साहित्यपोस्ट डट कम

गजल : निस्फिक्री भई पिएँ

गजल : निस्फिक्री भई पिएँ

निस्फिक्री भई पिएँ आज, धेरै दिनको तल थियो

मनका पीडा बिर्साउने त, यही शीतल जल थियो ।

बेहोसीमा हराउँदै गएँ, तिम्रै यादमा रमाउँदै गएँ

विरक्तिएका ती पलभित्र, रूप त्यो चञ्चल थियो ।

नजर जुधे, मन मिल्यो, माया बस्यो अन्जानमै

खै किन बाटो मोड्यौ ? सम्झँदै मन पागल थियो ।

निर्दयी रैछ समय यो, छुटाएरै छोड्यो आखिर

सँगै हास्थ्यौँ, खेल्थ्यौँ, क्या रमाइलो पल थियो ।

मनमुटु साटेका थियौँ, कहिल्यै नछुट्ने बाचा थियो

आश्चर्य छु आफैँ आज, कुन्नि केको छल थियो ।

सम्झी–सम्झी रुनुबाहेक अरू थिएनन् विकल्प

तिम्रो यादमा लेखिएको, एउटा मिठो गजल थियो ।

अतीतका घाउ चहर्‍याउँछन्, विरहले जल्छ मन

विश्वास धेरै गरेको नै, सायद यस्तो फल थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.