र तेस्रो चाहिँ अन्य विषय हुन्छ । गीतलाई एक्लै, युगल र समूह गरी तीन प्रकारले गाउन सकिन्छ ।
गीतमा मानसिक अवस्थाको तीव्र अभिव्यक्ति हुन्छ । गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, गेयात्मकता, सङ्गीतात्मकता, भावुकता, दृष्टिविन्दु, भाषा, शैली, अलङ्कार जस्ता तत्त्वहरू हुन्छन् । त्यसैगरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधूर्य, वैयक्तिक, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादिजस्ता विशेषता रहेका हुन्छन् । गीतमा कोमल र मधुर शब्दहरूबाट मानिसका मर्म खोतल्न सक्ने सामर्थ्य हुन्छ । मानिसको जीवनमा खुशी र दुःखका अनेक कारण हुन्छन् । यस्ता खुशी र दुःखलाई गीतले सही अभिव्यक्ति दिन सक्छ भन्ने आम धारणा छ ।
गीत एउटा छुट्टै विधा हो कि उपविधा हो भन्ने कुरामा कहिलेकाँही तर्क उठ्ने गर्छ । यदि गीतलाई कविता सरह सामान्य रूपमा लेखियो वा प्रकाशितसम्म मात्र भए त्यसलाई कविताको उपविधामा राख्न सकिन्छ तर त्यही गीतलाई सङ्गीत भरेर, साजको धुनहरूले सजाएर गायन गरेर श्रोतासामु पस्किए गीत एउटा पूर्णाङ्गी विधा हुन्छ । साहित्यमा कवितारूपी वंशको ठुलो परिवार देखिन्छ । साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ ।
एक हरफेदेखि लिएर लाखौँ हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन् । कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ । कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, गजल आदि उपविधाका रूपमा रहेका छन् । कविता विधाभित्रको एउटा उपविधाका रूपमा रहेको गीत खुबै लोकप्रिय देखिन्छ । यो कोमल अनुभूतिहरूका लयात्मक अभिव्यक्ति हो । गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् । यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ । गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ । गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ । यहाँ गीतको गायन र वाद्य-वादन पक्षलाई नछोई लेखन पक्षमाथि मात्र अध्ययन प्रस्तुत गरिन्छ ।
गीतका शब्दहरू प्रायः गहिरा व्यक्तिगत भावनाहरू जस्तै प्रेम, वियोग वा आत्मपरक चिन्तनमा आधारित हुन्छन् र प्रायः पहिलो पुरुष (म) मा व्यक्त गरिन्छन् । यसमा दृष्टि, ध्वनि, गन्ध जस्ता इन्द्रियजन्य सूक्ष्म विवरणहरूको प्रयोग गरेर श्रोतालाई स्पष्ट मानसिक चित्र दिइने गरिन्छ जसले अमूर्त भावनाहरूलाई मूर्त बनाउने स्पष्ट दृश्यात्मकता रहेको हुन्छ । शब्दहरूको बहाव र ताल जसले संगीतबिना पनि काव्यात्मकता सिर्जना गर्छ र गीतलाई लयबद्ध बनाउँछ । यसमा पूर्ण वा आंशिक तुकहरूको प्रयोग गरेर गीतलाई सुसंगठित र स्मरणीय संरचना बनाइन्छ । गीतमा एउटा यादगार वाक्यांश वा मुख्य विषय (प्रायः कोरसमा) हुन्छ जसले गीतको भाव निर्धारण गर्छ र श्रोतालाई आकर्षित राख्छ । गी
