साहित्यपोस्ट डट कम

गीत : हाम्रो ताल्चा खुल्दैन

गीत : हाम्रो ताल्चा खुल्दैन

जहाँ रहोस् नेपाली, आफ्नो देश भुल्दैन

परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।

धेरै कुरा सिकाउलान्, सिक्नुपर्ने हामी हो

धेरै बाटो देखाउलान्, रोज्नुपर्ने हामी हो ।

जहाँ रहोस् नेपाली, आफ्नो भाषा भुल्दैन

परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।

आकाश–पाताल देखाउलान्, हिँड्नुपर्ने हामी हो

धेरै लोभ देखाउलान्, सोच्नुपर्ने हामी हो ।

जहाँ रहोस् नेपाली, आफ्नो संस्कार भुल्दैन

परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।

शिखर चढ्न उक्साउलान्, चढ्नुपर्ने हामी हो

कर्जा धेरै दिलाउलान्, तिर्नुपर्ने हामी हो ।

जहाँ रहोस् नेपाली, आफ्नो माटो भुल्दैन

परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।

जहाँ रहोस् नेपाली, आफ्नो भेष भुल्दैन

परदेशीको चाबीले, हाम्रो ताल्चा खुल्दैन ।

मनभित्रको देशप्रेम, कहिल्यै पनि मर्दैन

हाम्रो स्वाभिमानको झन्डा, कहिल्यै पनि झर्दैन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.