साहित्यपोस्ट डट कम

गजल : बाटो भेटिन्छ भन्छन्

गजल : बाटो भेटिन्छ भन्छन्

एकतामा हिँड्दा सफलताको दिव्य बाटो भेटिन्छ भन्छन्

उन्नति, प्रगति र आत्मसन्तुष्टिको पाटो भेटिन्छ भन्छन् ।

दुष्कर्म, दुष्भाव र दुर्विचार पालियो भने जीवनमा

आफ्नैसँग जीवनभरिलाई पुग्ने फाटो भेटिन्छ भन्छन् ।

‘आफू भलो त जगत् भलो’, उक्ति कति आदर्शमय छ

अरूलाई सिध्याउन खोज्दामा आफ्नै घाटो भेटिन्छ भन्छन् ।

भुलेर पनि कसैले यो देशमाथि गद्दारी गर्नु हुन्न

भागेर लुक्न जहाँ पुगे पनि आफ्नै माटो भेटिन्छ भन्छन्।

सुखको हाँसो र दुःखको आँसुमा साथ दिन सक्यौ भने

जीवन काट्न एक–अर्कामा सुन्दर पाटो भेटिन्छ भन्छन् ।

सोझो मनले कर्म गरेमा कसको आत्मा रुन्छ र यहाँ

सत्यतामा आफूजस्तै शून्य दुनियाँ लाटो भेटिन्छ भन्छन् ।

उसलाई बिगारी एक दिनलाई राम्रो होलाौ तिमी

बाँचुन्जेल भने धोकाको त्यो अमिट खाटो भेटिन्छ भन्छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.