छातीमा दागेको एक–एक गोलीको हिसाब माग्दै छ
लुकाइएको त्यो प्रतिवेदनको आज जबाफ माग्दै छ ।
आमाको रगत चुसी ठड्याएका ती महलहरूमा
लुकेका रक्तपिपासु शासकहरूको नकाब माग्दै छ ।
धमिराले सिध्याएको यो कुहिएको व्यवस्थामा
समानता र न्याय लेखिएको नयाँ किताब माग्दै छ ।
हत्या, हिंसा र दण्डहीनताको यो चिहानमाथि अब
काँडा होइन, सुशासनमा फुलेको गुलाब माग्दै छ ।
बडे राजा गए, छोटे राजा आए, अब यो भ्रम चल्दैन
सिंहदरबारको भित्ता भत्काएर आज इन्कलाब माग्दै छ ।

