काठमाडौँ । स्रष्टा गणेश संज्यालको अङ्ग्रेजी भाषामा लेखिएको उपन्यास ‘डु यु स्टिल लभ मी’ को लोकार्पण गरिएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा कृतिको औपचारिक लोकार्पण गरिएको हो।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल, समालोचक डा. कमल देवकोटा, भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुली, सुनकोसी वाङ्मय प्रतिष्ठानका महासचिव प्रदीप सापकोटा, कास्मिरा संज्याल तथा कृतिकार गणेश संज्याललगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएकाे थियाे ।
भुँडीपुराण प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यकारमा चुनौतीको सामना गर्ने सामर्थ्य हुनुपर्ने बताउँदै निरन्तर साधनाबाट मात्र साहित्यिक गन्तव्यमा पुग्न सकिने धारणा व्यक्त गर्नुभयाे । उहाँले नयाँ पुस्ताले चाहेमा साहित्यमा स्थापित हुन कठिन नहुने तर त्यसका लागि गहिरो साधना अनिवार्य रहेको बताउनुभयाे ।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कृतिकारलाई बधाई दिँदै आगामी दिनमा सहकार्यका लागि आफू सधैँ तयार रहेको बताउनुभयाे ।
कृतिमाथि टिप्पणी गर्दै डा. कमल देवकोटाले ‘डु यु स्टिल लभ मी’लाई जुनसुकै दृष्टिकोणबाट पढ्न सकिने कृति भएको बताउनुभयाे । नयाँ पुस्ताले प्रयोग गर्ने भाषामा लेखिएको उपन्यासले पाठकलाई “म नै यस कथाको पात्र हुँ” भन्ने अनुभूति दिने उहाँको भनाइ थियो। अङ्ग्रेजी भाषामा यसरी भावनाको गहिराइमा पुगेर लेख्न सक्नु कृतिकारको ठूलो सफलता भएको उल्लेख गर्दै उहाँले कृतिलाई यथार्थपरक र पठनीय बताउनुभयाे ।
अर्का वक्ता प्रदीप सापकोटाले प्रेमजस्तो व्यापक विषयमा आधारित उपन्यास लेखिनु चुनौतीपूर्ण भएको उल्लेख गर्दै प्रेमबिनाको जीवन निरर्थक हुने धारणा व्यक्त गर्नुभयाे । उहाँले उपन्यासले प्रेमको परिभाषालाई नयाँ ढङ्गले प्रस्तुत गरेको बताउनुभयाे ।
कार्यक्रम भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो।

