कमजोर थियो मेरो मुटु जानीजानी चोट दियौ
कहाँ कहाँ दुख्छ धेरै छानीछानी चोट दियौ ।
हरेक चोट सहिदिएँ तिमी खुसी हुन्छौ भनी
रोइरहेँ म तिमीले मजा मानीमानी चोट दियौ ।
नसकेर सहनलाई जान खोजेँ दूरदूर
फकाउँदै धम्काउँदै तानीतानी चोट दियौ ।
तर्कनलाई खोजिरहेँ सम्हालिन खोज्दै थिएँ
घाउ लागेकै ठाउँमा पुनः हानीहानी चोट दियौ ।
काट्ने तिम्रो धर्म रैछ खुकुरीको धार तिमी
मलाई त अचानोझैँ ठानीठानी चोट दियौ ।



टिप्पणीहरू
अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।