विसं. २०५२ को तिहारको मौसम! अध्ययनको लागि बेलायत जाने दिनहरू नजिक–नजिक आइसकेका थिए । बैंक ब्यालेन्स, राष्ट्र बैंकको विदेशी मुद्रा सटहीको तजवीज र शिक्षा मन्त्रालयको स्वीकृति करिब–करिब अन्तिम समयतिर आइसकेको थियो । बेलायतको लन्डनस्थित एक प्रतिष्ठित अमेरिकी विद्यालयमा अंग्रेजी साहित्य र संरचनात्मक सोच विषयमा स्नातक तहको अध्ययनको भर्ना स्वीकृति भइसकेको थियो ।
लन्डनजस्तो शहरमा पुगेर त्यहाँको प्रतिष्ठित विश्वविद्यालयको शिक्षा र बेलायती जीवन प्राप्तिको सपनाका विविध उमङ्गले मनलाई उत्साहित र उद्वेलित बनाउँदै लगेको थियो । यद्यपि त्यतिखेर मैले ‘कामना’ र ‘साधना’ मासिकजस्ता प्रख्यात पत्रिकाहरूमा झन्डै २ वर्षजति उपसम्पादकको पदमा रही काम गरिसकेको थिएँ । त्यसअघि मैले ठमेलस्थित त्रिविवि सरस्वती क्याम्पसमा आईकमको अध्ययन गर्दाकै अवसरमा त्यतिखेरको चर्चित साप्ताहिक विमर्शमा सानै पदमा रहेर काम गर्ने अवसर मिलेको थियो, जहाँबाट मैले लेखन पत्रकारितामा दख्खलता हासिल गर्न पाएको थिएँ । श्रद्धेय साहित्यकार स्व. केशवराज पिँडाली, प्रधानसम्पादक हरिहर विरही, बद्री पौडेल, देवप्रकाश त्रिपाठी, इन्द्र श्रेष्ठ, चन्द्र भण्डारी आदिका टिममा काम गर्ने र पत्रकारिताको व्यावसायिकतामा क्षमता बढाउने तथा मुद्रण र छपाइसम्बन्धी कामहरूमा दक्षता लिने अवसर मिलेको थियो । तलब थियो मासिक रु. ९०० ।
कामनामा मित्र सहकर्मी रेशम विरहीले प्रकाशन समूहका अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठलाई ‘केही’ डाहिला कुरा लगाइदिएर उहाँ अलिक रिसाएझैँ लागेको थियो । यसै कारण उहाँलाई आफू नरम भएर, सल्लाहमै प्रकाशन समूहको उपसम्पादकको जागिर छोड्ने निर्णय गरेको थिएँ । र साप्ताहिक जनमञ्चमा संलग्न हुन पुगें, जबकि सो साप्ताहिकमा काम गर्ने नारायण वाग्ले लगायतका अधिकांश सहकर्मीहरू भर्खर स्थापना भएको थापाथलीस्थित कान्तिपुर दैनिकमा सगोल समाहित हुन पुगेका थिए । त्यसपछि मैले केही समयदेखि बन्द रहेको सार्थक मासिकलाई ब्युँताउने काममा दिनरातजस्तो खट्न थालिसकेको थिएँ, सम्पादकका रूपमा ।
त्यहाँ काम गरेको १–२ वर्षबीच बसन्तपुरको नौतले दरबार अगाडिको सुन्दर हरियो झ्याल भएको घर, त्यसको पहिलो तल्लामा मेरो आफ्नै कार्यालय स्थापित थियो । त्यहाँबाटै साहित्य, संस्कृति, कला र साहित्यका लागि ‘सम्पदा’ भन्ने पत्रिकाको सञ्चालन, सम्पादन र प्रकाशन गर्न थालिएको थियो । त्यतिबेलासम्म एप्पलका प्रारम्भिक Macintosh कम्प्युटरहरू नेपाल आइपुगिसकेका थिए । तिनमा एडोबका ग्राफिक्स सफ्टवेयर तथा QuarkXPress–२ जस्ता डेस्कटप पब्लिसिङ कार्यक्रम प्रयोग गरिन्थे । ती प्रविधि सिक्ने र त्यसमा काम गर्ने अवसर पाउनु त्यतिबेला पत्रकारिता तथा छपाइ–प्रकाशनको क्षेत्रमा आज कृत्रिम बुद्धिमत्ता (एआई) सँग काम गर्न पाएको अनुभवजत्तिकै रोमाञ्चक र युगान्तकारी लागेको थियो ।