बाल्यकालमा रेडियोबाट मात्र सुनेको विश्वकपलाई आफ्नै आँखाले रङ्गशालामा बसेर हेर्ने दिन पनि आउला भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।
सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने खबर आउनासाथ खुशीको लहर छायो । विगत साढे दुई दशकदेखि अमेरिकालाई नै आफ्नो मुख्य कर्मथलो बनाउँदै आएको म, आफ्नै घरआँगनमा हुन लागिरहेको फुटबलको यो अलौकिक महाकुम्भलाई नजिकबाट नियाल्ने दुर्लभ अवसर कुनै पनि हालतमा छुटाउन चाहन्नथेँ ।
फुटबलका महान् सम्राट एडसन अरान्तेस दो नासिमेन्टो अर्थात् पेलेले सन् १९७७ को सेप्टेम्बर २४ मा भारतको कलकत्तास्थित इडेन गार्डेन्स मैदानमा मैत्रीपूर्ण खेल खेल्दाको त्यो क्षण मेरो स्मृतिमा अझै पनि ताजा छ । त्यतिबेला रेडियो कानमा टाँस्दै बडो उत्सुकताका साथ हावामा तैरिएर आएको त्यो जादूमयी कमेन्ट्री सुनेदेखि नै मेरो बालमन एकाएक ब्राजिलको फ्यान (प्रशंसक) बन्न पुगेको थियो, जुन अझै जारी छ ।
सन् २०२६ को आगमन हुनै लाग्दा मेरो मनमा एउटै मात्र छटपटी र चिन्ता थियो- यो ऐतिहासिक विश्वकपको टिकट कसरी सुरक्षित गर्ने होला ? संसारभरिका करोडौँ खेलप्रेमीहरूको आँखा परेको यो महाकुम्भको टिकट पाउनु र किन्न सक्नु आफैँमा फलामको चिउरा चपाउनुसरह थियो । तर, करिब–करिब त्यही अन्योलका बीच हाम्रो परिवारमा एउटा ठूलो र अप्रत्याशित खुशीको खबर भित्रियो । बाल्टिमोरमा बस्ने मेरो भाइ थिरबहादुरकी जेठी बुहारी ‘वर्षा' को नाममा पहिलो चरणमै कुल ४० वटा टिकटको चिठ्ठा परेको सुखद् समाचार प्राप्त भयो । त्यतिबेला फिफाले भर्खरै मात्र गोला प्रथा (लकी ड्र)द्वारा विश्वकपका टिकटहरू बिक्रीवितरण गर्न शुरू गरेको थियो । ती टिकटहरू सबैभन्दा सस्ता थिए ।
विश्वकपको टिकट त मिल्यो, तर त्यो हामी बसिरहेको राज्यभन्दा निकै टाढा टेक्सासको डालास शहरको थियो । सबैभन्दा बढी खेलहरू पनि त्यही रङ्गशालामा हुनेवाला थिए । हामीले पाएका टिकटहरूमध्ये एउटा खेल 'राउन्ड ३२' को नकआउट चरणको थियो भने अर्को खेल अझ बढी रोमाञ्चक मानिने 'राउन्ड १६' को थियो । टिकट किन्ने त्यो प्रारम्भिक चरणमा हामी कुन–कुन देशका टिमहरूको खेल हेर्न गइरहेका छौँ भन्ने कुराको कुनै टुङ्गो थिएन; मलाई ब्राजिलको खेल हेर्ने तीव्र इच्छा भए पनि जे मिल्छ त्यही हेर्ने मनस्थिति बन्यो ।
रङ्गशालामा पुगेर विश्वकप प्रत्यक्ष हेर्ने हाम्रो पारिवारिक उत्सुकता दिनप्रतिदिन बढ्दै गएको थियो । तर, त्यसैबीच एउटा सम्भावनाले मनमा सानो चिन्ताको बादल पनि मडारिन थाल्यो । ड्र भएर प्रारम्भिक तालिका बनेपछि हामीले हेर्ने पहिलो खेल अमेरिका र इरानबीच पर्ने सम्भावना देखियो । समकालीन भूराजनीतिमा यी दुई देशबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको थियो र हालैको