साहित्यपोस्ट डट कम

गीत : वीरबलको खिचडी पाक्दैन

गीत : वीरबलको खिचडी पाक्दैन

नपर्ख है, वीरबलको खिचडी पाक्दैन

कुरी नबस, हुटिट्याउँले आकाश थाम्दैन ।

हार्नेको त यहाँ कतै कथा लेखिन्न

रित नै छ संसारको, सबै थोक भेटिन्न ।

रस मीठो उखुको, फल कतै देखिन्न

कथा लेख्ने कलमको आफ्नै व्यथा लेखिन्न ।

सुगन्ध छ चन्दनमा, फूल कतै देखिन्न

रित नै छ संसारको, सबै थोक भेटिन्न ।

चमक राम्रो सुनको, तर बास्ना आउँदैन

कस्तुरीले आफ्नै सुवास किन चिन्दैन ?

उज्यालो छर्ने दियोले आफ्नै मुनि देख्दैन

रित नै छ संसारको, हारको कथा लेखिन्न ।

पानी छ सागरमा, तिर्खा त्यसले मेटिन्न

अटल छ हिमाल, शिखरमा फल भेटिन्न ।

मान्छे चिन्न गाह्रो छ, अनुहारमा देखिन्न

रित नै हो संसारको, घाम र जूनसँगै भेटिन्न ।

रित नै छ संसारको, हारको कथा लेखिन्न

रित नै छ संसारको, सबै थोक भेटिन्न ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.