साहित्यपोस्ट डट कम

गजल : अनुभूतिको यात्रा

गजल : अनुभूतिको यात्रा

अरूको आँसु पुछ्नु नै साँचो सहानुभूति हुँदो रहेछ

पीडालाई मनले बुझ्नु नै गहिरो अनुभूति हुँदो रहेछ ।

कसैको दुःखलाई आफ्नै सम्झी बाँच्न सक्यौ भने

हृदयको गहिराइबाट जन्मेको समानुभूति हुँदो रहेछ ।

स्वार्थ त्यागी निःस्वार्थ सेवाको भाव जब मनमा जाग्छ

विचारको नवीन उज्यालो त्यहीँ सम्भूति हुँदो रहेछ ।

अतीतका ती यादहरू झल्झली आँखामा आउँदा

बितेका पल मनभित्र फेरि पुनर्भूति हुँदो रहेछ ।

बाहिरी चमक र भौतिक सुख त केवल छलक मात्र हो

ऐश्वर्य वैभवभित्र लुकेको भ्रम बहुभूति हुँदो रहेछ ।

अरूको आशा छोडी आफ्नै पौरखमा जब विश्वास गरिन्छ

सामर्थ्य र पुरुषार्थको असली रूप स्वभूति हुँदो रहेछ ।

अहङ्कारको पर्खाल ढल्दा ज्ञानको ज्योति जब बल्छ

मोह-बन्धन टुटेरै अन्तः अभिभूति हुँदो रहेछ ।

देश र जनताका लागि जसले सर्वस्व सहर्ष त्याग गर्छ

इतिहासमा अमर रहने त्यही महान् विभूति हुँदो रहेछ ।

संसार जित्ने दौड छोडी ‘वासुदेव’जब आफूलाई चिनिन्छ

ईश्वरसँगको साक्षात्कार नै अपरोक्षानुभूति हुँदो रहेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.