युद्धपछि कायम भएको अस्थायी युद्धविरामले पनि परिस्थितिलाई पूर्ण रूपमा सहज बनाएको थिएन । त्यसैले केही शुभचिन्तकहरूले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यदि त्यही खेल परे रङ्गशाला नजानु नै बुद्धिमानी हुने सल्लाह दिएका थिए । उनीहरूको त्यो चिन्ताले हाम्रो उत्साहमा क्षणिक संशय मिसाइदियो । अब क्वालिफाइङ खेलको नतिजा पर्खनुबाहेक अर्को विकल्प थिएन ।
पूर्वतयारी उत्साहका साथ शुरू भयो । रङ्गशालाको त्यो बहुसांस्कृतिक माहौलमा घुलमिल हुनका लागि हामीले ब्राजिल, अमेरिका, पोर्चुगल र नेपालको प्रतिनिधित्व गर्ने रङ्गीचङ्गी टीसर्टहरू किन्यौँ । ती जर्सीहरूमध्ये सबैभन्दा विशेष र भावनात्मक रूपमा प्रिय भने मेरो दुई वर्षे नाति जोरानका लागि तयार पारिएको नेपाली जर्सी थियो । नेपालको झण्डा अङ्कित त्यो नीलो रातो जर्सीको पछाडिपट्टि उसको नाम 'जोरान' र ऊ जन्मेको दिन २९ नम्बर अङ्कित थियो । डालासको त्यो रङ्गशालाभित्र छिर्न र खेलको त्यो अलौकिक महाकुम्भमा एकाकार हुन हामी पूर्ण रूपमा तयार भइसकेका थियौँ ।
जुलाई महिना लाग्न दुई दिनअघि नै तेजस्वी, मेधावी र जोरान थाइल्याण्डबाट डालास पुगेका थिए । म नेपालको यात्रा छोट्याएर मेरो पुस्तक ‘डङ्की : सपनाको कालबाटो’ विमोचन सक्नासाथ जुलाई १ मा डालास पुगेँ । आश्वत र डेभन नर्थ क्यारोलिनाबाट जुलाई २ मा आइपुगे । हामी जुलाई ३ को पहिलो खेलका लागि तयार थियौँ ।
हामी डालास पुग्दानपुग्दै खेल इरान र अमेरिकाबीच नभएर इजिप्ट र अस्ट्रेलियाबीच हुने टुङ्गो भइसकेको थियो । लाग्यो- खेलकुदको आफ्नै एउटा अनौठो र सुन्दर लय हुन्छ, जहाँ राजनीतिक अनुमानहरू हत्तपत्त मिल्दैनन् । हामीले लामो सास फेर्यौँ ।
पहिलो खेलको चार वटा टिकट लिएर आश्वत, डेभन, तेजस्वी, जोरान र म रङ्गशालातर्फ जान होटलबाट निस्कियौँ ।
डालासमा हामीसँग आफ्नै रेन्टल गाडी उपलब्ध भए पनि रङ्गशालासम्म जानका लागि भने हामीले उबर लिने निर्णय गर्यौँ । रङ्गशालाको पार्किङ सजिलै पाउनु आफैँमा एउटा ठूलो युद्ध जित्नुसरह हुन्थ्यो र त्योभन्दा पनि गाह्रो काम त खेल सकिएपछि लाखौँ मानिसहरूको त्यो महासागरबाट गाडी निकालेर बाहिर निस्कनु हुन्थ्यो । पार्किङ शुल्क उस्तै महँगो ।
उबरबाट उत्रनेबित्तिकै त्यहाँको सम्पूर्ण परिवेश अभूतपूर्व रूपमा उत्साहमय भइसकेको थियो । रङ्गशालाको बाहिरी परिसरमा रङ्गीबिरङ्गी पोसाक लगाएका, विभिन्न देशका रैथाने भेषभूषामा सजिएका, आ–आफ्ना परम्परागत बाजाहरू बजाउँदै र उन्मुक्त भएर गीत गाइरहेका फुटबलप्रेमीहरूको एउटा विशाल संसार आँखाकै सामुन्ने जीवन्त भइरहेको थियो ।
