मरेका ती शरीरका, आत्मा यहाँ भड्किरहेछन्
जिउँदा भनिएका पनि, कतै यत्रतत्र तड्पिरहेछन् ।
बोकेर हिँडेको छु म, आफ्नै मरेको त्यो आत्मालाई
यी जिउँदा शरीरहरू, केवल बाटो मात्रै काटिरहेछन् ।
कतै बारुदको गन्ध छ, कतै रगतका ती टाटा
सपनाका ती चिहानमा, आँखाहरू सधैँ बिझाइरहेछन् ।
डोर्याउँदै छु यो देहलाई, कुन गन्तव्य हो थाहा छैन
शून्यका यी भित्ताहरूले, मलाई नै गिज्याइरहेछन् ।
सुन्ने कोही छैन यहाँ, आफ्नै मौनताको यो चित्कार
रित्तो यो जिन्दगीमा, केवल डरहरू मात्रै थुप्रिरहेछन् ।

