साहित्यपोस्ट डट कम

गजल : के अँध्यारो के उज्यालो

गजल : के अँध्यारो के उज्यालो

दीप बालेँ मौनतामा के अँध्यारो के उज्यालो

झुम्मिए पुतली शिखामा के अँध्यारो के उज्यालो ।

देख्न चाहेनौ खुसी मेरो कुनै दिन जिन्दगीमा

चाँदनी आइन् घडामा के अँध्यारो के उज्यालो ।

देखियो औकात तिम्रो बोल्न छाडेँ आजबाट

भ्यागुता बस्छन् कुवामा के अँध्यारो के उज्यालो ।

प्रेममा अन्धो भएको हेर्न चाहन्छन् मलाई

जिउन थालेँ बाध्यतामा के अँध्यारो के उज्यालो ।

हेर्न पाए धन्न तिम्रो ओठको मुस्कान सजिलै

सल्कियो आगो धरामा के अँध्यारो के उज्यालो ।

थिच्न थाल्यो जिन्दगीमा दुःखका भारीहरूले

यो बिहानीको उषामा के अँध्यारो के उज्यालो ।

आत्तिने तिम्रो कला हो हर खुसीमा दौडिँदै छौ

डुब्न थालेँ कल्पनामा के अँध्यारो के उज्यालो ।

मूलढोका बन्द गर्दा झ्यालमा चम्किन्छ तारा,

मौन भो शीतल निशामा के अँध्यारो के उज्यालो।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.