मुस्ताङ । पर्यटन साहित्य यात्रामार्फत घरपझोङ गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘घरपझोङ काव्ययात्रा–२०८३’ सम्पन्न भएको छ । काव्ययात्राको समापन अवसरमा परम्परागत सीप र श्रमलाई निरन्तरता दिँदै आएका तीन जना श्रमजीवी ‘भुइँमान्छे’लाई सम्मान गरिएको छ ।
जोमसोमस्थित घरपझोङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा चिमाङ गाउँका ७५ वर्षीय आरन व्यवसायी साइला विक, जोमसोमकी ६२ वर्षीया परम्परागत सिलाइ व्यवसायी कुमारी नेपाली तथा स्याङ गाउँका ७२ वर्षीय काष्ठकलाका साधक मनप्रसाद विकलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले सम्मानपत्र प्रदान गर्नुभयो । गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले नगद तथा उपाध्यक्ष जमुना थकाली थापामगरले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
सम्मानित साइला विकले विगत छ दशकदेखि थकाली समुदायका लागि आवश्यक तामा र फलामका भाँडावर्तन तथा औजार निर्माण गर्दै आउनुभएको छ । मनप्रसाद विक पाँच दशकभन्दा बढी समयदेखि काष्ठकलामा सक्रिय हुनुहुन्छ भने कुमारी नेपालीले चार दशकभन्दा लामो समयदेखि परम्परागत सिलाइ–कटाइ व्यवसायमार्फत समाजको सेवा गर्दै आउनुभएको छ ।
काव्ययात्राका संयोजक तथा पर्यटन पत्रकार अमृत भादगाउँलेले परम्परागत सीप जोगाउँदै गाउँलाई जीवन्त बनाइरहेका श्रमजीवीहरूको सम्मान गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताउनुभयो ।
कार्यक्रमको प्रारम्भमा घरपझोङ गाउँपालिकाको पर्यटकीय परिचय समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यसपछि ‘जलवायु परिवर्तनले हिमाली जिल्ला मुस्ताङको कृषि, पर्यटन र जनजीवनमा पारेको प्रभाव’ विषयमा विमर्श आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली थापामगरसँग कवि भूपिनले संवाद सहजीकरण गर्नुभएको थियो । छलफलमा जलवायु परिवर्तनले हिमाली जीवन र पर्यटन क्षेत्रमा पारेको प्रभावबारे विचार आदानप्रदान गरिएको थियो ।
दोस्रो चरणमा काव्ययात्रीहरूले आफ्ना कविता वाचन गर्नुभएकाे थियाे। कार्यक्रममा जोमसोमका पत्रकार भीमबहादुर रसाइली र जनहित माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कर्णबहादुर थकालीले पनि कविता वाचन गर्नुभएको थियो । नागरिक अगुवा चन्द्रबहादुर थकालीले जोमसोमको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो ।
काव्ययात्राका क्रममा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले जनहित माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूसँग मिलेर राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी’ गाउनुभएको थियो । उहाँले जोमसोमस्थित गुम्बाका विद्यार्थी तथा मार्फाका स्थानीयसँग पनि राष्ट्रिय गान गाउनुभएको थियो । साथै विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित भई असल नागरिक बन्न प्रेरित गर्नुभएको थियो ।
कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा समावेश ‘आमाको तस्बिर’ कविताका स्रष्टा कवि भूपिनले पनि जनहित माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग साहित्यिक अन्तरक्रिया गर्नुभएको थियो ।
घरपझोङ गाउँपालिकाको आयोजना तथा काठमाडौंस्थित कन्सेप्ट नेपालको संयोजनमा सम्पन्न काव्ययात्रामा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, शिव प्रकाश, सागर उदास, लक्ष्मण थापा, प्रगति राई, अनुपम रोशी, सुमन थापा ‘सङ्गम’, कल्पना ‘पलक’, दीपेन्द्रसिंह थापा, बाल्कुराम पुन, घनश्याम पौडेल, राजकुमार गजुरेल र अमृत भादगाउँलेसहित १५ जना स्रष्टाको सहभागिता रहेको थियो ।
असार १३ गते मार्फा पुगेका काव्ययात्रीहरूले असार १६ गतेसम्म मार्फा, छैरो, चिमाङ, ढुम्बाताल, ठिनी, जोमसोम, स्याङ, कागबेनी र मुक्तिनाथलगायतका पर्यटकीय तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्नुभएकाे थियाे।
राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले मुस्ताङको प्राकृतिक सौन्दर्य, थकाली संस्कृति र स्थानीयवासीको आत्मीयताले आफूलाई भावुक बनाएको बताउँदै पर्यटन नै घरपझोङ गाउँपालिकाको आर्थिक मेरुदण्ड बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
काव्ययात्रामा सहभागी स्रष्टाहरूले आफ्नो यात्रा अनुभवलाई संस्मरणका रूपमा विभिन्न सञ्चारमाध्यममा प्रकाशन गर्नेछन् । ती सबै सामग्री सङ्कलन गरी पुस्तक तथा वृत्तचित्र तयार गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।