डालासको त्यो उखरमाउलो गर्मीमा पनि मानिसहरूको उमङ्ग कत्ति पनि घटेको थिएन; बरु त्यही भीडका बीचमा अन्तर्राष्ट्रिय न्यूज च्यानलहरू खेलको प्रत्यक्ष प्रसारण गर्नुअघि दर्शकहरूको उत्साहलाई क्यामरामा कैद गर्न व्यस्त देखिन्थे । रङ्गशालाको मुख्य प्रवेशद्वारमा माहुरीको गोलोझैँ हजारौँ मानिस अनुशासित रूपमा आ–आफ्नो तोकिएको गेटतर्फ लागिरहेका थिए ।
हामी २ नम्बर गेटबाट प्रवेश गर्ने प्रक्रिया निकै सहज र छिटो थियो; मोबाइल फोनमै सुरक्षित रहेको डिजिटल टिकटलाई मेसिनमा स्क्यान गर्नासाथ सुरक्षाकर्मीहरूले हामीलाई मुस्कुराउँदै रङ्गशालाको त्यो जादूमयी संसारभित्र स्वागत गरे ।
परदेशको भूमिमा भइरहेको विश्वकपको त्यो विशाल जमघटमा आफ्नो नातिले नेपाली पहिचान बोकेको राष्ट्रिय झण्डासहितको जर्सी लगाएर हिँड्दा हाम्रो छाती गर्वले ढक्क फुलेर आयो । मैले इजिप्ट र अस्ट्रेलिया दुवैलाई समर्थन नगर्ने भएकाले तेजस्वी र मैले फिफा विश्वकपको जर्सी लगाएका थियौँ ।
बाटोमा अस्ट्रेलियाको पहेँलो जर्सी र इजिप्टको रातो जर्सी लगाएका फ्यानहरू देखिए । हामीलाई चाँडोभन्दा चाँडो रङ्गशालाभित्र जान मन लाग्यो । भित्र छिरेर सिट खोज्दै जाँदा थाहा भयो- हाम्रो टिकट त रङ्गशालाको चौथो तलाको पनि सबैभन्दा अन्तिम लहरको रहेछ । आकाशको निकै नजिक पुगिएको त्यो उचाइमा रहेका आ–आफ्ना सिटहरूमा गएर हामी लहरै बस्यौँ । त्यहाँबाट तल हेर्दा सिङ्गो हरियो मैदान एउटा सानो बक्सजस्तो देखिन्थ्यो भने मानिसहरूको हुरहुर्ती भीड कुनै रङ्गीन तस्बिरझैँ अद्वितीय लाग्दथ्यो ।
खेल ठीक तोकिएको समयमा शुरू भयो । फुटबलको त्यो जादूमयी गतिको आनन्द लिन हामी कहिले सिधै तल मैदानतर्फ आँखा डुबाउँथ्यौँ त कहिले मैदानको ठीक माथि, रङ्गशालाको विशाल छतमा झुन्डिएको त्यो अजङ्गको अत्याधुनिक डिजिटल टेलिभिजनको स्क्रिनमा खेलाडीहरूका ससाना हाउभाउ र रिप्लेहरू नियाल्थ्यौँ । त्यस अर्थमा, त्यहाँ खेल मात्र रमाइलो थिएन, त्यहाँको उत्सवमय परिवेश पनि त्यतिकै मनोरञ्जनपूर्वक थियो ।
खेल अगाडि बढ्दै जाँदा त्यहाँको वातावरण शब्दमा बयान गर्नै नसकिने गरी जुरुक्क उचालिएको थियो । हरेक पास, हरेक प्रहार र गोलको नजिक पुग्ने हरेक प्रयासमा जब हजारौँ दर्शक एउटै स्वरमा चिच्याउँथे, तब सिङ्गो रङ्गशाला नै एउटा ठूलो भूकम्पले काँपिरहेको जस्तो आभास हुन्थ्यो । त्यो केवल एउटा खेलको अवलोकन मात्र थिएन, बरु लाखौँ मानिसहरूको सामूहिक उत्साहको एउटा महासागर थियो, जसमा हाम्रो तीन पुस्ताको परिवार पनि निस्फिक्री भएर पौडिरहेको थियो ।
त्यो विशाल रङ्गशालाको अजङ्गको कोलाहलका बीच मेरो साढे दुई वर्षे नाति जोरानका आफ्नै बालसुलभ कौतूहलहरू थिए । खेलको हाफ टाइम अर्थात् मध्यान्तरसम्म त उसले खेल र त्यहाँको वातावरण रमाएकै जस्तो लाग्यो । तर, त्यसपछि भने उसको बालमनले त्यहाँको नियम बुझेन ।
