साहित्यपोस्ट डट कम

गजल : थोत्रो मकल छ

गजल : थोत्रो मकल छ

भर्खर निभेको थोत्रो मकल छ

बेगर सलेदो के दीप जल्छ ?

पर्खेर बस्ने मायालु मनमा

के हुन्छ भन्ने आभास चल्छ ।

मौका मिलेमा हाँसेर जिउनु

सायद यही नै बस एक पल छ ।

ब्रह्माण्ड साक्षी राखेर भन्छु

माया हमेसा तिम्रो अटल छ ।

अनुहार उस्तै कोमल मुलायम

कहिले नभुल्ने तिम्रो गजल छ ।

धोका दिनेले हद पार गर्छन्

उस्तै नठान्नु सुनझैँ पितल छ ।

गाह्रो नमानी छानेर खोजौँ

को धूर्त होला, को नै असल छ ?

खोज्दै नजाऊ अन्यत्र तिमीले

दिलको कुनामा मीठो कमल छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.