कल्पनाको तिमीलाई
कस्तो साइनो लाउनु
खुलै हुन्छ मनको ढोका
आफ्नै सम्झी आउनू ।
भोगाइका तितामिठा
गीत गुनगुनाउँला
दुःख–पीडा बिर्सिएर
साथै मुस्कुराउँला ।
टाढा भए भूगोलमा
मनको नजिक आउनू
सम्बन्ध त बनाउँला
आफ्नै सम्झी आउनू ।
कति चर्को हुँदो रहेछ
मनभित्रको प्यास
अरूलाई पन्छाएर
दिएँ तिमीलाई बास ।
सँगै हिँड्ने छायालाई
कसो गरी पाउनु ?
जीवनका बात गरौँला
आफ्नै सम्झी आउनू ।