कतिपय दौंतरी, मित्र, पर्यवेक्षक, समीक्षक तथा पाठकहरूले ‘सम्पदा’ पत्रिकाको महत्त्व, सौन्दर्य तथा भूमिकालाई साह्रै सराहना गर्नुहुन्थ्यो । किनभने सम्पदाले विगतमा नगरिएका सम्पदा र संस्कृतिका बारेमा उच्चस्तरको लेखन, खोजपत्रकारिता, फोटोग्राफी र समाचार तथा रचना आदि प्रकाशन गर्ने गर्दथ्यो । त्यस पत्रिकामा तात्कालीन चर्चित साहित्यकार तथा राष्ट्रिय सभा सांसद स्व. जगदीश शमशेर राणा लगायत तात्कालीन मूर्धन्य तथा हस्ती लेखक, साहित्यकार र टिप्पणीकार आदिका लेख–रचना, टिप्पणी र विशेष आलेख, कविता, गीत–गजल आदिले साँच्चै नै देशभरिका पाठकलाई संस्कृति तथा सम्पदासम्बन्धी विषयमा उद्वेलित र खुसी बनाएका पाठकहरूबाट देशभरिबाट आउने प्रतिक्रिया, चिठी–टिप्पणी आदिबाट मैले थाहा पाउँथे ।
काठमाडौं वरपर रहेका विश्व सम्पदा सूचीका धरोहर मात्र नभई देशभरि रहेका सम्पदासम्बन्धित लेख, रचना, फिचर, अन्तर्वार्ता जस्ता चिरफारका विषयवस्तुका प्रस्तुति साँच्चै मेहनत गरेर गर्ने गरिन्थ्यो त्यसबेला । नेपालको भौगोलिक इतिवृत्तान्त पत्ता लगाएका, नेपाल र नेपालीलाई मनैदेखि माया गर्ने, नेपाल ताराबाट सम्मानित (हाल स्व.) टोनी हेगेनको एक अन्तर्वार्ता पनि सम्पदाका विशेष लेख–रचना र सामग्रीमध्ये एक हो भन्ने मलाई अहिले पनि लाग्दछ ।
चर्चित फोटोग्राफर मित्र मीनरत्न बज्राचार्यले ‘सम्पदा’को टिमसहित मलाई टोनी हेगेनसँग अन्तर्वार्ताको लागि व्यवस्था मिलाएका थिए । हालकै लैनचौरस्थित मल्ल होटलको प्राङ्गणमा लिइएको सो अन्तर्वार्ताले काठमाडौं उपत्यकामा भद्रगोल तरिकाले विकसित हुँदै गइरहेका बस्तीहरूको विकास, अतिक्रमण र अस्तव्यस्तताको छनकले हेगेनलाई निकै दुःखी बनाएको रहेछ । जबकि नेपालको सुन्दरता र विशालताको बारेमा (स्व.) हेगेनले उदार भएर आफ्ना पुस्तकमा खोजी, टिप्पणीहरू र प्रशंसा गर्दै नेपालबारे आफ्ना पुस्तकहरूमार्फत विज्ञता व्यक्त गरिसक्नुभएको थियो । उपत्यकामा सार्वजनिक जग्गाको अतिक्रमणबारे खोजनीतिमा सहयोग पुर्याउनका लागि हुन सक्छ, तत्कालीन सचिव राम ब. रावलको रावल आयोगको स्थापना हेगेनको अवधारणाबाट पनि सम्भवतः प्रेरित हुन गएको वा भएको थियो होला भन्ने अनुमानको धृष्टता हाल म गर्दछु ।
===
धेरै वर्ष बितिसके । २०५२/५३ को त्यो समय र आजको २०८२/८३ बीच तीस वर्षभन्दा बढी समय बितेको छ । त्यसैले यो लेख शीर्षकभन्दा केही पर पुगेजस्तो लागेमा क्षमा चाहन्छु । मैले धूम्रपान गर्न सिकेको मेरा अनन्य मित्र हरिशरण लामिछानेकै कारणले हो ।
हरिजी बिहान रेडियो नेपालमा समाचार वाचन गर्ने र नेपालकै पहिलो एफएम रेडियोमा कार्यक्रम सञ्चालन गरेपछि ‘सम्पदा’को कार्यालयमा भेटघाट र छलफल गर्न आउनुहुन्थ्यो । त्यतिबेलासम्म भर्खर बजारमा आएको सूर्य चुरोटले चर्चित याक चुरोटलाई उछिनिसकेको थियो । दुई रुपैयाँमा पाइने सूर्य चुरोट लोकप्रिय बन्दै जाँदा जनकपुर चुरोट कारखानाका उत्पादनहरू भने योजनाबद्ध रूपमा बजारबाट हराउन थाले । त्यसका वास्तविक कारणहरू अहिले मात्र विस्तारै सतहमा आउँदै छन् । स्पष्ट छ, त्यो उद्योग केवल राजनीतिक भर्तीका कारणले मात्र धराशायी भएको थिएन ।
