घमण्डले मान्छेलाई भीरमा चढाउँछ
अनि धकेलेर आखिर चिता चढाउँछ ।
केही पल मायाको अँगालोमा बसेर हेर
मुटुलाई आनन्दको सगरमाथा चढाउँछ ।
दुनियाँमा अरू थोक हेर्न बाँकी रहँदैन
जब आमाले सन्तानलाई काँधमा चढाउँछ ।
नेताले जनतालाई चढाउनु पर्ने होइन र ?
यहाँ जनताले नेतालाई माला चढाउँछ ।
तिमी अरूको बलि चढाउँछौ मन्दिरमा
यो कविले आफ्नै कविता चढाउँछ ।

