धोकासँगै अचानक पीडा दियो कसैले
कोही रहेन आफ्नो, थाहा दियो कसैले ।
निद्रा लिएर सपना फिर्ता दियो कसैले
आफ्नै मुहार हेर्ने ऐना दियो कसैले ।
थामेर हात लेख्ने पाना दियो कसैले
देखेर पुष्ट यौवन बैना दियो कसैले ।
यो जिन्दगी मलाई बाँच्नै कठिन हुँदै थियो
बाधा हटाई बाँच्ने आशा दियो कसैले ।
यात्रा सधैँ निरन्तर बढ्दै थियो अगाडि
अवरोध गर्नलाई हावा दियो कसैले ।
दिक्दार मानी एक्लै आनन्द खोजी हिँड्थेँ
पीयूष एक घुट्को प्याला दियो कसैले ।
हरेक काम गर्दा अवरोध गर्न सक्छन्
क्षणभर रहेछ जीवन, थाहा दियो कसैले ।
सम्बन्ध तोड्न कोही बाधक बनेर आए
खम्बा बनेर मजबुत टेवा दियो कसैले ।
सबको विचार उत्तम सायद हुँदैन होला
अपकार गर्न खोज्दै धोका दियो कसैले ।
चाहेर मात्र हरदम पुग्दैन रहेछ इच्छा
मायालु बन्न माया आधा दियो कसैले ।