हरिजी त्यत्तिबेलाका एक चर्चित रेडियो कार्यक्रम सञ्चालक, वक्ता, मन पराइएका समाचारवाचक र बौद्धिक व्यक्ति थिए । उनीसँगको मित्रताले ममा पनि उनका शैलीका साथ पान गर्ने ‘सूर्य’ चुरोटको लतले विस्तारै जरा गाड्न थालेको थियो, शुरूमा दिनको एक खिल्लीको हिसाबले ।
यसैबीच हरिजीले मलाई एक ठूलो गुन लगाउन पुगे ।
विसं. २०५१ तिर अन्तरिम सरकारमा गृहमन्त्रीको पदमा शेरबहादुर देउवा पदासीन थिए । उनको ज्योति भण्डारीसँग विगतदेखि नै अनैतिक प्रेमसम्बन्ध चलिआएको रहेछ । ज्योति भण्डारी देउवाका विद्यार्थी जीवन र भूमिगत जीवनमा संरक्षक तथा मित्र पनि बनिसकेका प्रा. दुर्गा भण्डारीकी अर्धाङ्गिनी श्रीमती थिइन् । देउवा लन्डनमा हुँदा र प्रेमिका (ज्योति भण्डारी)बाट टाढा हुनुपर्दा आएको विरक्तिले आफू हैरान हुने गरेका रहेछन् । प्रेमका विविध कटाक्षहरू व्यक्त गर्दै प्रेममा आशक्त र भावविह्वल भई देउवाले लन्डनबाट चिठीहरू लेख्ने गर्दा रहेछन् । तिनैमध्येका उनका एक प्रेमपत्रलाई मैले साहसका साथ ‘सार्थक’ पत्रिकामा प्रकाशित गरिदिएको थिएँ ।
त्यस प्रेमपत्रको प्रकाशनले भण्डारी पत्नी ज्योति भण्डारीलाई ठूलो आघात पुर्याएको मैले केही दिनमै थाहा पाएँ, जबकि प्रा. दुर्गा पहिल्यैदेखि नै विक्षिप्त भइसकेका थिए । ज्योतिसँगको उनीहरूको घरबार नै बिग्रिसकेको थियो । त्यही अनैतिकताको पीडामा मैले पनि देउवाको चारित्रिक बदमाशी जनतालाई थाहा लागोस् भन्ने ध्येयले मात्र त्यस प्रेमपत्रलाई प्रकाशन गर्ने साहस गरेको थिएँ, एक सम्पादकका रूपमा । त्यस पत्रको प्रकाशनका लागि प्रकाशकहरू रमेश कोइराला (जो पछि कतारका लागि महामहिम राजदूत बनेछन्) र प्रधानसम्पादक शशिचन्द्र अमात्य तथा मेरो समेतको टिम स्पिरिटलाई अहिले पनि साहस र प्रेमका साथ स्मरण गर्न पुग्दछु ।
कृष्णप्रसाद भट्टराईको ४७ सालको अन्तरिम प्रधानमन्त्रीत्वकालको सरकारमा देउवा भने गृहमन्त्री बनेका थिए । उनी त्यतिबेलासम्म एक्लै अविवाहित थिए । ज्योति भण्डारीसँगको अनैतिक लसपसका कारणले देशको राजनीतिक र चारित्रिक माहोललाई तथा हालसालै प्राप्त प्रजातन्त्रलाई पनि दार्शनिक रूपमा नै असर पार्ने गर्दथ्यो । त्यसलाई मनन गरेरै पनि होला, चिनियाँ मूलकी नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जूलिया चाङले डा. आरजु राणासँग विवाहका लागि परिचय गराइदिने ल्वामीजस्तो काम गरेकी थिइन् । सम्भवतः नेपालको प्रजातन्त्रलाई माया गरेर र लामो उमेरसम्म पनि बिना पुरुषको जीवन जिइरहेकी, पढेलेखेकी आरजुको एकल वैरागी जीवनपद्धति देखेर । त्यतिखेर आरजु लाजिम्पाटस्थित एक क्यानेडियन आईएनजीओमा काम गर्थिन् । हालकी आरजु र उनका विवेकलाई मनन गर्दा लाग्छ, कुन विषयमा, किन, कहिले र केमा विद्यावारिधि पनि गर्न सकिन् होला भनेर ।
