इतिहास एउटा ऐना हो, जहाँ वर्तमानले आफ्नो अनुहार हेर्न सक्छ । आजभन्दा दुई हजार वर्षअघि रोमन गणतन्त्रको अन्त्य र साम्राज्यको उदयको बीचमा एउटा शक्तिशाली पात्र उभिएका थिए- जुलियस सिजर । सिजर एक कुशल सेनापति र प्रशासक थिए, जसले भीडको मनोविज्ञानलाई संस्थागत संरचना विरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिए । प्रविधिको प्रयोग गरेर स्थापित नियम र संस्थाहरूलाई चुनौती दिँदै सीधै भीडको भावनामा खेल्ने यही आधुनिक राजनीतिक प्रवृत्ति नै ‘डिजिटल सिजरिज्म’ हो, जुन आजको २१औँ शताब्दीमा नयाँ कलेवरमा हाम्रा सामाजिक सञ्जालका फिडहरूमा प्रकट भइरहेको छ ।
सिजरिज्मको उदय
रोमन सिनेट तत्कालीन समयको एक स्थापित संस्था थियो, जसले नियन्त्रण र सन्तुलनको काम गर्थ्यो । समयक्रममा सिनेटभित्र कुलीनतन्त्र र भ्रष्टाचार मौलायो । जनताका आधारभूत आवश्यकता र न्यायको पहुँचभन्दा संस्थागत औपचारिकता र आन्तरिक शक्ति संघर्ष ठूलो भयो । यही रिक्तता र प्रणालीको जडताको फाइदा उठाउँदै सिजरले जनतालाई एउटा भाष्य दिए- “सिनेट तिम्रो बाधक हो, म तिम्रो उद्धारक हुँ ।”
वास्तवमा, डिजिटल सिजरिज्मको उदय हुनुमा भीडको भावना मात्र होइन, परम्परागत संस्थाहरूको अक्षमता पनि उत्तिकै जिम्मेवार छ । राजनीति शास्त्रीहरूका अनुसार, सिजरिज्म यस्तो शासन पद्धति हो जहाँ एक जादुयी नेताले असफल र ढिलासुस्ती भएका कानुनी संस्थाहरूलाई ‘बाइपास’ गरेर सिधै जनतासँग संवाद गर्छ । जब अदालतमा न्याय महँगो र ढिलो हुन्छ, जब संसद् नागरिकका मुद्दाभन्दा दलगत स्वार्थमा अल्झिन्छ, तब सर्वसाधारणले छिटो नतिजा दिने जादुयी नेता खोज्न थाल्छन् ।
डिजिटल सिजरको मुख्य रणनीति स्थापित संस्थाहरूलाई सुधार्नु भन्दा पनि तिनलाई ‘अक्षम’ र ‘शत्रु’ प्रमाणित गर्नु हो । जब जनतामा राज्यका संयन्त्रप्रति भरोसा शून्य हुन्छ, तब मात्र एउटा व्यक्तिको ‘मुक्तिदाता’ छवि बलियो हुन्छ । उनीहरूले संस्थागत प्रक्रियालाई ‘झन्झटिलो’ करार गर्दै आफ्नो व्यक्तिगत आदेशलाई नै अन्तिम सत्यको रूपमा प्रस्तुत गर्छन् । यसले गर्दा नागरिकहरू विधिको शासन भन्दा व्यक्तिको शासनमा बढी विश्वास गर्न थाल्छन्, जुन लोकतन्त्रको अन्त्यको पहिलो पाइला हो ।
डिजिटल रुबिकन
इतिहासमा सिजरले रुबिकन नदी तरेर स्थापित कानुन तोडेका थिए, जसलाई ‘फर्किन नसकिने बिन्दु’ मानिन्छ । डिजिटल सिजरहरूले पनि आज त्यसै गरी ‘डिजिटल रुबिकन’ तरिरहेका छन् । परम्परागत सिजरलाई आफ्नो प्रभाव जमाउन भौतिक उपस्थिति र सैन्य बलको आवश्यकता पर्थ्यो । आजको डिजिटल सिजरलाई हजारौँको भीड जम्मा गरिरहनु पर्दैन; उसलाई एउटा स्मार्टफोन र सामाजिक सञ्जालको ‘अल्गोरिदम’ काफी छ ।
