काठमाडौँ । गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामबेँसीका कवि’ क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापित ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कवितासंग्रह आह्वान गरेको छ। युवा कविहरूलाई प्रोत्साहन गर्ने तथा नेपाली साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिँदै आएको जनाइएको छ।
नेपाल कलेज अफ म्यानेजमेन्टको आयोजनामा प्रदान गरिने यस पुरस्कारका लागि इच्छुक युवा कविहरूले आफ्ना प्रकाशित कविताकृति प्रतिस्पर्धाका लागि पठाउन सक्नेछन्। आयोजकका अनुसार २०८१ फागुन १ देखि २०८२ फागुन १ भित्र प्रकाशित कवितासंग्रह मात्र प्रतियोगितामा समावेश गरिनेछ। साथै संग्रह प्रकाशनको समयमा कविको उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
पुरस्कारका लागि पठाइने कवितासंग्रह नेपाली भाषामा लेखिएको हुनुपर्नेछ भने आइएसबिएन नम्बर प्राप्त प्रकाशन गृहबाट प्रकाशित वा स्वप्रकाशित गद्य तथा पद्य दुवै शैलीका कृति प्रतिस्पर्धाका लागि योग्य रहनेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक कविहरूले तोकिएको पीडीएफ फारम भरेर तीन प्रति कवितासंग्रह र एक प्रति नागरिकताको प्रतिलिपि २०८२ फागुन २० भित्र नेपाल कलेज अफ म्यानेजमेन्ट, धोबीघाट (ललितपुर)को ठेगानामा कुरियर गर्नुपर्नेछ। फारम डाउनलोडका लागि आयोजकले उपलब्ध गराएको लिंक प्रयोग गर्न सकिनेछ।
आयोजकका अनुसार पुरस्कार विजेतालाई भ्याटबाहेक नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ।
गत वर्ष ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’बाट कवि सिजन श्रेष्ठको कविता कृति हावामा अल्झिएको स्वर पुरस्कृत भएको थियो। अन्य उत्कृष्ट कृतिहरूमा युवाकवि पल्लविको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा समावेश थिए।
थप जानकारीका लागि आयोजकले ९८६०९९३७४२ र ९८४५५०९४७६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

