साहित्यपोस्ट डट कम

गजल : राम्रो खोज्दै हिँड्दा

गजल : राम्रो खोज्दै हिँड्दा

राम्रो खोज्दै हिँड्दा बाटोमा दैत्य र मय भेटिन सक्छ

नसोचेको अपत्यारिलो ठुलो भय भेटिन सक्छ ।

योजनाबद्ध र एकतामा कर्महरू गर्दै जाँदा

अकल्पनीय समरमा पनि जय भेटिन सक्छ ।

आफ्नो पाप र धर्मको हिसाब आफैँले गर्दा हुन्छ

धर्मले मात्रै जीवनको दिव्य लय भेटिन सक्छ ।

दुःखको सागरमा डुबेँ भनेर चित्त नदुखाऊ

रातपछि दिन आएझैँ सुखी समय भेटिन सक्छ ।

आफ्नाले नै आफ्नाको कुभलो चिताउन सक्छन् यहाँ

भुइँमै झार्ने कुटिल योजना तय भेटिन सक्छ ।

कर्मको फल प्रतिशतमै आशा गर्दा हुन्छ साथी

सत्कर्मले असी-नब्बे मात्रै होइन, सय भेटिन सक्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.