साहित्यपोस्ट डट कम

गजल : भगवान् खोज्नु व्यर्थ छ

गजल : भगवान् खोज्नु व्यर्थ छ

ढुङ्गाका ती मूर्तिहरूमा, भगवान् खोज्नु व्यर्थ छ

पराई मनको मझेरीमा, मुस्कान खोज्नु व्यर्थ छ ।

स्वार्थ–रूपी काँचुलीलाई, फेर्न सके पुगिहाल्छ

अपेक्षाका ती बाटाहरूमा, गन्तव्य खोज्नु व्यर्थ छ ।

जब दया र करुणाले, यो हृदय नै बदलिन्छ

अरूको ओठे प्रशंसामा, अस्तित्व खोज्नु व्यर्थ छ ।

प्रेमको यो महासागर, आँखाभित्रै भेटिन्छ

रित्तो हातले अरूको अघि, प्रेम खोज्नु व्यर्थ छ ।

समर्पणमा झुक्छ शिर, अहङ्कार यो त्यागेर

देखावटी ती ढोंगमा, आदर खोज्नु व्यर्थ छ ।

भष्म पारी ‘म’ भन्ने भाव, अर्पण गर यो जीवन

माग्दै हिँड्ने यो दुनियाँमा, दाता खोज्नु व्यर्थ छ ।

जब म र तँ दुवै हराउँछौ, एउटै बोध बाँकी रहन्छ

आफू–बाहिर कतै ईश्वर, परम–सत्य खोज्नु व्यर्थ छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.