‘आइ वान्ट टु गो’ भन्दै सोझै हरियो मैदान देखायो र त्यहाँ जान जिद्दी गर्न थाल्यो । उसको त्यो चञ्चल आग्रहलाई पूरा गर्न नसके पनि मैले उसलाई केही बेर रङ्गशालाको भित्री कोरिडरमा लगेर खेलाएँ ।
त्यस विशाल रङ्गशालाभित्रका कुनै पनि सिटहरू खाली थिएनन् । खेलको मध्यान्तर र रोकिएको समयमा रङ्गशालाको रौनकलाई अझ रोमाञ्चक बनाउन एउटा अनौठो र रमाइलो प्रतिस्पर्धा गराइयो । उद्घोषकले अस्ट्रेलिया र इजिप्टका फ्यानहरूलाई पालैपालो आ–आफ्नो टोलीको समर्थनमा चिच्याएर आवाज निकाल्न आग्रह गरे । रङ्गशालाको विशाल छतमा जडान गरिएका अत्याधुनिक सेन्सरहरूले त्यो आवाजको तीव्रतालाई त्यति नै बेला नापिरहेका थिए ।
जब अस्ट्रेलियाका समर्थकहरूले आफ्नो सम्पूर्ण शक्ति लगाएर हुटिङ गरे, तब ध्वनि मापक यन्त्रले त्यसलाई १०५ डेसिबलसम्म पुगेको देखायो । तर, इजिप्टका समर्थकहरू पनि के कम ! उनीहरूले जब आफ्नो गगनभेदी गर्जन शुरू गरे, रङ्गशालाको सिङ्गो वातावरण नै जुरुक्क उचालियो र त्यो आवाजको तीव्रता एकपटक ११५ डेसिबलसम्म पुग्यो । ११५ डेसिबलको त्यो आवाज कुनै जेट विमान उड्न लाग्दाको कानै खाने आवाजजत्तिकै शक्तिशाली हुन्थ्यो ।
“इजिप्टलाई समर्थन गर्न पूरै ‘मिडल इस्ट’ र उत्तरी अफ्रिका आएको जस्तो देखिन्छ,” तेजस्वीले भनिन् । हेर्दा त्यस्तै पनि लाग्दथ्यो ।
मध्यान्तरपछिको खेल पनि उत्तिकै रोचक र रोमाञ्चक बन्दै गयो । मैदानमा खेलाडीहरू जुधिरहेका बेला दर्शकदीर्घामा पनि आफ्नै खालको एउटा रमाइलो मेला चलिरहेको थियो । हाम्रो ठीक अगाडिको सिटमा एकजना विचित्रका दर्शक बसेका थिए, जसले टाउकोमा गोरुको सिङजस्तो देखिने ठूलो नक्कली सिङ पहिरिएका थिए र जीउमा रङ्गीबिरङ्गी कपडा सजाएका थिए । टेलिभिजन क्यामेराहरूले सेलिब्रिटी बाहेक यस्तै अनौठा, भिन्न र रङ्गीचङ्गी भेषभूषामा सजिएका दर्शकहरूलाई बढी पछ्याउने र उनीहरूतर्फ ध्यान खिच्ने गर्दा रहेछन् । खेलको बीचमा जब रङ्गशालाको त्यो अजङ्गको डिजिटल स्क्रिनमा उनको अनुहार अचानक देखा पर्यो, तब उनी खुशीले जुरुक्क उठे । दुवै हात हावामा हल्लाउँदै र आफ्ना ती नक्कली सिङहरू हल्लाउँदै निकै बेर उफ्रिए । छेउछाउका मान्छेहरू हर्षले बसेको ठाउँबाट जुरुक्कै उठे ।
खेल जारी नै थियो, एक–एक गोलको बराबरीले गर्दा खेल पेनाल्टीको तनावतर्फ धकेलिँदै थियो । तर, श्रीमती तेजस्वी र मैले भने नातिलाई सम्हालेर ९० मिनेटभन्दा बढी समय त्यो कोलाहलमा बस्न सकेनौँ । सानो बालकको स्वास्थ्य र आरामको चिन्ताले हामी बाजेबज्यैको मनलाई बढी पगाल्यो । उबर लिएर हामी होटल फर्कियौँ ।
होटल आइपुग्दा थप ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी किकमा गएको रहेछ । होटलको लबीमा बसेर पेनाल्टी किक हेर्यौँ । इजिप्टले पेनाल्टी सुटआउटमा ४–२ ले जित्यो ।