देउवाको प्रेमपत्रको स्क्यान्डल (हालको शब्द ‘भाइरल’) ले चर्चित भइरहेको ‘सार्थक’ पत्रिकाको केही अङ्कअघि मैले अधिराजकुमारी श्रुति र भारतीय चलचित्रका हिरो सलमान खानका त्यत्तिबेला खिचिएका रङ्गीन तस्बिरहरू छापिदिएँ । राजदरबारले नेपाली कलाकारहरूलाई पनि राजदरबारका सदस्यहरूसँग घुलमिल र कलाकारिताको अवसर र स्थान प्रदान गर्न प्रयास गरून् वा गर्न सकेको होस् भन्ने आग्रह र हेतुले छापिएको त्यस सामग्रीले नारायणहिटी राजदरबारलाई पनि निकै अप्ठेरोमा पारेको रहेछ । तर दरबारको व्यक्तिगत खोजनीतिभन्दा पनि बढी र छद्म रूपको कडा निगरानी मैले त्यसबेलाको गृहमन्त्रालयबाट पाएको थिएँ । देउवाको उनैको अनैतिक प्रेमजीवनलाई उजागर गरिदिएपछि त्यसले तत्काल सबैलाई असर पारेको थियो । जनता छक्कै परेका थिए । ज्योति भण्डारीमाथि त वज्रपात नै परेको थियो । त्यसकालका नारायणगोपालका बहुचर्चित गीति एल्बमका विदारक उद्घोषक, रेडियो पत्रकार हरिशरण लामिछानेले मेरो आग्रहमा ज्योति भण्डारीलाई आफूलाई शान्ति र सौम्यतामा लैजान सहयोग गरेका थिए ।
र, यस्तै–यस्तैमा दशैं सकियो र तिहार आउँदै थियो । ५१ सालको जेठमा मदन–आश्रितको दासढुङ्गाको दुर्घटना भइसकेको थियो । असार आयो, श्रावण, भदौ हुँदै दशैं पनि बितेर तिहार लागिसकेको थियो ।
उता बेलायत अध्ययनका लागि प्रस्थान गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो । दशैं चितवन र तिहार गोरखामा मनाउने योजनाअनुसार दुई वर्षपछि दिदीको हातको टीका थाप्न म गोरखाको बुढाथुम पुगेँ । भाइटीकाको अघिल्लो साँझ दिदीको आत्मीय सत्कार, ताजा दाल–भात, सागसब्जी र गाउँको पारिवारिक वातावरणले मन भरिएको थियो । भोलिपल्ट दिदीको हातबाट टीका लगाएँ । सबैजना खुसी थिए, किनकि लामो समयपछि घरमा मेरो आगमन भएको थियो । तर साँझपखदेखि अचानक पेट गडबडी हुन थाल्यो । सुरुमा सामान्य लागेको असहजता रात पर्दासम्म बढ्दै गयो र त्यहीँबाट मेरो अप्रत्याशित शारीरिक समस्याको सुरुवात भयो ।
काठमाडौंमा पत्रकारिता र पुस्तक प्रकाशनका कारण चर्चित भइसकेको भाइ घरमै आइपुगेपछि दिदी, भिनाजु, भान्जा–भान्जी सबै खुसी हुनुभयो । उहाँहरूले हालै काठमाडौंमा अत्यन्त लोकप्रिय बनेको मेरो पुस्तक ‘यात्राहरू नारायणगोपालका’ (तेस्रो संस्करण) उत्सुकतापूर्वक ओल्टाइपल्टाइ हेर्दै चकित हुनुभयो । म त्यहाँ यति पुलकित भएँ कि भोलिपल्ट मैले दिदीको हातको टीका लगाएँ । तिहारको मसला, दशैंदेखि दिदीले लुकाएर राख्नुभएको सुकुटी मासु, तल बेँसीको मनपाङ खोलामा भदौ–असोजमा मारिएका सुकेका माछाका परिकार, सेलरोटी, मिष्ठान्न आदि र तिहारको खुसीयालीमा लिइएका हल्का मदिरा वा दिदीको गाउँको धाराबाट गाग्रीमा ल्याइएको पानी कुन र केले हो– आधा राततिरबाट मभित्र शारीरिक रूपमा उत्पात मच्चिन थालिसकेको थियो । रातभरजसो ममा उत्पन्न भएको झुसिलो डकार र उज्यालो हुने बेलासम्म चापिएर बढ्दै गएको झाडापखालाले मलाई बिहानसम्ममा लखतरान रूपमा सोत्तर बनाइसकेको थियो । म गलेको थिएँ । एकाएक कमजोर र रुग्ण हुन पुगेको थिएँ ।
