जिन्दगी आफैँमा चिन्ता बनेको छ, सफर बनेको छ
घटाउन जोड्न नमिल्दो भिन्नको अंश र हर बनेको छ।
मैले जित्नुको विकल्प भुलेपछि तिमी हार्छु भनेर आयौ
बाँकी यो सपना खरानी भयो, चाहना सोत्तर बनेको छ।
एक सेकेन्ड तिमी धैर्य भएको भए यो मित्रता मर्ने थिएन
मेरो खुसीको विरुद्ध हालेको मुद्दा आज सदर बनेको छ।
दुनियाँ तिम्रो विरोधमा हुँदा म पहाड बनेको हुँ तिम्रो लागि
आज सबैलाई दुखाउने कस्तो-कस्तो दोषी नजर बनेको छ ।
याद दिलमा पस्नु भनेको कमजोरी र रोग पस्नु जस्तै हो
मैले दिएको माया तिमीसम्म आइपुग्दा बेघर बनेको छ।