इजिप्ट र अस्ट्रेलियाबीचको त्यो महासङ्ग्राम पेनाल्टी सुटआउटमा पुग्दा सिङ्गो रङ्गशालाको मात्र होइन, टिभी हेरिरहेका दर्शकहरूको पनि मेरो जस्तै ढुकढुकी एकाएक थामिएझैँ भएको थियो होला; दर्शकहरू आ–आफ्नो ठाउँबाट जुरुक्क उठेर प्रत्येक प्रहारलाई आँखा नझिम्क्याई हेरिरहेका थिए । बल र गोलकिपरबीचको त्यो मानसिक युद्ध क्षणक्षणमा झन् सङ्कटपूर्ण र रोमाञ्चक बन्दै गयो । खेलाडीहरूको प्रहार र बचाउको त्यो तीव्र तनावका बीच अन्ततः इजिप्टले बाजी मार्यो । अस्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै इजिप्टले ऐतिहासिक जित हासिल गर्नासाथ रङ्गशालाको एउटा ठूलो हिस्सा इजिप्टका समर्थकहरूको गगनभेदी जयजयकार र खुशीयालीले जुरुक्क उचालियो ।
* * *
हाम्रो सूचीमा रहेको जुलाई ६ को दोस्रो खेल अझ बढी प्रतीक्षित र रोमाञ्चक थियो- जहाँ फुटबलका दुई युरोपेली शक्ति राष्ट्रहरू पोर्चुगल र स्पेन आमनेसामने हुँदै थिए । यस पटकको खेल हेर्नका लागि भने आश्वत, डेभन, मेधावी र म रङ्गशालातर्फ प्रस्थान गर्यौँ । नाति सानै भएको र पहिलो खेलको अत्यधिक गर्मीका कारण श्रीमती तेजस्वी (हजुरआमा) र नाति जोरान भने होटलकै आरामदायी कोठामा विश्राम गरेर बसे । पहिलो खेलको भीडभाड र सास्तीबाट सिकेको अनुभवका कारण यस पटक हामी कुनै हतार नगरी खेल शुरू हुनभन्दा झन्डै दुई घण्टा अगाडि नै रङ्गशाला पुगिसकेका थियौँ ।
हामी प्रवेश गर्ने तोकिएको गेट नम्बर ४ को अगाडि पुग्दा त्यहाँको दृश्य कुनै भव्य अन्तर्राष्ट्रिय मेलाभन्दा कम थिएन । खेल शुरू हुन निकै समय बाँकी रहेकाले रङ्गशालाको बाहिरी खुला परिसरमा दर्शकहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरू सञ्चालन भइरहेका थिए । कतै फुटबलप्रेमीहरू आ–आफ्नो टोलीको समर्थनमा उन्मुक्त कण्ठले गीत गाइरहेका देखिन्थे भने कतै खुशी र उत्साहले भरिएका मानिसहरूको नाचगान चलिरहेको थियो । पेय पदार्थका स्टलहरूमा ठूलै लहर चलेको थियो, जसले त्यहाँको वातावरणलाई एउटा उत्सवको रूप दिएको थियो ।
यस पटकको खेलका लागि पनि हाम्रो सिट रङ्गशालाको चौथो तलामा नै परेको रहेछ; तर अघिल्लो खेलको तुलनामा यसपालि अलिकति अगाडि अर्थात् पाँचौँ लहर (रो) मा हाम्रो स्थान तोकिएको थियो । उचाइ उही भए पनि खेल मैदान अघिल्लो पटकभन्दा अलिकति स्पष्ट र नजिक देखिन्थ्यो ।
आ–आफ्ना सिटहरूमा व्यवस्थित भई बसिसकेपछि रङ्गशालाको त्यो उत्साहमय वातावरणमा शीतलता थप्नका लागि हामीले पेय पदार्थ पिउने सोच बनायौँ । मेधावी र मैले दुई वटा 'मार्गरिटा' मगायौँ । तर, जब बिल हातमा आयो, हामी दुवै जना अचम्ममा पर्यौँ । टिप्स समेत जोडेर ती दुई वटा साना पेय पदार्थको कुल मूल्य एक सय अमेरिकी डलर पुगेको थियो ! बाफ रे बाफ, विश्वकपका बेला रङ्गशालाभित्रको महँगी साँच्चै नै आकाशिएको हुँदो रहेछ ! एउटा सामान्य पेय पदार्थका लागि त्यति ठूलो रकम तिर्नुपर्दा खेलकुदको व्यापारीकरण कुन हदसम्म पुगिसकेको रहेछ भन्ने कुराको प्रत्यक्ष महसूस भयो । महँगीको त्यो सामान्य झट्कापछि पनि हामीले आफ्नो पारिवारिक मुडलाई खस्किन दिएनौँ र डलरको त्यो महँगो हिसाबलाई बिर्सिँदै आँखैअगाडि सुरु हुन लागिरहेको पोर्चुगल र स्पेनबीचको त्यो ऐतिहासिक महासङ्ग्राममा आफ्नो ध्यान केन्द्रित गर्यौँ ।