यो आधुनिक लोकप्रियतावाद पहिलेको भन्दा यसकारण खतरनाक छ कि यसले मानिसको विवेकलाई प्रत्यक्ष होइन, सूक्ष्म रूपमा नियन्त्रण गर्छ । ऐतिहासिक सिजरले तरबारले रुबिकन तरेका थिए, आजका सिजरहरूले डेटा र भाइरल कन्टेन्टमार्फत नागरिकको मथिंगलमा अनगिन्ती ‘डिजिटल रुबिकन’ हरू तैरिरहेका छन् । उनीहरूले स्थापित मर्यादा, गोपनीयता र शिष्टताका पुराना रेखाहरूलाई खुल्लमखुल्ला मिच्दै देखाउन खोज्छन् कि- “म नियमभन्दा माथि छु, किनकि म जनताको पक्षमा छु ।”
रोमन साम्राज्यमा सिजरले भीडलाई शान्त राख्न ‘रोटी र सर्कस’ को नीति लिन्थे । आजका डिजिटल सिजरहरूले रोटीको सट्टा उत्तेजना र सर्कसको सट्टा भाइरल पोस्ट र ‘लाइभ’ भिडियो पस्किरहेका छन् । उनीहरू काम नै नगर्ने हुन् भन्नु गलत हुन्छ; उनीहरू काम गर्छन्, तर प्रक्रिया भन्दा लोकप्रियतालाई प्राथमिकता दिन्छन् ।
डिजिटल सिजरिज्मका चरित्र
आजको राजनीति मतपत्रबाट भन्दा बढी अल्गोरिदमबाट निर्देशित हुन थालेको छ । सामाजिक सञ्जालले प्रयोगकर्तालाई उसले मन पराउने विचार मात्र देखाउँछन्, जसले पाठकलाई एउटा ‘वैचारिक घेराबन्दी’ वा ‘भर्चुअल टापु’ मा कैद गरिदिन्छ । यसले गर्दा डिजिटल सिजरका समर्थकहरूलाई आफ्नो नेताको कमजोरी कहिल्यै देखिँदैन र विरोधीको जायज तर्क पनि षड्यन्त्र जस्तो लाग्न थाल्छ ।
सिजरमा एक प्रकारको ‘मेगालोमेनिया’ (आफूलाई महान् सम्झने सोच) थियो । आजको डिजिटल सिजरहरूमा यो प्रवृत्ति ‘स्व-केन्द्रित राजनीति’ र ‘नायकत्वको भ्रम’ का रूपमा देखिन्छ । उद्धार कार्य होस् वा सामान्य निरीक्षण, त्यहाँ राज्यको संयन्त्रभन्दा नेताको ‘क्यामरा एंगल’ प्रधान हुन्छ । साथै, उनीहरूले पत्रकार र बौद्धिक वर्गजस्ता ‘गेटकिपर’ हरूलाई शत्रु घोषणा गर्छन् । यहाँ तथ्य भन्दा पनि भाष्य ठूलो हुन्छ र विपक्षी विचारलाई तर्कले होइन, संगठित ट्रोलिङ र साइबर बुलिङमार्फत मौन बनाइन्छ । यदि कसैले तथ्यगत प्रश्न उठायो भने, सिजरका ‘डिजिटल सेना’ ले उसलाई ‘पुरानो नेताको एजेन्ट’ करार गरेर सिध्याइदिन्छन् ।
नेपाली सन्दर्भ
नेपालमा पनि यो प्रवृत्ति सघन बन्दै गएको छ । कुनै मुद्दा अदालतमा विचाराधीन हुँदै गर्दा सामाजिक सञ्जालमा फैसला सुनाइने प्रचलन बढेको छ । उदाहरणका लागि, भ्रष्टाचार विरुद्धका केही फाइलहरू खुल्दा वा सहरका सानातिना व्यवस्थापनका काम हुँदा विधिको पाटोभन्दा ‘लाइभ भिडियो’ र ‘डिजिटल ताली’ लाई बढी महत्त्व दिइन्छ । सहरका खाल्डा पुर्नु वा भ्रष्टाचार विरुद्ध फाइल खोल्नु स्वागतयोग्य काम हुन्, तथापि, यदि ती कार्यहरू विधिको प्रक्रिया मिचेर केवल लोकरिझ्याइँका लागि गरिन्छ भने त्यसले अन्ततः संस्थागत अराजकता निम्त्याउँछ ।
