काठमाडौँ । जर्मनीस्थित हाइडेलबर्ग विश्वविद्यालयले नेपालका दुर्लभ तथा ऐतिहासिक महत्त्वका ८ सय भन्दा बढी पाण्डुलिपिहरू नेपाल सरकारलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ । बर्लिनस्थित नेपाली दूतावास र विश्वविद्यालयबीच विशेष समारोहकाबीच हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
‘वाल्टर रिन्डफ्लीश संकलन’ नामले चिनिने उक्त संग्रहमा १३औँदेखि २०औँ शताब्दीसम्मका सामग्री समेटिएका छन् । यसमा ४ सय ६० वटा ताडपत्रमा लेखिएका पाण्डुलिपि मुख्य आकर्षणका रूपमा रहेका छन्, जसमा संस्कृत तथा नेपाल भाषामा भुजिमोल लिपि प्रयोग गरिएको छ ।
संकलनमा ऐतिहासिक सनद, लालमोहर, अदालती अभिलेख, तन्त्रशास्त्र तथा आयुर्वेदसम्बन्धी ग्रन्थ, पुराना यात्रा डायरी र चिठ्ठीपत्रहरू पनि समावेश छन् । केही अभिलेखहरूले तत्कालीन नेपालको कानुनी व्यवस्था झल्काउने तथ्यहरू प्रस्तुत गर्छन्, जसमा जग्गा अतिक्रमण गर्नेलाई दण्डित गर्ने प्रावधानसमेत उल्लेख गरिएको पाइएको छ ।
यी सामग्री एक निजी जर्मन संकलकमार्फत एक्सेल माइकल्सलाई सुम्पिएकाे थियाे, जसले नेपाल फिर्ता गर्ने शर्त राख्नुभएकाे थियाे । विश्वविद्यालयले पाण्डुलिपिहरू नेपाल पठाउनु अघि वैज्ञानिक संरक्षण, सूचीकरण र डिजिटलीकरणसमेत सम्पन्न गरिसकेको जनाएको छ ।
समारोहमा नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले यस कदमले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयाे । त्यस्तै विश्वविद्यालयका उपकुलपति मार्क-फिलिप वेलरलले अन्तर्राष्ट्रिय सहकार्यमार्फत सांस्कृतिक सम्पत्तिको संरक्षणको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभयाे ।
पाण्डुलिपिहरू छिट्टै नेपाल ल्याइनेछन् र राष्ट्रिय अभिलेखालय वा पुरातत्व विभागमार्फत संरक्षण तथा अध्ययनका लागि राखिने जनाइएको छ ।
यस घटनालाई नेपालको हराउँदै गएका ऐतिहासिक धरोहर पुनः स्वदेश फर्काउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