खेल शुरू भएदेखि नै मैदानमा दुवै टोलीबीच निकै कडा र तीव्र प्रतिस्पर्धा चलिरहेको थियो । पोर्चुगल र स्पेनका खेलाडीहरूले एकअर्काविरुद्ध आक्रामक रणनीति र उत्कृष्ट रक्षापङ्क्तिको प्रदर्शन गरिरहेका थिए । यस महासङ्ग्रामको सबैभन्दा रोचक पक्ष के थियो भने, त्यहाँ उपस्थित दर्शकहरू जुनसुकै टिमका फ्यान भए पनि मैदानमा राम्रो खेल प्रस्तुत गर्ने खेलाडीलाई सबैले आ–आफ्नो ठाउँबाट उठेर ताली बजाउँदै खुला मनले समर्थन गरिरहेका हुन्थे । स्पेनको गोलकिपरको त्यो अद्वितीय कला र बचाउको क्षणले रङ्गशालाको चौथो तलामा बसेका हामीलाई समेत सिटबाट जुरुक्क उठ्न बाध्य बनायो । त्यो सुन्दर दृश्यले खेलमा जित र हारभन्दा माथि उठेर एउटा सच्चा खेलप्रेमीले कसरी खेलको सौन्दर्यलाई पूजा गर्छ भन्ने कुराको गहिरो उदाहरण दिइरहेको थियो ।
विश्वकपको यस महाकुम्भमा रङ्गशालाभित्रको आकर्षण केवल मैदानको खेलमा मात्र सीमित थिएन, बरु रङ्गशालाको आफ्नै भौतिक संरचना र त्यहाँ उपस्थित दर्शकहरूको विविधता पनि आफैँमा एउटा जीवन्त अध्ययनजस्तै लाग्दथ्यो । त्यति धेरै दर्शकहरूलाई रङ्गशालाभित्र जाने, बस्ने र त्यहाँबाट निस्कने प्रबन्ध गर्नु चानचुने कुरा होइन ।
खेलको उत्तरार्द्धमा स्पेनले आफ्नो उत्कृष्ट रणनीतिक सुझबुझ र सन्तुलित पासहरूको मद्दतले खेललाई आफ्नो नियन्त्रणमा लियो । अन्ततः, रेफ्रीको अन्तिम सिट्टीसँगै खेल स्पेनको पक्षमा टुङ्गियो । स्पेनले ऐतिहासिक जित हासिल गर्यो र हाम्रो प्रिय टोली पोर्चुगलले हार व्यहोर्नुपर्यो ।
आफ्नो टोलीले हारेकोमा मनमा केहीबेर एउटा कुनाकाप्चामा स्वाभाविक खिन्नता र खल्लोपन त अवश्य महसूस भयो, तर खेलकुदको मुख्य सौन्दर्य नै यही सुन्दर हार–जितमा लुकेको हुन्छ । हामीले स्पेनका समर्थकहरूको खुशीयालीलाई पनि उत्तिकै सम्मान गर्यौँ र विश्वकपकै एउटा उत्कृष्ट तथा ऐतिहासिक खेललाई प्रत्यक्ष हेर्न पाएकोमा गौरव बोक्दै डालासको त्यो भव्य रङ्गशालाबाट बिदा भयौँ ।
विश्वकपको यो रोमाञ्च केवल रङ्गशालाका चार पर्खाल र खचाखच भरिएका सिटहरूमा मात्र सीमित थिएन, बरु यसको लहर त सिङ्गो उत्तर अमेरिकाका सडक र खुला मैदानहरूसम्म फैलिएको थियो । त्यसो त अमेरिका परम्परागत रूपमा हामीले बुझ्ने फुटबलप्रेमीहरूको देश होइन । यहाँ यस खेललाई 'सकर' (Soccer) भनिन्छ र योभन्दा हातले बल समातेर खेलिने आफ्नै नियमको अमेरिकी फुटबल बढी प्रचलित र लोकप्रिय छ । यद्यपि, यस वर्षको विश्वकपले भने त्यो पुरानो भाष्यलाई पूर्ण रूपमा बदलिदिएको थियो । यस महाकुम्भले सिङ्गो देशलाई नै फुटबलको एउटै लयमा धड्काउन सफल भएको थियो र विश्वकप केवल एउटा खेल मात्र नभएर सिङ्गो महाद्वीपलाई नै एउटै उत्सवमा बाँध्ने एउटा विशाल सांस्कृतिक पर्व हो भन्ने कुरालाई पुनः प्रमाणित गरिरहेको थियो ।
