आफ्नो घर बेचेर पराईको, सहर किन्नेहरू छन्
खेतबारी भुली पासपोर्टको, लहर किन्नेहरू छन् ।
आकास छुन सकिन्न भन्ने, स्पष्ट थाहा भएर पनि
आजीवन पूरा हुन नसक्ने, रहर किन्नेहरू छन् ।
धूम्रपान, मद्यपानले बीचैमा, मर्ने थाहा हुँदाहुँदै
सुर्ती, चुरोट अनि मदिरामा, जहर किन्नेहरू छन् ।
भाइ फुटे गवार लुटे, भन्ने उक्ति भुलेर सबैले
आफ्नैसँग युद्ध लडी रगतको, नहर किन्नेहरू छन् ।
सुखमा मैमत्त मान्छे आफू, ठूलो सम्झी अज्ञानी बन्छ
अभावमा भने दुःख-दर्दका, कहर किन्नेहरू छन् ।
उमेरमा सहरदेखि विदेशसम्म, जवानी बेच्छन् मान्छेहरू
अन्तमा गरी खान खोला छेउका, बगर किन्नेहरू छन् ।
लोभलालच गर्दागर्दै आखिर, सकिन्छ यो जीवन
सर्वस्व छोडेर निर्वस्त्र जाने, ठहर किन्नेहरू छन् ।

