हिजो (असार १७, २०८३) मात्र ओम अस्पतालको आई.सी.यु.मा जीवन मरणको दोसाँधमा श्वास-प्रश्वासको समस्याबाट संघर्षरत गीता केशरीलाई देखेपछि जीवनको शाश्वत सत्यका अगाडि निहुरिँदै मौन दुई हाथ जोडेर नमस्कार गर्दै कोठाबाट बाहिर निस्किएकी थिएँ । मन भारी थियो, सँगै बिताएका क्षण, दिन, वर्ष, कार्यक्रमहरू सबैको घेराबन्दीमा रात पनि अनिंदो नै रह्यो ।
आज बिहान (असार १८) गीता केशरीको निधनको खबरले स्तब्ध भएँ । अन्तिम दर्शनका लागि हिजो कुन शक्तिबाट प्रेरित भएर म अस्पताल पुगें, किनकि जीवनको उत्तरार्धमा आठ दशकको यात्रामा मेरो जीवन ऊर्जा पनि क्रमशः निस्तेज हुँदै गइरहेछ ।
लामो श्वास फेर्दछु । तीन महीना अगाडिको कुरा हो । बिरामी गीता केशरीलाई घरमा भेट्न जाँदा मलाई देखेर उहाँको अनुहारमा आएको खुशीको चमकले म पनि प्रफुल्लित भएकी थिएँ । स्वास्थ्य राम्रै रहेछ भन्ठानेकी थिएँ । मैले केही स्याउका दाना लगेकी थिएँ । मैले भनें, "हतारमा केही ल्याउन पाइनँ ।"
"किन केही ल्याउनु पर्यो ? तपाईँले माया लिएर आउनु भएको छ", उहाँले मुस्कुराउँदै भन्नुभयो ।
उहाँले त्यस बखत भनेका ती शब्दहरू अहिले पनि मेरो कानमा गुन्जिरहेछ । दिदी, सम्बोधन गर्दछु - तपाईँसँगको त्यो माया नै हो जसले मलाई दुई शब्द श्रद्धाञ्जलीका लेख्न प्रेरित गरिरहेछ ।
गीता केशरी आबद्ध साहित्यिक संस्था गुञ्जनको लामो इतिहास बनिसकेको छ । साहित्यकार पद्मावती सिंहको अध्यक्षतामा बाह्र जना नारी स्रष्टाहरूको सक्रियताबाट वि.स. २०५४ मा गुञ्जन नारी साहित्यकार संस्थाको स्थापना भएको थियो । गीता केशरी दोस्रो कार्यकालमा अध्यक्ष भएपछि धेरै कार्यहरू सम्पन्न भए । साहित्य अनुरागी गीता केशरी स्वयम् स्रष्टा र द्रष्टा हुनुहुन्थ्यो । उहाँ शालीन, कर्तव्यनिष्ठ र जीवनका आरोह अवरोहसँग संघर्ष गर्दै, पतिको निधनपछि पारिवारिक बोझ सम्हाल्दै विभिन्न संघ संस्था, जस्तो: नेपाल एयरलाइन्स, सिंगापुर एयरलाइन्स, सदस्य सचिव भई नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहँदा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्नुभयो । संवेदनशील महिलाका रूपमा उहाँका भावना आफ्ना उपन्यासहरूमा उजागर हुँदै गए । प्रचारप्रसारको लालसाबाट मुक्त रहेर अनवरत लेखिरहने, पढिरहने एउटा साधकका रूपमा मैले गीता केशरीलाई पाएँ । कामकाजी एउटी व्यस्त महिलाले समय संयोजन कसरी गर्नुहुन्छ ?, प्रश्न म गरिरहन्थेँ । उहाँ मुस्कुराउँदै हिन्दी भाषाको एउटा उखान भन्नुहुन्थ्यो - बुझ्नु भो भुवनजी, जहाँ चाह वहाँ राह ।
मानिसमा रहेको इच्छा शक्तिले नै मानिसमा जोश, जाँगर, कर्तव्यनिष्ठ, जवाफदेही बनाउँछ । मलाई लाग्छ, साहित्यकार गीता केशरीका यही गुणहरूले जीवन्त गुञ्जन संस्था सदैव उहाँप्रति अनुगृहित रहिरहनेछ ।
संस्थापक सदस्य, साहित्यकार एवम् समालोचक ज्ञानु पाण्डेले गुञ्जनका लागि मूलमन्त्र जस्तै सिर्जित गरेको वाक्य हो, स्रष्टादेखि स्रष्टासम्म: सम्पर्कको निरन्तरता, सिर्जनामा जीवन्तताले । सम्पर्कको निरन्तरता, सिर्जनामा जीवन्तताले हामी सिर्जनामा लागेका सबै महिला साहित्यकारलाई जोडेको छ । गीता केशरीको अध्यक्ष्य कार्यकालको उपस्थिति र उहाँसँगको मेरो व्यक्तिगत सम्बन्ध भने, उहाँ मेरो लेखनको पाठक मात्र नभएर समालोचक जस्तै हुनुहुन्थ्यो । यो अभाव मेरो जीवनपर्यन्त मलाई खटकिनै रहनेछ ।
साहित्यकार केशरीका प्रकाशित कृतिहरूको सूची पनि मैले लेखमा संलग्न गरेकी छु । मलाई लाग्छ, ती कृतिहरू पढिदिएर साहित्य र साहित्यिक गतिविधिमा आफ्नो सम्पूर्ण जीवन अर्पित गर्ने एउटी संवेदनशील लेखकलाई साहित्य जगत्ले उचित सम्मान दिएको जस्तो हुनेछ । दिवंगत गीता केशरीमा हार्दिक श्रद्धाञ्जलि ।
साहित्यकार गीता केशरीका प्रकाशित कृति
उपन्यास
१. कसिंगर २०२४
२. सौगात २०४६ ८. खुला आकाश २०५४
३. आवाज २०४७
४. मुक्ति २०४८
५. खोज २०५०
६. अन्तिम निम्तो २०५१
७. विश्वास २०४२
८. खुला आकाश २०५४
९. नोकरी २०५५
१०. निष्कर्ष २०६०
११. बदलिंदो क्षितिज २०६६
१२. फक्रदो कोपिला २०६८
कथासङ्ग्रह
१. तरङ्ग २०५७
२. भुमरी २०५९
३. लहर २०६५

