उनको सपनी पूरा होस् भनेर, सिरानी दिएको छु
मनमा दन्केको आगो निभोस् भनेर, पानी दिएको छु ।
उनको सधैँ उन्नति होस्, दुःख कहिल्यै नहोस् भनी
उनलाई फाइदा दिई आफूलाई, हानी दिएको छु ।
के गर्दा उनी सन्तुष्ट हुन्छिन्, सोच–विचार गरेर
तन, मन अनि धनको सुख छानी–छानी दिएको छु ।
“माया गर्नै जान्दैनौ तिमी, देखावटी मात्रै गर्छौ” भन्छिन्
जति जानेँ दिल–दिमागदेखि जानी–नजानी दिएको छु ।
सुख, दुःख, माया, प्रेम हामीले धेरै सिक्यौँ जीवनमा
कहिल्यै नबिर्सिने मुनामदनको, कहानी दिएको छु ।
विश्वकै सुन्दरी देखाउँदा, क्षणमै लत्याई दिएर
उन्मत्त बैँसको भरभराउँदो, जवानी दिएको छु ।

