दीप बालेँ मौनतामा के अँध्यारो के उज्यालो
झुम्मिए पुतली शिखामा के अँध्यारो के उज्यालो ।
देख्न चाहेनौ खुसी मेरो कुनै दिन जिन्दगीमा
चाँदनी आइन् घडामा के अँध्यारो के उज्यालो ।
देखियो औकात तिम्रो बोल्न छाडेँ आजबाट
भ्यागुता बस्छन् कुवामा के अँध्यारो के उज्यालो ।
प्रेममा अन्धो भएको हेर्न चाहन्छन् मलाई
जिउन थालेँ बाध्यतामा के अँध्यारो के उज्यालो ।
हेर्न पाए धन्न तिम्रो ओठको मुस्कान सजिलै
सल्कियो आगो धरामा के अँध्यारो के उज्यालो ।
थिच्न थाल्यो जिन्दगीमा दुःखका भारीहरूले
यो बिहानीको उषामा के अँध्यारो के उज्यालो ।
आत्तिने तिम्रो कला हो हर खुसीमा दौडिँदै छौ
डुब्न थालेँ कल्पनामा के अँध्यारो के उज्यालो ।
मूलढोका बन्द गर्दा झ्यालमा चम्किन्छ तारा,
मौन भो शीतल निशामा के अँध्यारो के उज्यालो।

