साहित्यपोस्ट डट कम

गजल : भरिएको सिउँदो

गजल : भरिएको सिउँदो

भरिएको सिउँदो र रातो चुरा देखाएर रोई

अब म अरू कसैकी हुँ बस यही बताएर रोई ।

छुट्नुको पीडा सहन शक्ति थिएन उसमा

शायद अन्तिम पल्ट नजिक बसाएर रोई ।

भन्थी कुनै दिन एक्लो बाँच्नै सक्दिनँ मबिना

अफसोस आज पनि त्यही बात दोहोर्‍याएर रोई ।

ममा भन्दा उसमा पीडा देखिन्थ्यो छुट्टिनुको

वाक्य बसेको थियो तापनि छातीमा टाँसाएर रोई ।

म बेकसुर छु, सबै भाग्य र दैबको खेल हो

अङ्गालोमा पार्दै बस यही शब्द बताएर रोई ।

मेरै सामु अर्को असह्य दुःखको पहाड फुट्यो

जब उनी आँखै अगाडि मेरो प्रेमपत्र जलाएर रोई ।

म बिचरा आत्तिँदै छटपटाउँदै श्वास तान्दै थिएँ

उनले जानी–जानी पुराना यादहरू सुनाएर रोई ।

सहनशीलता यो घट्दै गयो, भित्रभित्र प्रश्न गरेँ

चोखो माया गरेकै भए किन मलाई रुवाएर रोई ?

कसरी अनर्थ सोचूँ उसको माया, सयौँको भिडमा नि

सधैँ माया गर्छु तिमीलाई भन्दै गला मिलाएर रोई।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.