खोट मात्र खोजी गर्ने साथीहरू छन्
पाइलै-पाइलामा खुट्टा तान्ने साथीहरू छन् ।
मतलबी यो संसार, कसको के भर छ र
स्वार्थका लागि मात्रै साथी बन्ने साथीहरू छन् ।
को आफ्नो, को पराई छुट्याउनै गाह्रो
प्रगति देख्दा मनमनै जल्ने साथीहरू छन् ।
यादहरूलाई मिठो स्मृतिमा सँगालेर बस
कुरा काटी वचनले नै हान्ने साथीहरू छन् ।
मनभित्रको पीडा मुस्कानले छोपिदेऊ
नुन बोकी घाउमा छर्ने साथीहरू छन् ।
तिमी बस आफ्नै जीवन सिँगार्दै अघि बढ
ऐना देखाई दोष मात्र गन्ने साथीहरू छन् ।
आफ्नै बाटो बनाऊ, पहिचान खोज तिमी
भिडभित्र हराएर बस्ने साथीहरू छन् ।
माया गर आफूलाई, ईश्वरसँग पनि
द्वेषका खाडल आफैँ खन्ने साथीहरू छन् ।
प्रगति गर, नाम राख, नाच यो जगमा
ताली बजाई प्रशंसा मात्रै गर्ने साथीहरू छन् ।

