साहित्यपोस्ट डट कम

गीत : दैलोमा गजबार लगाइदियौ

गीत : दैलोमा गजबार लगाइदियौ

मैले हिँड्ने बाटोभरि काँडेतार लगाइदियौ

मेरो खुसीको दैलोमा गजबार लगाइदियौ ।

खुल्न खोज्ने झ्यालहरू थुनिदियौ तिमीले

उज्यालोको किरण नै छेकिदियौ हत्केलाले ।

पर्खाल लगाउने तिम्रो बानी कहिले मेटिएला ?

जिन्दगीको सारलाई कसले बुझाइदेला ?

हाँसो बोकी आएको थिएँ, आँसु बगाइदियौ

मेरो जिन्दगीको दैलोमा गजबार लगाइदियौ ।

विश्वासका कुन्युहरू आफैँ किन जलायौ ?

नजिकिँदै थिएँ म त दूरी किन बढायौ ?

ताल्चा लगाउने तिम्रो बानी कहिले सुध्रिएला ?

साँचो माया के हो भनी कसले बुझाइदेला ?

फूल रोप्न आएको थिएँ, काँडा रोपिदियौ

मेरो जिन्दगीको दैलोमा गजबार लगाइदियौ ।

काँडेतार चिरेर म कहिले बाहिर निस्कुँला ?

पर्खालहरू हटेपछि कहिले म मुस्काउँला ?

आकाशको कालो बादल कहिले हराउला ?

बादल फाटी उज्यालाले कहिले चुमिदेला ?

मेरो सानो संसारलाई किन रित्तो बनाइदियौ ?

मेरो जिन्दगीको दैलोमा गजबार लगाइदियौ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.