तमा परम्परागत अभिव्यक्तिहरूभन्दा फरक, नयाँ उपमा वा अप्रत्याशित विषयगत मोडमार्फत् श्रोताको आकर्षित तुल्याउँछ । गीतमा गेयात्मकता र काव्यात्मकता- गीतमा गेयात्मकता हुनुपर्छ । यो नभए गीत बन्दैन । गीतमा गहन अर्थ र सुन्दर र कोमल भाव हुनपर्छ । गीतमा भावप्रवणता, वैयक्तिक, गेयता, लय र ताल, अन्तरा, मुखड़ा, धुन, विषयवस्तु वा अवधारणा आदि तत्व हुन्छन् । यसरी गीतमा आन्तरिक मर्म, अनुभूति, विविध काल्पनिकता, छन्द र लय, लयन्विति, आकस्मिक अनुभूतिको प्रस्तुति आदिले गीतलाई विशिष्ट रचना बनाउँछन् ।
गीतकार सानु लामा
एक सफल कथाकार सानु लामा एक कुशल गीतकार पनि हुन् । सिक्किमको पहिलो राष्ट्रगीत ‘जहाँ बग्छ टिस्टा रङ्गीत’ लामाको नै रहेको थियो । नेपाली साङ्गीतिक जगतमा उनका गीतहरू निकै लोकप्रिय रहेका थिए । त्यसमध्ये बालापनको आँगन त्यागेर जस्ता गीत गाउँ-घरमा निकै प्रशारण हुने गर्थ्यो । उनका अधिकांश गीतहरूमा सङ्गीत दुष्यन्त लामा, शान्ति ठटाल, मधसूदन लामा, जस चामलिङ, श्याम लामा आदिले दिएका छन् । त्यसमा पनि दुष्यन्त लामाको संगीत संयोजनमा लामा खुबै लोकप्रिय बनेका हुन् ।
उनको गीतसङ्ग्रह ‘जहाँ बग्छ टिस्टा रङ्गीत’ प्रथम संस्करण २००० सालमा र दोस्रो संवर्द्धित भने २०२० प्रकाशित भएको छ । यस गीतसङ्ग्रहभित्र उनका प्रायः जसो गीतहरू सङ्कलित भएको छ भन्ने अनुमान गर्न सकिन्छ । यसमा रहेका अधिकांश गीतहरू रेकर्डिङ भएको पनि अनुमान गर्न सकिन्छ । यस गीतसङ्ग्रहको अध्ययन गर्दा सानु लामा एक सचेत गीत रचनाकार हुन् भन्ने जान्न सकिन्छ । सिक्किमको भूमिमा रहेर त्यहाँको सुन्दर प्राकृतिक जीवनको उच्छवास, सिकिमेली जनजीवनका सुख- दुःखका अनुभूतिलाई गीतमा उतारेका छन् । उनी गीतमा हुनुपर्ने मानवीय अनुभूतिको कलापूर्वक प्रस्तुत गरेका छन् । गीतमा हुनुपर्ने गेयात्मक, लयात्मक, एकोन्मुख, मधुर उनका गीतहरूमा पाइन्छन् । कविताभन्दा गीत अझै मिहिन र परिशोधित रूपमा सिर्जित हुन्छ । उनका गीतहरू हार्दिकता, शब्दार्थ संयोजन, वर्ण संयोजन र छनौट आदिले गर्दा श्रुतिमधुर बनेका छन् । उनका गीतका प्रत्येक पङ्क्तिमा आउने अक्षरको संयोजन तथा मात्रा, लय, सुर, ताल, बलाघात आदिको सहयोगद्वारा मधुर लय सञ्चार गरिएको पाइन्छ ।
समग्रमा लामाको गीतसङ्ग्रह ‘जहाँ बग्छ टिस्टा रङ्गीत’मा जम्मा अठसट्टीवटा रहेका छन् । यसभित्र रहेका गीतहरूको अध्ययन गर्दा प्रेमका विभिन्न रुमानी भाव र मानवीय भावसँगको तादात्मकता, आशावादी स्वर, लोकतत्त्वको आंशिक प्रयोग, ग्रामीण लोकबिम्वको प्रयोग, वैयक्तिक अनुभूतिको साधारणीकरण, अनेकार्थकता, बौद्धदर्शन, प्रेमका विभिन्न रूपको वर्णन र शाश्वत प्रेमको पक्षधर, जातीय अस्तित्व चेतना, लोकगीतको सिर्जना जस्ता भावहरू देखा पर्छन् ।
