घरखेत लाने बाढी–पहिरो, उर्ली आउने खोला आमा
पोहोर जस्तै यसपालि नि, सताउने त होला आमा ।
आकास माथि बादल लागी, गड्याङ् गुडुङ् हुँदाखेरि
सपनीमै झस्काएर, जगाउने त होला आमा ।
कतै घरखेत, कतै मान्छे, कतै कतै गाँवै भनि
शहरभरी एकछिन हलचल, मच्चाउने त होला आमा ।
बाँचेजति गोरु–बाख्रा, लालाबाला बोकीकन
दुई–चार महिना सुकुम्वासी, बनाउने त होला आमा ।
बाबा फर्के परदेशबाट, शहरतिरै बसाई सर्ने
यस वर्ष नि यस्तै सपना, सजाउने त होला आमा ।
घरखेत लाने बाढी–पहिरो, उर्ली आउने खोला आमा
पोहोर जस्तै यसपालि नि, सताउने त होला आमा।

