साहित्यपोस्ट डट कम

गजल मञ्च चितवनको ‘गढीमा गजल’ दोस्रो शृङ्खला सम्पन्न

गजल मञ्च चितवनको ‘गढीमा गजल’ दोस्रो शृङ्खला सम्पन्न

चितवन । चितवनको ऐतिहासिक तथा पर्यटकीय स्थल उपरदाङगढीमा शनिबार ‘गढीमा गजल’ कार्यक्रम सम्पन्न भएको छ । गजल मञ्च चितवनको आयोजनामा सम्पन्न कार्यक्रममा चितवन, नवलपरासी र तनहुँका गजलकार तथा स्रष्टाहरूले गजल वाचन गर्नुभएकाे थियाे ।

इच्छाकामना गाउँपालिकाको प्रवर्द्धनात्मक सहयोग तथा इच्छाकामना काव्य प्रवाहको आतिथ्यमा आयोजित कार्यक्रममा प्रारम्भमा वर्षा र कुहिरोका कारण केही अन्योल देखिए पनि मौसम अनुकूल बनेपछि ऐतिहासिक गढीको खुला चौरमा गजल वाचन गरिएको थियो ।

गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले ऐतिहासिक स्थलहरूमा साहित्यिक कार्यक्रम आयोजना गरेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा मकवानपुरगढी, सिन्धुलीगढीलगायत अन्य ऐतिहासिक किल्लामा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वासु पुष्पा अधिकारी, रामलाल कुमाल, प्रेम कँडेल ‘उदय’, अनिल श्रेष्ठ, विकास बराल, कमल अर्याल, रोशन श्रेष्ठ, विपिन पाठक, ज्ञानहरि कँडेल, अविरल यात्री, नवराज निर्वाह, सुमन घिमिरे, रामकृष्ण अनायास, प्रमिला सानु, लेखराम सापकोटा, प्रविन सन्नाटा, चारघरे ठिटो तथा प्रकाश थापालगायतले गजल वाचन गर्नुभएको थियो ।

कार्यक्रम संयोजक प्रविन सन्नाटाले साहित्यिक गतिविधिमार्फत स्थानीय पर्यटनको प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

इच्छाकामना गाउँपालिका–२ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङले युवापुस्ताका स्रष्टाहरूले पर्यटन प्रवर्द्धनमा देखाएको चासो सकारात्मक रहेको बताउँदै स्थानीय सरकार साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई सहयोग गर्न सधैं तत्पर रहेको धारणा राख्नुभयो ।

नारायणगढबाट करिब ३० किलोमिटर दूरीमा रहेको उपरदाङगढी चितवनको पहाडी क्षेत्रमा अवस्थित रमणीय पर्यटकीय स्थल हो । गर्मी मौसममा समेत शीतल रहने यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

‘गढीमा गजल’ कार्यक्रमको यो दोस्रो शृङ्खला हो । यसअघि माडी नगरपालिकाको सहयोगमा सोमेश्वरगढीमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.