===
बुढीगण्डकीको किनारबाट झन्डै दुई किलोमिटर उकालो चढेपछि पहाडी तरेलीमा अवस्थित बुढाथुम गाउँ आफैंमा अनुपम प्राकृतिक सौन्दर्यले भरिएको थियो । उत्तरपूर्वमा गंगाजमुनाका पहाड, पारिपट्टि गोरखाको थुमीका रमाइला तरेली र अझ माथि तिब्बततर्फ फैलिएका हिमशृङ्खलाले त्यस गाउँको सौन्दर्य झन् मनमोहक बनाउँथे । तर त्यही सुन्दर गाउँमा अचानक झाडापखाला लागेपछि सामान्य औषधिसमेत सहजै उपलब्ध हुने अवस्था थिएन ।
अघिल्लो दिनदेखि भाइटीकाको साँझसम्म दिदी, भिनाजु, भान्जा–भान्जी सबै टाढा काठमाडौंबाट गाउँमै टीका थाप्न आएको भाइ, सालो र मामालाई पाउँदा अत्यन्त प्रसन्न हुनुहुन्थ्यो । तर टीकाको भोलिपल्ट दिन चढ्दै जाँदा मेरो पेटको समस्या झन् बढ्दै गयो । म लखतरान बन्दै गएँ र त्यसले घर–छिमेकका सबैलाई चिन्तित बनायो ।
भिनाजुले आत्तिएर हेल्थपोस्ट लैजाने कुरा गर्नुभयो । तर तिहारका कारण हेल्थपोस्ट बन्द हुने निश्चित थियो । दिदीले गाउँघरको परम्परागत उपचार सम्झिनुभयो । उहाँका अनुसार गाईवस्तुलाई पेट ढाडिँदा वरपर उम्रिएका गाँजाका हरिया पात मिची पिठोसँग घोलेर खुवाउने चलन थियो, जसले निको पार्ने विश्वास गरिन्थ्यो ।
आफ्नी सानीआमा, काकीले बोल्नुभएको कुरालाई उहाँका जेठाजुका छोराहरूले पनि ध्यानसाथ सुनिरहेका थिए । तत्कालै भिनाजुले पनि उहाँका एक भतिजोलाई घरको पल्लो कान्लामा झुलिरहेका गाँजाका केही बोटबाट अलिकति पात सोहोरेर, टिपेर ल्याउन आदेशात्मक अनुरोध गर्नुभयो ।
भान्जा पर्ने मेरा एक प्यारा फ्यानले त तत्कालै गाँजाका पातहरू चिमोटेर, सोहोरेर ल्याए । अनि हल्कासाथ आगोमा सेक्दै सुकाए, र विस्तारै माड्न थाले । र, तत्कालै एक खिल्ली चुरोटका सुर्ती झारेर त्यसमै घोलेर, चुरोटजस्तै बनाई मलाई टक्राए, सेवन गर्न आह्वान गरी । अघिसम्म मैले ‘गाँजा’ कहिल्यै कुनै स्वरूपमा लिएको वा सेवन गरेको थिइनँ ।
पेट खराबी र निरन्तर रूपमा लागेको झाडापखालाले आजित, लखतरान र थाकिसकेको मैले सञ्चो हुने चिरकामना गरी छटपटीमै विश्वासका साथ एक खिल्ली बराबरको गाँजा आनन्दले सेवन गरेँ । हतार र अत्यासमा मलाई लाग्छ, मैले १–२ गाँजाका पात पनि चपाएको हुन सक्छु ।
ओहो– गाँजाको चुरोट सेवन गरेको केही क्षणभरमै ममा झुसिलो डकारको समस्यामा निकै राम्रो पाराले शान्ति भयो र बिरामीपन बिसेक हुन लागेको महसूस भयो । गाँजा सेवन गरेको एकाध घण्टामै निरन्तर रूपमा लागिरहेको झाडा पनि बन्द हुँदै गयो । पेटले विस्तारै हल्कापन र शरीरले आराम पायो । तर दुर्भाग्य, ममा तत्कालै अर्कैखालका लक्षणहरू देखा पर्न थाले ।
