साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : तिमी गएपछि

गजल : तिमी गएपछि

बेकार मन खोलेजस्तो भयो तिमी गएपछि
आफ्नै आँखा पनि पराई लाग्यो तिमी गएपछि ।

जति मन फुकाएको थिएँ त्यति नै लाज भयो
शब्दहरूले पनि मलाई छोडे तिमी गएपछि ।

मनको कुरा पोख्नु कमजोरी हो भन्थे सबैले
मनका चोटले पनि यही पाठ पढाउँछन् तिमी गएपछि ।

सम्बन्ध टुटेको पीडा त सहन सकिन्थ्यो तर
लाजले बाँच्नै गाह्रो बनायो तिमी गएपछि ।

सम्बन्धहरूदेखि डर लाग्न थालेको छ अचेल
"किन?", ऐनाले समेत प्रश्न गर्‍यो तिमी गएपछि ।

मेरा आफन्त जब मेरो हालखबर सोध्छन्
करले मुस्कुराउँदै झुट बोल्नुपर्छ तिमी गएपछि ।

कयौँ प्रयत्न गर्दागर्दै पनि प्रीति जोगाउन सकिनँ
स्वार्थी छ जस्तो लाग्यो सारा संसार नै तिमी गएपछि ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.