साहित्यपोस्ट डट कम

गीत : बद्लिँदैन सर्प कहिल्यै

गीत : बद्लिँदैन सर्प कहिल्यै

बद्लिँदैन सर्प कहिल्यै, फेरिँदैमा काँचुली

सानो हुँदैन हिमाल, पग्लिँदैमा हिमचुली

बगरमा भेट्दैमा, ढुङ्गा हुन्न देउता

बिनास्वार्थ मित्रता, भेटिँदैन एउटा

बदल्दैमा कपडा, साधु कहाँ बन्छ र ?

पखाल्दैमा तनले, मनको मैलो जान्छ र ?

फक्रिँदैमा फूल सबै, हुँदैनन् है चमेली

बद्लिँदैन सर्प कहिल्यै, फेरिँदैमा काँचुली

पिँजडाभित्र बस्दा, चरी खुसी हुँदैन

कर्मबिना भाग्यले, कोही सुखी हुँदैन

एक घुट्की पानीले, तिर्खा कहिल्यै मेटिन्न

सयौँ माइल दौडे पनि, क्षितिज कतै भेटिन्न

सम्झिँदैमा मात्रै त, काम हुन्न तामेली

बद्लिँदैन सर्प कहिल्यै, फेरिँदैमा काँचुली ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.