छैन आशा,
सधैँको तमासा, देशमा सधैँको तमासा ।
राजनीतिक खिचातानी, बिचौलिया हाबी
सायद विदेशतिर छ यो देशको रिमोट चाबी ।
हिजो सहयोग लिने मुलुक कहाँ पुगिसके
यो देशको नेतृत्वमा उल्टो सोचाइ छ के ?
छैन आशा…
युवाजति कि विदेश कि भेटिन्छन् जेलमा
सपना भो गर्ने रहर पूर्व-पश्चिम रेलमा ।
बेथिति छन्, नाघिसक्यो भ्रष्टाचारले सीमा
स्वास्थ्य, शिक्षा झन् महँगो, छैन राहत बिमा ।
छैन आशा…
प्राकृतिक सम्पदामा हुँदा पनि धनी
हिँड्नुपर्ने जनता सधैँ झन् निरीह बनी ।
रेमिट्यान्स बढेकामा नेता देख्छु दङ्ग
देश विकासको प्रष्ट नीति छैन कसैसँग ।
छैन आशा…
नातावाद, कृपावाद देखिन्छ सर्वत्र
विकासका आयोजना वर्षौँसम्म अलपत्र ।
महिनौँसम्म रिक्त हुन्छन् आयोगमा हस्ती
दिनानुदिन रित्तिँदै छन् हाम्रा गाउँबस्ती ।
छैन आशा…
आन्दोलन, बन्द हडताल बनिसक्यो रीति
लाजमर्दो देखिन्छ है परराष्ट्र नीति ।
गौरवपूर्ण सम्पदामा छिमेकीका आँखा
सीमा विवाद बल्झाउँछ, कहिले थुन्छ नाका ।
छैन आशा…
कालोबजारीले सेक्यो जनताको ढाड
वित्तीय अराजकताले बेरुजु पहाड ।
प्राकृतिक विपत्तिमा छैन द्रुत उद्धार
अति भयो कति सहनु, सधैँ हारमार ।
छैन आशा…
नीति बन्छ एउटा तर काम हुन्छ अर्को
साधारण नागरिकको पीडा झनै चर्को ।
देशका बारे जति सोच्यो उति पिर लाउँछ
मै हूँ भन्ने नेताको खै बुद्धि कहिले आउँछ ?
छैन आशा…
जे नाममा बेलाबेला फेरे नि व्यवस्था
फेरिएन जनताको बिग्रँदो अवस्था ।
अनेक पार्टी तिनका विचार नारामा सीमित
भोट हाल्ने बेला आँखा खोले होला जित ।
छैन आशा…
सक्षम मान्छे हटाउनलाई बुनिन्छ जाल अनेक
गद्दारी गर्ने नेता फाल्न होऊँ सचेत एक ।
कस्तो देशमा जन्मिएछु भन्ने सन्तान भए
सगौरव भन्न पाइयोस्— जय नेपाल, जय !
छैन आशा…

