साहित्यपोस्ट डट कम

गीत: कोदो पेलेर के तेल आउँछ र !

गीत: कोदो पेलेर के तेल आउँछ र !

महिला : कोदो पेलेर के तेल आउँथ्यो र !

निर्मोहीले के माया लाउँथ्यो र !

माया धाई-धाई

नमिसाऊ मायाले कोदो तोरीलाई।

पुरुष : कोदो र तोरी उस्तै पो देखिन्छ

पोल्टो थाप्दा खल्तीको पोखिन्छ ।

माया लाई-लाई

चिन्नुपर्छ मायाले कोदो तोरीलाई।

महिला: नलगाउने पिरती तिमीले लाएपछि,

साँचो कुरा नभनी तिमी धाएपछि।

विश्वासमा सङ्कट त आइ नै रहन्छ

जिन्दगीमा नसोचेको कुरा भएपछि ।

माया धाई-धाई

नमिसाऊ मायाले कोदो तोरीलाई ।

पुरुष: लडाइँले हे माया वीरलाई चिनाउँछ

विपत्तिले हे माया साथीलाई चिनाउँछ।

झुटो हैन पिरती विश्वास गरिदेऊ

विश्वासले हे माया पिरती बसाउँछ।

माया लाई-लाई

चिन्नुपर्छ मायाले कोदो तोरीलाई।

महिला: पोखिरह माया तिमी, म उठाइरहन्छु

मेटिरह माया तिमी, म कोरिहन्छु ।

भनाइ र गराइमा कहिले हुन्छ एकै ?

गीत मिठो गाऊ तिमी, म सुनिरहन्छु ।

माया धाई-धाई

नमिसाऊ मायाले कोदो तोरीलाई।

पुरुष: चैन छैन निद्रा छैन, लामो-लामो रात

जिउँछु होला पाए तिम्रो सधैँ साथ ।

लामो यात्रा जीवनमा तिम्रै साथ हुँदा

लामो गन्थन नगर न, मिलिसक्यो बात ।

माया लाई-लाई

चिन्नुपर्छ मायाले कोदो तोरीलाई।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.