पचास वर्ष नाघिसकेका मेरा छिमेकी रोबर्ट जे. बलले जीवनमै पहिलो पटक टेलिभिजनमा विश्वकप हेरे । यसबाट पनि अमेरिकामा फुटबलप्रति चासो र समर्थकहरूको संख्या बढ्दै गएको संकेत मिल्छ ।
यद्यपि, रङ्गशालामा पुगेर खेल हेर्ने होस् वा टेलिभिजनमार्फत, मुख्य दर्शकहरू अझै पनि आप्रवासी समुदायका सदस्यहरू नै हुने गर्छन् भन्ने कुरामा नर्थ क्यारोलिनामा बसोबास गर्ने फुटबलप्रेमी मनोज प्रधान, भीमसेन बस्नेत, सञ्जीव बराल, सुजन न्यौपाने र डा. बटु शर्मा सहमत छन् ।
हाम्रो होटलमा बस्ने अधिकांश गेस्टहरू पनि फुटबल हेर्न आएका थिए । ती मध्ये एक जना थिए, ब्राजिलियन युवा । नाम थाहा भएन, तर छोटो कुराकानी भयो । ब्राजिलको टिम हारिसकेको थियो, उनी अलिअलि उदास थिए । शहर–शहर गएर, कहिले मेक्सिकोमा, कहिले अमेरिकामा र कहिले क्यानाडामा फुटबल हेर्दै रहेछन् ।
“कहिलेकाहिँ त हवाई टिकट एअरपोर्टमै गएर किन्छु” उनले भने ।
मैले, “ब्राजिलको टिमलाई के भयो ?” भनेर सोद्धा, “नट गुड, नट गुड” भन्ने छोटो जवाफ दिए ।
* * *
डालास बसाइले अर्को आत्मीय मैदान पनि खोल्यो—नेपाली साहित्यको । विश्वकपको कोलाहलपछि नेपाली भाषामा भएको त्यो आत्मीय संवादले परदेशमा पनि आफ्नोपनको अर्को रङ भेटाइदियो । छोटो समयको सूचना भए तापनि अमेरिकाको व्यस्त जीवनशैलीका बावजुद छुट्टीको दिन आदरणीय स्रष्टाहरू वेदनिधि दाहाल, भगवती पौडेल, निर्मला राई, टीका सिवाकोटी, प्रभात दीक्षित, वैकुण्ठराज आचार्य, डा. परशुराम दाहाल, मोहन ज्ञवाली र समीक्षा दाहालको गरिमामय उपस्थिति रहेको थियो । हाम्रो त्यो करिब दुई घण्टा लामो भेटघाट र साहित्यिक विमर्श मेरो लागि निकै सुखद, ऊर्जादायी र अर्थपूर्ण रह्यो ।
साढे दुई वर्षको मेरो नाति जोरानले पछि ठूलो भएर यो ऐतिहासिक विश्वकप र रङ्गशालाको त्यो भव्य कोलाहललाई आफ्नो स्मृतिमा सम्झेला वा नसम्झेला, त्यो त समयकै गर्भमा छ । तर, बाल्यकालको यो उमेरमा उसको अव्यक्त मानसपटलमा परेको त्यो रङ्गीन छाप, बाजेबज्यैको न्यानो काख र फिफाको त्यो पहिलो सानो फुटबलको स्पर्शले सिर्जना गरेको अदृश्य अनुभव भने उसको जीवनयात्रासँगै अनवरत बगिरहनेछ भन्ने मेरो विश्वास छ ।
(लेखक अमेरिकी वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार र ड्युक युनिभर्सिटीका एडजङ्क्ट प्रोफेसर हुन् ।)


टिप्पणीहरू
अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।