गलत प्रक्रियाबाट आएको सही नतिजा पनि लोकतन्त्रका लागि अन्ततः घातक र अल्पकालीन हुन्छ । धेरैलाई लाग्न सक्छ- “यदि काम भइरहेको छ भने प्रक्रिया किन चाहियो?” यद्यपि, बुझ्नुपर्ने कुरा के हो भने, संस्थागत प्रक्रिया र शक्ति पृथकीकरणले कुनै एक व्यक्तिलाई निरंकुश हुनबाट रोक्छ । आज प्रक्रिया मिचेर तपाईंको पक्षमा काम गर्ने ‘नायक’ ले भोलि त्यही अधिकार प्रयोग गरेर तपाईंको स्वतन्त्रता खोस्न सक्छ ।
नागरिकको भूमिका
फ्रान्सेली समाजशास्त्री गुस्ताभ ले बोनले भनेझैँ- “भीडसँग विवेक हुँदैन, केवल भावना हुन्छ ।” आजको डिजिटल युगमा नागरिक ‘भीड’ को हिस्सा भएर बस्नु खतरनाक हुन्छ । अबको आवश्यकता डिजिटल नागरिकता र ‘मिडिया साक्षरता’ को हो । सूचनालाई ‘भेरिफाई’ नगरी सेयर गर्ने र उत्तेजनामा आउने प्रवृत्ति नै डिजिटल सिजरको मुख्य हतियार हो ।
डिजिटल सिजरिज्मको प्रतिकार गर्न नागरिकमा ‘आलोचनात्मक चेत’ हुनु अनिवार्य छ । कुनै पनि उत्तेजक सूचनालाई विश्वास गर्नुअघि “यसले संस्थालाई बलियो बनाउँदैछ कि केवल व्यक्तिको नायकत्वलाई ?” भनेर प्रश्न सोध्ने बानी बसाल्नुपर्छ । सिजरको उदयले अन्ततः रोमन गणतन्त्रको अन्त्य र तानाशाहीको सुरुवात गरेको थियो । डिजिटल सिजरिज्मको अन्तिम गन्तव्य पनि ‘सेन्सरसिप’ र ‘एकल नेतृत्व’ नै हो । त्यसैले, सचेत नागरिकले स्क्रिनमा देखिने हरेक ‘लाइभ’ न्यायको पछाडि विधिको पालना भएको छ कि छैन भनेर प्रश्न गर्न सक्नुपर्छ । अल्गोरिदमको दास बन्नुको सट्टा तथ्य जाँच गर्ने र सूचनाको बहुआयामिक स्रोत खोज्ने जिम्मेवारी स्वयं नागरिकको हो ।
सुधार कि सनक ?
जनतामा व्याप्त निराशा र बेरोजगारीले गर्दा उनीहरू छिटो नतिजा चाहन्छन् । यद्यपि, बुझ्नुपर्छ- सुधारले प्रणालीलाई बलियो बनाउँछ, सनकले व्यक्तिलाई । अबको निकास भनेको राज्यका संस्थाहरूले आफूलाई प्रविधिमैत्री र पारदर्शी बनाउनु नै हो । जब राज्यका संयन्त्रहरूले सेवा र सूचना प्रवाहलाई द्रुत बनाउँछन्, तब पपुलिस्टहरूले संस्थागत ढिलासुस्तीलाई आफ्नो स्वार्थको हतियार बनाउन पाउने छैनन् ।
डिजिटल सिजरिज्मले तत्कालको राहत त देला, तर यसले लोकतन्त्रको जग भत्काइदिन्छ । सुधार विधिको बाटो र संस्थागत सुदृढीकरणबाट मात्र सम्भव छ, अर्को डिजिटल सिजरको सनकबाट होइन ।