आँखाहरू एकाएक राता भएर आए । दुखेका भने थिएनन्– ती लोलाएर झुमेका मात्र थिए, लठ्ठै भएर । बाहिरी आँखीभौँ र परेलीका बाहिरतर्फबाट के–के झुन्डिएका जस्ता लागे । भित्रीतर्फबाट आँखाका सेता भाग राताम्य भएका थिए । मेरा हेराइहरू झोलिएका थिए, लोलाएका थिए, झ्याप्प भएर । यद्यपि अघिल्लो मध्यरातदेखि मध्याह्नसम्म निरन्तर रूपमा भइरहेका पेट खराबी, झुसिलो डकार र पखालाबाट छुटकारा पाउँदा म मनमनै खुसी थिएँ र गर्वित थिएँ । अतः आँखा राता भएकामा मलाई खासै पर्वाह र मतलब लागेको थिएन । र अझै विस्तारै ममा भोक र तिर्खा पनि जागिरहेका थिए ।
र, गाँजा सेवनको त्यस दिनको सबैभन्दा ठूलो समस्या ममा विशाल र भीमकाय रूपमा देखा पर्न थालेको मैले पेट सञ्चो भएको, भोक जागेको केही समयमै थाहा पाएँ ।
काठमाडौंमा पत्रकारिता, सम्पादन, लेखन तथा छपाइ–प्रकाशनको क्षेत्रमा व्यस्त रहँदा मेरो मस्तिष्क सधैं सन्तुलित र व्यवस्थित रूपमा सक्रिय रहन्थ्यो । विचारहरू क्रमबद्ध रूपमा विकसित हुन्थे, तिनलाई अभिव्यक्तिमा रूपान्तरण गर्ने क्षमता स्वाभाविक थियो र कुनै पनि काम अन्त्यसम्म पुर्याउने ऊर्जा तथा एकाग्रता ममा पर्याप्त थियो । सञ्चारकर्मीका लागि अभिव्यक्ति, विचार र निरन्तर रचनात्मकता नै मुख्य आधार हुन् । यिनै गुणले कामलाई सही दिशा दिन्थे, विचारलाई सन्तुलित बनाउँथे र लेखनलाई परिपक्वता प्रदान गर्थे । पढेका विषय बुझ्ने, तिनलाई व्यवस्थित रूपमा लेखमा रूपान्तरण गर्ने तथा आफूले लेखेका वा बोलेका कुरा सहज र ग्राह्य ढंगले प्रस्तुत गर्ने काम मलाई कहिल्यै कठिन लागेको थिएन ।
अरूको पनि सुन्ने र आफ्नो पनि सुनाउने र अन्ततः गर्ने, गरिने र गराउने कामले नै मलाई सक्षम र कर्मठ कर्मयोद्धा, तथा पत्रकार बनाइराखेको थियो । सोका कारण बाँच्न, कमाउन, अरूलाई पनि काम लगाउन सक्ने, अरूले मागिआएका, गर्नुपर्ने आदि कामलाई एक सक्षम कामदार, व्यवस्थापक र टिम लिडरका रूपमा ममा क्षमताहरू विकसित भइरहेका थिए । म सक्षम थिएँ, व्यस्त थिएँ र आफैंमा परिपक्व र भरपर्दो भएको थिएँ । र पनि म घमण्डी थिइनँ । मातिएको, पातिएको, अनियन्त्रित र भत्केबिग्रेको र सम्हाल्नै नसक्ने थिइनँ । अरूलाई पनि मैले सहजै लिन सक्थेँ र अरूले पनि मलाई । त्यही नै त्यतिञ्जेलसम्मको म आफू हुनुको सकारात्मक र सबल पक्ष थियो ।
दुर्भाग्य, गाँजा खाएको/लिएको त्यस दिनभरि ममा एक प्रकारले विकराल मानसिक विचलन नै उत्पत्ति भयो । एकातिर शरीर उठ्नै नसक्ने गरी अल्छी बन्यो (शायद पखालाको बिरामीले पनि हुन सक्छ) । यद्यपि थकान शरीरमा भन्दा बढी मानसपटल, अवचेतन मन र आँखामा व्याप्त थियो ।
सोभन्दा पनि खतरनाक र डरलाग्दो लक्षण ममा देखिएको थियो– त्यो हो– मस्तिष्कमा उत्पत्ति हुन पुगेको आनन्द लाग्ने तर डरलाग्दो पाराको शान्ति, जो सोचनीय विचलनमा विचलित यस्तो थियो कि– ममा खूब आनन्द लाग्ने विचित्र प्रकारको चेतना त आउँथ्यो, तर ती भयानक खालका, सम्हाल्न नसकिने र ठम्याउनै कठिन पर्ने खालका उत्प्रेरणा, जसले तत्काल जे पनि गर्न सक्थ्यो, तर त्यो सकारात्मक र प्रेरणाजन्य हुँदैनथ्यो । अपराध, जघन्यता र अरूमाथिको पीडाले दिने प्रतिक्रियाका रसास्वादन, जुक्ति र फुर्ती जस्ता भएर मनमा उर्लन्थे र ती एकाएक