मनको कुरा बुझाउँनै सक्दिनँ
उसैले आफैँ बुझे’नि हुन्थ्यो नि ।
आँखाको भाषा बुझ्छन् कि
आँखा सञ्जोगले नजर जुधे’नि हुन्थ्यो नि ।
बलियो उसको मनको ढोका
खोलेर भित्र म पसूँ कसरी ?
मनको दैलो उघारी आफैँ
उसैले भित्र थुने’नि हुन्थ्यो नि ।
यो मुटुभित्र उसकै छ चित्र
खोलेर छाती म देखाऊँ कसरी ?
थापेर कान छातीमा मेरो
उसैले धड्कन सुने’नि हुन्थ्यो नि ।
हजारौँ आँखा उसमाथि पर्दा
पीडाले जल्दै म बाँचूँ कसरी ?
मान्छेहरूको बीचमा आज मलाई
नै उसले चुने’नि हुन्थ्यो नि ।

