साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : अर्ति दिनु मान्नेलाई

गीत : अर्ति दिनु मान्नेलाई

अर्ति दिनु मान्नेलाई, काम दिनु जान्नेलाई
पगरी दिनु धान्नेलाई, सम्मान गरौँ मान्नेलाई
हिरा दिनु चिन्नेलाई, अर्ति दिनु मान्नेलाई ।

लोभ गरी भुईँको टिप्दा, खस्न सक्छ पोल्टाको
सोझो बाटो हिँड्ने गर्दा, चतुर लुट्छ सोल्टाको ।
काम गर्ने हनुमानले, पगरी दिन्छन् ढेडुलाई
धान खाने मुसाले, दोष दिन्छन् भ्यागुतालाई
हिरा दिनु चिन्नेलाई, अर्ति दिनु मान्नेलाई ।

मिहिनेत गर्ने जना एक, पदक थाप्ने अर्कै छ
पसिना बगाउनेको हात रित्तै, टाठाबाठाको रजगज छ ।
काम जति कालुलाई, मकै जति भालुलाई
बेँसी खेत खोलालाई, दोष जति भोलालाई
हिरा दिनु चिन्नेलाई, अर्ति दिनु मान्नेलाई ।

साँचो बोल्ने चढ्दा सुली, झुटले थप्छ फुली
सत्य यहाँ हार्छ सधैँ, झुटको हालीमुहाली ।
चौतारी जति चोरलाई, साधु जति खोरलाई
रोपी कागती सुन्तला खोज्ने, दोष जति रोप्नेलाई
हिरा दिनु चिन्नेलाई, अर्ति दिनु मान्नेलाई ।

विपन्नलाई छैन आय, निमुखालाई सधैँ अन्याय
कानुनको घना जङ्गलमा, हराउँछ सधैँ न्याय ।
बगर खनेर घर बनाउने, दोष जति खोलालाई
बिना कर्म फल खोज्ने, दोष जति भाग्यलाई
हिरा दिनु चिन्नेलाई, अर्ति दिनु मान्नेलाई ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.