माग्नेले केही पाउँदैन यहाँ, दिने नै उजाडिएपछि
रोएर मात्रै केही हुन्न यहाँ, रुने नै हाँसिदिएपछि ।
झरी पर्दाको छाता रहेछ, दुःख पर्दाको नाता
स्वार्थी यो दुनियाँमा, मेटिँदा रहेछन् सबै खाता ।
कोइलीले गीत गाउँदैन अब, रुखका पात झरेपछि
उषाले आँसु झार्दिनन् यहाँ, शीतका थोपा झरिदिएपछि
रोएर मात्रै केही हुन्न यहाँ, रुने नै हाँसिदिएपछि।
आकाश खुल्दा छाता ओभानो, सुख आउँदा नाता बेग्लै
आफ्नै भन्थेँ जसलाई मैले, आज म छु एक्लै-एक्लै ।
चरा आकाश उड्दैनन् अब, धर्तीमा साँझ परेपछि
बथानले सबै छोडेर गए, छहारी दिने रुख सुकेपछि
रोएर मात्रै केही हुन्न यहाँ, रुने नै हाँसिदिएपछि ।
चर्को बोली किन बोल्छन्, नशाले हो कि दशाले ?
टोलाएर हेर्ने किन होला, झोकले हो कि शोकले ?
जुनकिरीले बत्ती बाल्दैन, चारैतिर उज्यालो भएपछि
फर्केर कोही आउँदैन यहाँ, धरती छोडेर गएपछि
रोएर मात्रै केही हुन्न यहाँ, रुने नै हाँसिदिएपछि ।