गीतभित्र कथायिका कतै आनन्दानुभूति, वैराग्यानुभूति, बिलौना र प्रेमालाप गर्छ । उनका गीतमा गाइनका निम्ति चाहिने ध्वनि, शब्द र भावका लयको प्राधान्य, कोमल वर्ण प्रयोग र कठोर वर्णको त्याग, आनुप्रासिक आनुषाङ्गिकता जस्ता तत्वहरू उनका गीतमा पाइन्छन् । शब्दहरू सिपालु शिल्पीले इँटा जोडेजस्ता समाक्षरका छन् । तिनमा रहेका विषयवस्तुलाई राम्रोसँग अध्ययन निरीक्षण गर्दा मूलतः सातवटा विषयवस्तुमा वर्गीकरण गर्न सकिन्छ । मातृभूमि प्रेम, जाति-भाषा संस्कृति प्रेम, नरनारीका विभिन्न प्रेमानुराग, रूप सौन्दर्यको वर्णन, प्रकृतिप्रेम र लोकचेतना । गीतकारलाई आफ्नो मातृभूमि सिक्किमको धेरै माया छ, यहाँका नदीहरू टिस्टा रङ्गीत हिमाल पहाड सबैप्रति गहिरो अनुराग छ, सिक्किमको सौन्दर्यप्रति गौरव अनुभव गर्दछन्-
जहाँ बग्छ टिस्टा रङ्गीत
जहाँ कञ्चनजङ्गा असीम
यही हो हाम्रो धानको देश
तपोवन हो प्यारो सिक्किम ।
उनका निम्ति सिक्किम सबैभन्दा प्यारो छ, सुरम्य छ । सिक्किम र सिक्किमे जनताप्रति उनी गौरवशाली छन् । यो इन्द्रकील हो, यसको मुकुट कञ्चनजङ्गा हो, यसका गलाबाट टिस्टा रङ्गीत बग्छन् ।
बालापनको आँगन त्यागेर गीतमा नारी पीडाको चरम अवस्थाको चित्रण पाइन्छ । एउटी नारी बिहा भएर जन्मेको घरबाट बाबु आमादेखि टाडिएर टाढा जानुपर्ने बाध्यतालाई यस गीतले सङ्केत गरेको छ । अझ त्यहीमाथि पहिलेको जमानामा, बालविवाह, बहुविवाह, अनमेल विवाह, कढा बुहार्तन आदि प्रथाले गर्दा नारीहरूको बिजोक हुन्थ्यो । सानी केटीलाई बिहा गरेर पराय घरमा जानुपर्दाको मर्मलाई गीतले समातेको छ-
बालपनको आँगन त्यागेर,
खोला नाला काटेर
आउनु पर्यो नौलो घरको सँघार ।
झलझली देख्छु अझै म,
बाबु माइती रोएर
हाँसी हाँसी बिदा गरेको ।
साथीसँगीहरूसित पँधेरा गएर गाग्रीमा पानी भर्ने गरेको सम्झना छ अनि जुन आँगनमा नाचेको खेलेको ज्यही आँगनबाट विदा दिएको चरम मार्मिक भावलाई गीतमा प्रस्तुत गरिएको छ ।
सानु लामाका गीतमा जीवन दर्शन प्रशस्त पाइन्छन् । यसमा पनि बौद्ध दर्शनले ओतप्रोत भएको पाइन्छ । जीवनको क्षणभङ्गुरतालाई यसरी अभिव्यक्ति देखा छन्-
पातमाथि अल्झेको शीतले बिहानीलाई नजाउ भन्छ,
बसन्ती फूलले रोएर शिशिरलाई न आउ भन्छ ।
विश्वास नगर जिन्दगीको
माटोको हो माटै हुन्छ
साथ नखोज बटुवाको
भोलि बाटो बिर्सिदिन्छ ।
गीतको लयान्विती, सुमधुरता आदिका दृष्टिकोणले सानु लामाका गीतहरू अब्बल हुन् । मनमा स्वतः उब्जेका कोमल भावतरङ्ग, प्रेमका विभिन्न अनुराग, आफ्नो वरिपरिको प्राकृतिक परिवेशको सौन्दर्य हिमाल पहाड देखेर मनमा खिलेका भावुकतालाई शब्द दिएर उतारेका छन् ।
समग्रमा सिक्किमको डाँढा-काँढा, हरियालीको चित्रण, मानवीय संवेदनाका तरङ्ग, प्रेमका विभिन्न उच्छवास्, मनमा उठेका तरङ्ग र ज्वारभाटा, जातिप्रेम, भाषाप्रेम, मातृभूमि प्रेम आदिलाई आफ्ना गीतका वर्ण्य वस्तु बनाएका सानु लामाका प्रत्येक गीतमा गेयता, कोमलता, सुष्ठुता, सरलता पाइन्छन् । यसका साथै उनका गीतमा जीवनबोध, बौद्ध दर्शन, जीवन अनुभव, हृदयको सौन्दर्यलाई गीतको माध्यमबाट अभिव्यक्ति दिइएको छ । उनको गीतमा पर्यावरण चेतना पनि पाइन्छ ।