प्रष्फुटन हुन थाल्दथे । जुक्ति, आइडिया र विचार आउँथे, तर तिनलाई मस्तिष्कमा फेरा लगाउन र त्यसको क्रियात्मक स्वरूपमा पार लगाउन जति कोसिस गर्दा पनि धौधौ पर्दथ्यो अन्तर्मनबाटै । र पनि जति–जति आइडिया, जुक्ति र बुद्धि मनमा आए, ती खासगरी नकारात्मक, राक्षसी पाराका र अरूको क्षय, कष्ट र दर्द तथा भयसँग सम्बन्धित हुने खालका लाग्दथे । कतिपय स्थितिमा कर्म र मर्मका भइहाले पनि ती भुलुक्क भएर उदाउने र उम्लने खालका लाग्दथे । अनि तिनलाई मस्तिष्कमा दोहोर्याउन प्रयास गरिएमा ती कहाँ–कहाँ क्षणभरमै विलीन भएर हराउँदथे, कहिल्यै फेरि समात्न र ठम्याउन नसकिने गरी ।
===
व्यावसायिक र प्रकट्य हुन गइरहेको एक तन्नेरी लेखकमा कार्यगत अनुशासन, कामको सुरुवातदेखि अन्त्यसम्मको फर्छ्योट गर्ने बानी भएन भने हामी कोहीले केही पनि काम गर्न नै सक्दैनौँ । वा जुनसुकै क्षेत्रमा काम गर्नेले पनि कार्यगत रूपमा कुनै दक्षता, क्षमता हासिल गर्न सक्दैन, जसलाई म स्वयंले गाँजा खाएको/लिएको त्यस दिन नराम्ररी महसूस गरेँ । त्यस क्षणमा ममा राम्रा र रचनात्मक सोचका भ्रूणहरूको पनि प्रशस्त उत्पत्ति भए । तर ती उत्पत्ति भएकाहरू भकाभक मरेका जस्ता हुन थाले, हराए र बिलाए, कहिल्यै नदोहोरिने गरी । अर्थात् तिनले ममा वा मेरा मस्तिष्कमा नजानिँदा खालका पीडा र घाउहरूले घर जमाउन थाले क्षण–क्षणमै । तर निकै छोटो समयमा उत्पत्ति भएका ती विचारका असरहरू नकारात्मक थिए । र अन्ततः मेरा दिमाग कुनै पनि नयाँ खालको संरचनात्मक विचारमा औपचारिक रूपमा विकसित, स्वरूप र क्षमता लिएको आकारमा पनि उपस्थित हुन सकेन ।
जुक्ति, वा चेतना फुर्दा जुन आनन्द र मज्जा मस्तिष्कले पाउँथ्यो– त्यसले स्वभावतः प्रारम्भ र अन्त्यको फेरो मारेको हुनुपर्ने रहेछ । र त्यसैले मानिसलाई कार्यगत क्रमताको क्षमता (Action) का हुने गर्दा रहेछन् भन्ने महसूस मलाई धेरै दिनपछि मात्र भएको अहिले पनि याद आउँछ ।
गाँजा खाँदाको त्यस दिनभरि ममा वा मेरो मन, मस्तिष्क र विवेकमा नानाथरिका जुक्ति र बुद्धिका टुसाहरू त पलाए । तर ती जन्मन्थे केही क्षणका लागि । र सुरुवात हुने तर फेद/पिँध समात्न असाध्यै कठिन र असम्भव हुने । सुरुवात भएका तीमध्ये र हठात् उत्पत्ति हुने, अनि तिनका अन्त्य पनि हठात् हुने– सबै मस्तिष्कमा नै । जुक्तिका भ्रूण उत्पत्ति र तिनका हठाते अन्त्य मेरा मस्तिष्कको उखारपखारमा दिनभरि कति भए, कति ।
गाँजाले झुसिलो डकारको अन्त्य त तर मस्तिष्क भने एकै दिनमा अनियन्त्रित र हठात् खहरे खोलाको बाढीजस्तो भएर मडारियो । विचारहरू ती कहाँबाट आए, अनि कहाँ गए, थाहै हुन सकेन । गाँजाले शरीरलाई झैं दिमागलाई पनि लट्ठै र विरानो र ‘के हो, के हो ?’को बौलठ्ठी र बेचैनीको जिउँदो मेसिनजस्तो मात्र बनायो । मस्तिष्क अनियन्त्रित रूपमा खोक्लिएको दुलोजस्तो खोक्लो र एक्लो भयो ।
