साहित्यपोस्ट डट कम

‘गैरआख्यान पुरस्कार – २०८२’ संवादः पहिलो आमनिर्वाचन २०१५

‘गैरआख्यान पुरस्कार – २०८२’ संवादः पहिलो आमनिर्वाचन २०१५

‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार – २०८२’ का लागि तीन गैरआख्यान कृतिको अन्तिम सूची घोषणा भइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट तीन कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य “साहित्यपोस्ट गैरआख्यान पुरस्कार”लाई लिएर नवोदित लेखक/कविहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । प्रस्तुत छ, उत्कृष्ट तीनमा छनोट भएको कृति ‘पहिलो आमनिर्वाचन २०१५’ का स्रष्टा विराट अनुपमसँगको संवाद:

===

विराटजी, ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को अन्तिम सूचीमा तपाईंको पुस्तक छनौट भयो । कस्तो महसूस गरिरहनुभएको छ ?

मैले लेखेको पहिलो पुस्तक यसरी सूचीमा पर्दा खुशी लागेको छ । नेपालको लोकतन्त्रको एक ऐतिहासिक चुनावी क्षणको किताबको ठूलो कार्यक्रम गरेर विमोचन भएको थिएन । उमोजा क्याफेको एक सानो चिया गफमा थोरै मान्छेमाझ सार्वजनिक गरिएको थियो । साहित्यपोस्ट गैरआख्यान पुरस्कार–२०८२ को सूचीमा मेरो पहिलो पुस्तकले स्थान पाएपछि किताबबारेमा चासो राख्ने बढेका छन् । विभिन्न देशबाट किताब पाएका जानकारी आएका छन् । विभिन्न देशका नेपाली भाषाको पुस्तकको थुप्रोमा मेरो किताब पनि भएका तस्बीर आएका छन् ।

तपाईंका दामली लेखकहरू काव्य र आख्यान लेखिरहेको समयमा तपाईं भने राजनीतिक इतिहास उधिन्न प्रेरित देखिनुहुन्छ । यसका लागि तपाईंलाई के कुराले प्रेरित गर्‍यो, र गरिरहेको छ ?

यही हप्ता म भूटान गएको थिए । भूटानमा मैले त्यहाँकी चर्चित कवि तथा लेखक छादोर वाङ्मोसँग संवाद गरें । उनी भन्दै थिइन्, ‘भाइ, म कविता मात्रै नभनेर अरु विधामा पनि शुरुमै लागेको भए राम्रो हुनेरहेछ ।’ कविता दैनिक लेख्न सकिने कुरा होइन । तर, कविता अभिव्यक्तिको उत्कृष्ट माध्यम हो । त्यसैले कवि चेत भएकाले कविता नफुरेको समयमा खोज, अध्ययन अनुसन्धानमा लाग्नु सुन्दर कुरा हो जस्तो छादोर वाङ्मोलाई लागे जस्तै मलाई पनि लागेको छ ।

जहाँसम्म राजनीतिक इतिहासको कुरा छ – त्यसमा मेरो राजनीति, कूटनीति र इतिहासमा रुची भएकाले चासो भएको हो । २०१५ सालको चुनाव राजनीति त हो नै किनभने २००७ सालको प्रजातन्त्र ल्याउने क्रान्ति म्यान्डेडको चुनावी आकार त्यसैले दिएको हो । कूटनीति हो किनभने त्यो समयमा भारत, अमेरिका, सोभियत संघ र चीन सबैको चासो थियो । राजा महेन्द्रले चुनाव अगाडि सोभियत संघ, चुनावपछि अमेरिका र संसद भंग गरेर चीन भ्रमण गरेका थिए । २०८२ को जेन्जी विद्रोहले ल्याएको राजनीतिक उथलपुथलपछिको चुनाव भएकोले देशको पहिलो चुनाव कस्तो भयो, वाचापत्र कस्ता थिए, नेताका मुद्धा के थिए अथवा त्यो बेलाको देशको मुद्धा यो बेलासम्म आउँदामा के के रूपान्तरण भए, के के र के के ज्यूँतात्यूँ छन् भन्ने एक आँखी झ्याल होस् भनेर किताब आकार दिने सोचेको हो । पुस्तकको कन्टेट सुनाएपछि बुकहिलका प्रमुख भूपेन्द्र खड्काले जाँगर नचलाइदिएको भए चैं पुस्तक आउन अर्को चुनाव कुनुपर्ने हुन्थ्यो ।

पुस्तक कसरी तयार भयो ? पुस्तक तयारीका क्रममा तपाईंले अध्ययन अनुसन्धामा गरेको मिहिनेतका बारेमा छोटोमा बताइदिनुस् न ।

इतिहासबारेमा लेख्दा इतिहासकै ठेलीमै टेकेर लेख्ने हो । अनुमानको भरमा लेखेर भएन, कहाँबाट ल्याएको हो त्यो पनि खुलाउनुपर्‍यो । कि लिखत चाहियो कि त जीवित साक्षी । मैले लिखत पक्षमा तत्कालीन समयका नेपाली तथा विदेशी अखबार हेरेँ । विभिन्न अनुसन्धान रिपोर्ट हेरेँ । प्रतिवेदन हेरेँ । दलका घोषणापत्र हेरेँ । नेताका आत्मकथा, जीवनी हेरेँ । राजपत्र हेरेँ । र हेरेँ यस अगाडि लेखिएका सम्बन्धित विषयका ऐतिहासिक कुराका ग्रन्थ । जीवित साक्षीको रूपमा चुनावमा मत दिएका, चुनावमा बुथ प्रतिनिधि भएका, चुनावमा उम्मेदवार लडेका र चुनावमा रिपोर्ट गरेका पात्रसँग कुरा गरे । यसरी लिखत र ज्यूँदा साक्षीको सूचना तथा देशीविदेशी चर्चाका कन्टेन्ट खोजेर यो ग्रन्थ तयार भयो । पाठकलाई सहज बनाउन मैले पर्चा, पम्पलेटदेखि घोषणापत्र जस्ताको तस्तै राखेको छु ।

अन्तिम सूचीमा ‘पहिलो आमनिर्वाचन २०१५’ सहित नवोदित लेखकका तीन उत्कृष्ट कृति छनौट भएका छन् । तपाईंले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी लेखनयात्रामा के अर्थ राख्छ ? तपाईंले यो पुरस्कार जित्नुभयो भने प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

मेरो दिमागमा अहिले पुरस्कार जितेमा के गर्ने भन्ने कुनै योजना छैन । तर, मैले जितिहालेमा उक्त रकमले के गर्ने भन्ने श्रीमती पवित्राको चैं अग्रिम योजना आइसक्यो । त्यो कुरा अहिले भनेर पछि पुरस्कार पाइएन भने बिल्ला हुन्छ । पुरस्कार जित्ने अवस्था आयो भने सार्वजनिक रूपमा भन्नेछु ।

अन्त्यमा, तपाईंका आगामी साहित्यिक योजनाहरू के के छन् ? बताइदिनुस् न ।

केही कविता छन् । बनाउनु पर्नेछ । अनुवाद गर्नुपर्ने छ । दुई किताबमा एकैपटक काम गरिरहेको छु । एउटा नेपालको विकास कूटनीतिबारेमा छ भने अर्को हिमालबारेमा छ । विकास कूटनीतिबारेको पुस्तक नेपाली भाषामा हुनेछ भने हिमालबारेको अंग्रेजीमा । जुन पुस्तकको अनुसन्धान चाँडो सकिएर किताबको आकार बन्ने अवस्था आउँछ त्यो पहिले प्रकाशकलाई बुझाउँछु ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.