जहाँ रहोस् नेपाली, आफ्नो देश भुल्दैन
परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।
धेरै कुरा सिकाउलान्, सिक्नुपर्ने हामी हो
धेरै बाटो देखाउलान्, रोज्नुपर्ने हामी हो ।
जहाँ रहोस् नेपाली, आफ्नो भाषा भुल्दैन
परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।
आकाश–पाताल देखाउलान्, हिँड्नुपर्ने हामी हो
धेरै लोभ देखाउलान्, सोच्नुपर्ने हामी हो ।
जहाँ रहोस् नेपाली, आफ्नो संस्कार भुल्दैन
परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।
शिखर चढ्न उक्साउलान्, चढ्नुपर्ने हामी हो
कर्जा धेरै दिलाउलान्, तिर्नुपर्ने हामी हो ।
जहाँ रहोस् नेपाली, आफ्नो माटो भुल्दैन
परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।
जहाँ रहोस् नेपाली, आफ्नो भेष भुल्दैन
परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।
मनभित्रको देशप्रेम, कहिल्यै पनि मर्दैन
हाम्रो स्वाभिमानको झन्डा, कहिल्यै पनि झर्दैन ।