लुज, लाजमर्दो, नामर्द र पापी अनि पाखण्डी खालको लाग्यो । अरूलाई राम्रो गर्नेभन्दा आफैंलाई मात्र राम्रो र सुरक्षित बनाउनु अति आवश्यक लाग्यो भने गाँजाले आत्मालाई रतिमा नै चुमेको, झुमेको र संरक्षित र सम्पन्न भएको पायो । र पनि ती पनि सबै क्षणिक र तत्कालीन खालका हुने हुँदा मलाई लाग्यो, मैले अरू सबैलाई क्षणिक, वाहियात र अनावश्यक भएर उपस्थित भएको पाएँ ।
अनि क्षणभरमै ममा आत्मिक खैलाबैला र हाहाकार मच्चियो, जबकि मलाई यदाकदा लाग्थ्यो पनि कि फेरि त्यही आनन्द लिन, त्यही मस्ती र आँखा लोलाएको शान्ति पाउन गाँजालाई फेरि पनि धोक्न, पिउन र लिन मन लाग्यो । त्यो रात म एक प्रकारले बौलाहा, भौँजाहा र अक्कड न कक्कड बिनाको महाराजा र सामन्त तथा एक प्रकारको भगवान् जस्तै आफूलाई लाग्यो । भोकाएर, थकित र चकित भएर, दिदीको हातको खाना खाएर म बिरामी र असक्षमको मञ्चन गर्दै सुतेको म एकाएक भोलिपल्ट बिहान ढिलो उठेँ ।
जब म उठेँ, मैले हिजो पाएका सोचहरू कुनै पनि राम्रालाई सम्झिन सकिनँ । र नराम्रा, ईख, दाबी, कुण्ठा र व्यभिचार, अन्याय, अत्याचार, बदलाका विचारहरू भने आकलझुकल मनमा भोलिपल्ट पनि पुनः उपस्थित तर विस्तारै गाँजा नखाँदा ती हराउँदै जाने प्रक्रियामा थिए । र एकाएक मनमा गहिरोसँग एक उपाय आशीर्वादको रूपमा आयो कि एकचोटि मात्र पनि मैले गाँजालाई पुनः सेवन गरेँ भने– मलाई लाग्यो, मेरो जीवन एक प्रकारले उदेक लाग्दो, नामर्द र न सिङ न पुच्छरको बौलाएको र काम नलाग्ने छाडा छोडिएको भुस्याहा जनावरको भन्दा पनि काम नलाग्ने वा डरलाग्दो खालको हुन जानेजस्तो पाएँ । र त्यस दिनबाटै मैले अबउपरान्त जीवनभर गाँजालाई कहिल्यै नलिने/नखाने वा सेवन नगर्ने कसम पनि खाएको थिएँ ।
---
दिदीको हातको तिहारको मिष्ठान्न र गाउँको धाराको पानी खाँदा–पिउँदा, काठमाडौंमा उमालेर फिल्टर गरेको पानी खाने बानी परिसकेको मैले गाउँघरका विषाणुसमेत ग्रहण गरेछु । तिहारको खुसीमा निष्कपट भएर गरेको यही सानो लापरवाहीले मलाई बिरामी बनायो भन्ने निष्कर्षमा म आज पनि पुग्छु ।
तर मेरो अनुभवको मुख्य विषय बिरामी होइन, गाँजाको प्रभाव थियो । त्यस दिनको सेवनले मेरा आँखा राताम्मे र लोलाएका भए, मन र मस्तिष्कलाई भने अझ विचित्र ढंगले प्रभावित गर्यो । बाहिरबाट अलिक सन्चो देखिए पनि भित्र अनेक नकारात्मक र अपराधजन्य विचारहरू क्षणिक रूपमा उब्जिरहेका थिए । ती क्षणहरू आज पनि सम्झँदा डरलाग्दा लाग्छन् । त्यस बेला कालो चस्मा पनि थिएन, त्यसैले आफ्नाहरूले मेरो अवस्था स्पष्ट देख्नुभयो । सबैले बिरामी भएकोमा चिन्ता र गाँजा लिएपछि केही सहज भएकोमा राहत व्यक्त गर्नुभयो ।
राति आराम गरेपछि शरीर केही तङ्ग्रियो । भोलिपल्ट बिहानै दिदी–भिनाजु र भान्जा–भान्जीहरूसँग आत्मीय बिदाइ लिएर म काठमाडौं फर्किएँ । त्यस दिनको अनुभवले मलाई एउटा गहिरो शिक्षा दियो । त्यसपछि जीवनभर, त्यस्तै अवस्थाको बाध्यता बाहेक, गाँजा कहिल्यै सेवन नगर्ने अघोषित कसम खाएर आजसम्म त्यसलाई पालना गर्दै आएको छु ।
लन्डन, बेलायत ।

